सुर्खेत। चार वर्षकाे अवधिमा सुर्खेतमा दुई हजार तीनसय ३४ वटा अपराधका घटनाहरू घटेका छन्। बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म विभिन्न प्रकृतिका २ हजार ३ सय ३४ वटा अपराधका घटना दर्ता भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/०७५ देखि ०७७/०७८ मा घटेका घटनाकाे तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा ४ सय ९६ वटा, आर्थिक वर्ष २०७५/०७६ मा ६ सय ९६ वटा, आर्थिक वर्ष ०७६/७७ मा ६ सय ६२ र आर्थिक वर्ष २०७७/०७८ को हालसम्म ५ सय २० वटा विभिन्न प्रकृतिका अपराधिक घटेका घटना दर्ता भएका छन्।
जसमा सबैभन्दा धेरै आत्महत्यासम्बन्धी र सामाजिक अपराधसम्बन्धीका घटना दर्ता भएका हुन्। प्रहरीले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७४/०७५ देखि ०७७/०७८ को हालसम्म सामाजिक अपराधसम्बन्धी ५ सय २२ वटा, आत्महत्या, ४ सय ३३ वटा, महिला तथा बालबालिकाका ४ सय १५ वटा, ज्यानसम्बन्धी ३ सय ५७, चोरीसम्बन्धी १ सय ११ वटा, सांगठिक तथा आर्थिक
अपराधसम्बन्धी ३ सय १४, सवारीसम्बन्धी १ सय ३८ र अन्य प्रकारका घटना ४३ गरी जम्मा २ हजार २ सय ३४ वटा अपराधका घटना घटेको कार्यालयका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रामप्रसाद घर्तीमगरले जानकारी दिए।
समाजमा घट्ने जति पनि घटना आकस्मिक घटना भएको र यस्ता खाले घटना नघटून् भन्नका लागि आम नागरिक नै पहिला सचेत हुनुपर्ने उनले बताए।
‘पहिले पहिले मान्छेहरू सूचनाको पहुँचबाट टाढा थिए। चेतनाको कमी थियो। घटना भए पनि खबर गर्नु हुन्न भन्ने मानसिकता थियो। त्यसैले कतिपय घटेका घटनाहरू बाहिर आउन पाउँदैनथे’, घर्तीले भने, ‘मुलुकी संहिता ऐन २०७४ पछि मान्छेहरू जागरुक भएका छन्। यो गलत हो यसको न्याय पाउनको लागि सम्बन्धि ठाउँमा पुग्नुपर्छ भने मानसिकतामा विकास भएपछि हाल अपराधिक घटनाहरू दर्ता हुनेमा वृद्धि भएका हुन्।’
त्यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रमुख पदमबहादुर विष्टले जिल्लामा लागुऔषध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।
केही दिनअघि मात्रै सरुवा भएर सुर्खेतमा प्रहरी प्रमुख रुपमा आएका विष्टले बिहीबार वीरेन्द्रनगरमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
कार्यालय प्रमुख विष्टले समाजमा हुने आपराधिक घटनाको मुख्य कारण मदिरा र लागुऔषध भएकाले यसको नियन्त्रणमा लाग्ने बताए।
‘समुदायमा सबैभन्दा बढी अपराधका घटनाहरू नै मदिरा र लागुऔषधको कारणले गर्दा भएको देखिन्छ’, विष्टले भने, ‘त्यसैले यसलाई नै पहिलो निशानामा राखेर काम गर्छु।’