सुर्खेत।‘कर्णाली उत्सव कुडा कर्णालीका’दोस्रो दिन पैकेलो, आम्नै कथा आम्नै बान्की, कहरी सुकालो होला, कइले जाला कैठ ? र हाट र भोट सत्र सञ्चालन भए । यी सत्रहरूमा लेखक, पत्रकार, खेलाडी, राजनीतिक दलका नेताहरू, समाजशास्त्रीलगायतको कर्णालीका सुख–दुःखमाथि विचारविमर्श गरेका छन् ।
उनीहरूले कर्णालीको विगत र वर्तमान अवस्थामाथि मन्थन गरेका थिए । यहाँको धर्मसंस्कृति, नागरिकको स्वास्थ्य अवस्था, साहित्यका विविध पाटामा विज्ञहरूले आफ्नो धारणा राखेका थिए । उनीहरूले कर्णाली केवल रोग, भोक, अशिक्षा र गरिबीको पर्यायवाची नभएर कर्णाली अथाह सम्भावना बोकेको क्षेत्रका रूपमा व्याख्या गरेका थिए ।
पैकेलो– आफ्नै कथा आफ्नो पैकेलो अर्थात् (अर्थ हिरो होइन, साहसी, वीर योद्धा, लडाकु) विषयमा कर्णालीका गाउँगाउँमा भेटिने सहासिक, सुरवीर, कीर्तिमानी पैकेलाको कथाहरू सुनाउने कर्णाली उत्सवको अभियानमा पहिलो पैकेलो जुम्लाकी धावक सुनमाया बुढाले बोलिन् । उनले आफ्नो भोगाइ र सफलताको कथा सुनाइन् ।
‘आम्नै कथा आम्नै बान्की’ -यो सत्रमा कर्णालीको कथा र कथा भन्ने शैलीबारे छलफल भएको थियो । साहित्यकार बुद्धिसागर चपाई, रंगकर्मी हिरा बिजुली नेपाली, देउडा गायक नेत्रराज शाही, लेखक सरला गौतमसँग गीतकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले अन्तक्र्रिया गरेका थिए ।
कहरी सुकालो होला, कइले जाला कैठ ?-कहरी सुकालो होला, कइले जाला कैठमा जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारी, संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी र प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा. दुर्गा थापासँग लेखक माधव चौलागाईले अन्तक्र्रिया गरेका थिए । कर्णालीमा रोगको खानीका रूपमा चित्रण गर्ने गरिएको भए पनि कर्णालीमा अहिले स्वास्थ्य क्षेत्रमा धेरै फड्को मारेको संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले बताए ।
हाट र भोट जाने– कर्णाली विकट मात्रै होइन, एक स्वर्णिम इतिहास पनि हो । कर्णालीका हरेक गतिविधि इतिहास हुन् । यहाँका पुर्खाले गरेको मिहिनेत, परिश्रम र संघर्षका अवर्णित छ । पचास वर्ष अघिको कर्णाली नुन, सुन र उनमा बाहेक अन्य सबै कुरामा आत्म निर्भर थियो । यतिसम्म कि हिमाली जिल्लावासीले भोटबाट नून ल्याएर पहाडमा अनाजसँग साँट्थे, पहाडका मानछेहरु नून कुरेर बसिरहेका हुन्थे ।
सुनप्रति मान्छेको लालसा उतिबेलैदेखि हो । यहाँका नागरिक नून, सुन र उनका लागि भोट जाने प्रचलन थियो । नजिक बजार नभएको, अन्य सेवा सुविधाबाट बञ्चित भएको भए पनि कर्णाली कला, साहित्य र संस्कृतिमा धनी त थियो नै, खाद्यान्नमा पनि आत्मनिर्भर थियो ।
