सुर्खेत।राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम धमाधम हुन थालेको छ ।
सुरुङ निर्माणको काम सकिएपछि अहिले आयोजनाको बाँध र विद्युत् गृह बनाउने कामलाई तीव्रता दिइएको छ । बाँधस्थल निर्माण र विद्युत्गृहका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन र नेपालको रमण निर्माण जेभीले दोस्रो चरणको कामलाई तीव्रता दिइरहेका छन् ।
आयोजनाको सुरुङ निर्माणको ३ वैशाख, २०७६ मा ‘ब्रेक थ्रु’ भइसकेको सुरुङकाे काम चीनको सीआईसी र चाइना इन्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) ले सम्पन्न गरिसकेको र नदीको बहाव फर्काउने बाँधको काम सुरु भएको आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले बताए ।
‘विद्युत्गृह, ब्यारेज, सर्ज साफ्ट, भेरीको पानी बबईमा खसाल्न चिप्लेमा ६ गेजसहितको ब्यारेज निर्माण गरिँदै छ,’ उनले भने, ‘११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ ।’
कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०८० सालसम्म काम सम्पन्न गने लक्ष्य राखेको र ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुने आयोजनाको कार्यालयले जनाएको छ ।
बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ हुने
भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण भए बाँके र बर्दियाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने आयोजनाले जनाएको छ ।
भेरीको पानी बबईमा झरेमा बाँके र बर्दिया बाह्रै महिना सिँचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई वार्षिक ३.१ अर्ब अप्रत्यक्ष तथा विद्युतबाट २.१ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान राखिएको आयोजनाले जनाएको छ ।
४८ मेगावाट विद्युत् उत्पादन
भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले ४८ मेगावाट विद्युत् निकाल्ने बताइएकाे छ । सुर्खेतको भेरीगंगा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाएर १२ किमि २१० मिटर लामो सुरुङमार्फत सोही नगरपालिकाको वडा नम्बर ११ हात्तीखालमा भेरीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।