नेकपाको विभाजनको बाछिटा प्रदेशसम्म पुगेको छ । त्यही बाछिटाका कारण नेकपा ओली समूहमा खुलेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले आज अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । प्रस्तुत छ, यसै विषयमा केन्द्रित भई मुख्यमन्त्री शेरधन राईसँग गरिएकाे कुराकानीको सम्पादित अंशः
प्रदेश १ मा एक्कासि अविश्वासको प्रस्ताव आयो, किन ?
३७ जना संसद्को सानो जत्थाले अविश्वासको प्रस्ताव प्रदेश संसद्मा पेस गरेका छन् । यो नियोजित हो । अविश्वासको प्रस्ताव कुनै समूहले प्रदेशमा राजनीतिक अस्थिरता ल्याउनका लागि ल्याएको योजना नै हो ।
मसँग सरकार टिकाउन र अविश्वासको प्रस्ताव सामना गर्नका लागि ४७ जना सांसद छन् । प्रदेश १ मा अविश्वासको प्रस्ताव पेस गर्दैमा केही असर पर्दैन ।
आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोलाई कारबाही गरेपछि अविश्वासको प्रस्ताव आयो । अब कसरी सामना गर्नुहुन्छ ?
प्रदेश मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्तावका लागि लबिङ गर्न थालेपछि आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोलाई कारबाही गरेको हुँ । कसैको आदेशमा उनलाई कारबाही गरेको होइन । प्रदेश सरकारमा अस्थिरता ल्याउन खोजेपछि उनी कारबाहीमा परे ।
उनलाई गत साता नै कारबाही गर्ने तयारीमा थिएँ । तर, प्रदेशमा राजनीतिक अस्थिरता नहोस् भनेर कारबाही गरेको थिइनँ । मन्त्री आङ्बो मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्न जोडतोडले लागेपछि कारबाही गरेकाे हुँ । कारबाहीपछाडि जस्तोसुकै परिस्थिति आए पनि सामना ग तयार छु ।
तपाईं त अल्पमतमा हुनुहुन्छ । के आधारमा ४७ जना सांसदले साथ दिन्छन् भन्दै हुनुहुन्छ ?
प्रदेश सरकार समूह र व्यक्तिगत होइन । यो प्रदेशमा बहुमतप्राप्त व्यावहारिक मुख्यमन्त्री आवश्यक छ । प्रदेश सांसदसँग जनताले त्यही अपेक्षा गरेका छन् । म कसरी अल्पमतमा छु ? म त मुख्यमन्त्रीको निर्वाचनबाट छानिएको हुँ ।
एउटा समूहले विगतदेखि नै शेरधन राई अल्मतमा छ भनेर हटाउन राजनीतिक खेल खेल्दै आएकाे थियाे । त्यही समूह प्रदेशमा राजनीतिक अस्थिरता ल्याउन लागेको प्रष्ट देखियो । त्यो समूहले नै अविश्वासको प्रस्ताव ल्याएको हो ।
सरकार टिक्छ भन्नेमा कत्तिकाे विश्वस्त हुनुहुन्छ ?
म पूर्णतः विश्वस्त छु । प्रदेश १ का सांसद राजनीतिभन्दा विकासका लागि धेरै चिन्तित हुनुहुन्छ । प्रदेशमा विकासका धेरै काम भएका छन् । त्यही भएर म ढुक्क छु । प्रदेश १ का सांसदले अविश्वासको प्रस्तावलाई अस्वीकार गर्नुहुन्छ । अहिले अविश्वासको प्रस्ताव पेस गर्ने त समूह हो ।
उनीहरूसँग के आधार छ त मुख्यमन्त्री हटाउने ? म पनि नेकपाकाे राजनीतिमा लामो समय बिताएर आएको हुँ । साथीहरूले त टिके मुख्यमन्त्री पो सम्झिएछन् ।
केन्द्रीय राजनीतिको आगो प्रदेश सरकारमा बल्न थालेकाे हाे ?
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार जनमतप्राप्त हो । यो सरकारले घेराबन्दीमा बसेर बन्द कोठामा काम गर्न चाहेन । जनमतमाथि खेलवाड हुन थालेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुभयो । यसमा जनताको साथ छ । त्यही भएर निर्वाचनको मितिसमेत घोषणा भएको हो ।
अहिले भइरहेको आन्दोलनमा जनताका कि समूहका कार्यकर्ता निस्किएका छन् ? तपाईं आन्दोलनकाे स्वरूप हेरेर मूल्यांकन गर्नुहोला ? अहिले व्याक्तिका लागि आन्दोलन भइरहेको छ । प्रचण्ड–नेपालका लागि किन आन्दोलन भइरहेको छ, मैले बुझ्न सकेको छैन ।
अब के हुन्छ त मुख्यमन्त्रीज्यू ?
अविश्वासको प्रस्तावबारे सांसदहरूले छिट्टै के निर्णय लिनुहुन्छ, त्यसपछि मैले पनि प्रतिक्रिया दिन्छु । अविश्वासको प्रस्तावका विषयमा पार्टी पङ्क्तिसँग पनि सल्लाह भइरहेको छ । यो राजनीति र पार्टीसँग जोडिएको विषय हो । त्यही भएर उहाँहरूले जे गर्नुहुन्छ, त्यो रमिता हेरेर बस्ने कुरा त भएन । जस्तो शक्ति देखाउन खोज्नुहुन्छ, त्यो शक्तिसँग लड्नका लागि एक किसिमको तयारीसमेत गरिरहेको छु ।
मुख्यमन्त्री शेरधन राईसँग शिलापत्रकर्मी रमेश भारतीले गरेकाे कुराकानी शिलापत्रबाट साभारगरिएकाे हाे।