कर्णाली उत्सव कुडा कर्णालीमा अर्को सत्र बहस गरिएको थियो हाट र भोट जाने । यो विषयमा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, समाजसेवी धनराम बुढाथोकी र मानवशास्त्री डा. जनक राईसँग पत्रकार नगेन्द्र उपाध्यायले सहजीकरण गरेका थिए । याे सेसनमा उतिबेला हाट जान किन आवश्यक थियो, हाट कसरी जान्थे भन्ने विषयमा वक्ताहरुले हटारुको इतिहास जोगाईराख्न संग्राहलय खोल्नुपर्ने आवश्यकता महसुस भएको बताए ।
‘गाउँमै प्रसस्त अनाज उत्पादन हुन्थ्यो । कपास खेतीबाट आफैंले कपना बनाइन्थ्यो । तर नून र उनको जोहोका लागि भोट र हाट जानुपर्ने बाध्यता थियो । सायद त्यतिबेला कणार्लीमा खरिद गर्नुपर्ने सामान नै नुन र उनमात्र थियो,’ सेसनका प्रमुख वक्ता प्रदेश सभामुख राजबहादुर शाहीले स्मरण गर्छन्, ‘म २०३७ सालमा म हिँडेर कैलालीको चिसापानी हाट गएको थिएँ । गाउँबाट घ्यू लगेर उतिबेला नुन र उन लिएर आएको थिएँ ।’ उनले हाट जाने त्यो बेलाको अवस्थालाई चित्रण गर्दै आफूले कपडाको जुत्ताका लागि वुवासँग विद्रोह गरेको सम्झे ।
‘मेरो बुवाले हाटबाट दिदिका लागि नयाँ जुत्ता ल्याउनु भयो । मलाई चाइनिज कपडाको जुत्ता किन नल्याएको भनेर घरमा नै विद्रोह गरेको थिएँ । ती दिन सम्झँदा अहिले बडो अच्चम लागेर आउँछ,’ शाहीले भने ।
उनले वर्षमा एक पटक गाउँका सबै घरबाट हाट जाने प्रचलन रहेको बताए । ‘रातभरि तामाको भाँडामा घ्यू तताउने, मालुको पातमा घ्यू राख्ने र हाटमा विक्री गर्न लैजाने चलन थियो । गाउँमा जसले बढी घ्यू बनायो, जसले धेरै घ्यू बोक्न सक्यो त्यो मान्छेको चर्चा गाउँभरि हुने गथ्र्यो । गाउँमा मानिसहरु त्यहि कारणले पनि बढीभन्दा बढी घ्यू बनाउने प्रतिस्पर्धा गर्थे,’ उनी सम्झिन्छन्, ‘मैले पनि घ्यू लगेर गएको थिएँ । हटारुका लागि छुट्टै डोका हुन्थ्यो, त्यसमा लाम्पातो, बरियो र खकन्दाको प्रयोग गथ्र्यौं । घरबाट हिडेदेखि फर्किउन्जिेलसम्मका लागि खाद्यान्न, बाउसो, आँसी, सुत्ने कपडासमेत लिएर जानुपथ्र्यो ।’
उनका अनुसार उतिबेला हाट जानेहरुले साइत हेराएर जाने गरेका थिए । सबै गाउँलेहरु जाने, अर्को गाउँका हटारुका छोरी मान्छे साथमा भएको भए देउडा खेल्ने, ठाडीभाका गाएर रमाइलो गर्ने चलन पनि थियो ।
