काठमाडाैं ।कोरोना महामारीका कारण फिल्म निर्माण रोकिँदा धेरै कलाकार कामविहीन भएका छन् । विशेषगरि फिल्ममा सीमित कलाकारलाई लकडाउनले आर्थिक रुपमा ठूलो घाटा भएको छ । केही भने लकडाउनमा मालामाल भएका छन् ।
पल शाह, नाजिर हुसेन, आकाश श्रेष्ठ, पूजा शर्मालगायतले लकडाउनको समयमा म्यूजिक भिडियोमा काम गरेर लाखौं छापेका छन् । एक दिनमै छायांकन सकिने, पारिश्रमिक राम्रो पाइने र प्रचारमा हिँड्नु नपर्ने काइदाका कारण अचेल नेपाली फिल्मका चल्तीका कलाकारको म्यूजिक भिडियोतर्फ मोह बढेको छ । राजेश हमालदेखि प्रदीप खड्कासम्मले म्यूजिक भिडियोमा आफ्नो उपस्थिति जनाइसकेका छन् । चकलेटी अभिनेताको रुपमा चिनिएका आर्यन सिग्देल पनि म्यूजिक भिडियोको मोहबाट टाढा छैनन् ।
‘तिमीलाई देखेर, लाजको लाली’ गीतमा अभिनय गरिसकेका आर्यनले निषेधाज्ञामा ‘दशैं तिहार र हतारमा’ गरि दुई गीतको भिडियोमा काम गरेका छन् । उनले धेरैपछि म्यूजिक भिडियोमा कमब्याक गरेका हुन् । फिल्मको व्यस्तताका कारण उनी म्यूजिक भिडियोबाट टाढा थिए । तर, लकडाउनमा उनी म्यूजिक भिडियोमा फर्किनुलाई धेरैले फिल्मविहीन भएको टिप्पणी गरेका छन् ।
एक समय नेपाली फिल्ममा राज गरेका आर्यनको पछिल्लो समय क्रेज खस्किँदो छ । उनका पछिल्ला फिल्म बक्सअफिसमा पिटिनुले पनि उनको स्टारडम कमजोर भएको प्रस्ट्याउँछ । दशक अगाडि उनको नामले फिल्म विक्थ्यो । तर, अहिले उनका फिल्मले पोस्टरको समेत पैसा उठाउन सकेका छैनन् । यसको कारण उनी फिल्म छनौटमा गम्भीर नहुनुलाई मानिएको छ ।
आर्यनलाई गत वर्ष प्रदर्शनमा आएका दुई फिल्म ‘हजार जुनीसम्म र चच हुई’ प्रति ठूलो आश थियो । तर, यी फिल्म पनि गतिलो चलेनन् । कोरोना महामारीभन्दा अगाडि उनी निर्देशक विशाल सापकोटाको नयाँ फिल्ममा काम गर्ने तयारीमा थिए । यो फिल्मको स्क्रिप्टलाई बलियो बनाउन उनी आफैं पनि मिहेनत गरिरहेका छन् । आशा गरौं, यो फिल्मले उनलाई हिटको सुख दिनेछ ।