पत्रकार नगेन्द्र उपाध्यायले सहजिकरण गरेको उक्त सेसनलाई सम्वोधन गर्दै डोल्पाका समाजसेवी धनराम बुढाथोकीले आठ दिन लगाएर डोल्पाबाट नेपालगन्ज हाट गएको स्मरण गरे । ‘उतिबेला बाटो चौडा थिएन, सडकको कुरा त धेरै टाढाको भयो । हामी हाट गएर नुन ल्याउने र त्यो नुनलाई औउलमा लगेर अनाजसँग साँटने गथ्र्यौं,’ उनी भन्छन्, ‘उतिबेला डोल्पामा हामीले किन्ने भनेको सुन र अनाज मात्रै थियो । अहिलेको जस्तो खाद्यान्न पर्याप्त मात्रामा नपाईने र औलतिर नुन नपाईने भएका कारण भोटबाट हामीले नुन ल्याएर अनाजसँग साँटने गरेका थियौं ।’
उनले डोल्पाबाट २०२५ सालमा १० धार्नी कटुको र अत्तिस लगेर हाट गएको बताए । ‘कटुको र अत्तिस बेचेर मैले सात सय रुपैंया कमाएँ । त्यो सातसय रुपैयाँबाट किन्न सकिने सामान मैले बोक्नै सक्दिनथेँ । धेरै सस्तो थियो त्यो जमाना । सेतो, निलो जिन ८० मिटरको मूल्य ४० रुपैयाँ थियो । सोतो कोराको कपडा १६ देखि २० रुपैयाँमा एक थान पाईन्थ्यो ।’ उनले हटारु हुँदा नयाँ हाट जान थाल्ने व्यक्तिले धेरै काम गर्नूपर्ने चलन त्यतिबेला भएको बताए ।
‘नयाँ हटारु भएको वा कान्छो हटारु भएको खण्डमा धेरै काम गर्नुपथ्र्यो । जस्तो पानी बोकने, भाँडा धुने आदि,’ उनले भने, ‘हटारु हुँदा आफू कान्छो नै भएका कारण जेठो भएर कान्छाहरुलाई त्यसरी काम लगाउने अवसर पाइएन । उतिबेला बबईमा आएर खरानी घस्ने, नयाँ हटारुले पुजा गर्नुपर्ने प्रचलन पनि थियो ।’
त्यतिबेला जुत्ता/चप्पल नपाइने प्रसंग कोट्याउँदै उनले भने, ‘नांगै खुट्टा हिडनुपर्ने अवस्था थियो । काँडा त हाम्रा खुट्टाका साथी नै थिए ।’ उनले चीनमा पर्ने तो धराप भन्ने स्थानमा भोट जाँदा खाना नखाएको स्मरण गरे । ‘त्यहाँ जता हे¥यो उतै मरुभुमि जस्तै लाग्यो । खाना खान मन लागेन सुरुमा’ उनले भने, ‘पछि बानी पर्न थाल्यो ।’
त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. जनक राईले कर्णालीका भूइमान्छेको इतिहास कुनै विश्व विद्यालयमा पढन नपाइने बताए । ‘हटारुका कुरा सुन्दा नयाँ इतिहास जस्तो लाग्यो । यो कुरा कुनै विश्वविद्यालयमा अध्ययन गर्न पाइँदैन । हटारुका अनुभव नै इतिहास हुन् । हाट जाने बेलामा आफूहरुलाई समस्या नपरोस भनेर गाउँमा इस्ट लगाउने, मित लगाउने प्रचलन थियो । डुंगा तर्दा धेरै कुर्न नपरोस भनेर पहिल्यै एक व्यक्तिलाई नाम टिपाउन लगाउने त्यो बेलाको चलन ऐतिहासिक नै हो,’ उनले भने, ‘त्यतिबेलाका भूइमान्छेले गरेका संघर्षका कथा अच्चमका छन् । सामाजिक पुँजी निर्माण गर्न कर्णालीले उहिल्यै सिकिसकेको रहेछ ।’ उनले त्यसबेलाका हटारुले कसरी संघर्ष गरेका थिए भन्ने कुरा सिक्न जरुरी रहेको बताए ।
सभामुख शाहीले त्यतिबेला हाट जाने महिलाहरुको संख्या अत्यन्तै न्यून हुने गरेको बताए । ‘हाट जानेमा सबैभन्दा पहिले बलिया युवाहरुको खोजी हुन्थ्यो । हरेक घरमा युवा भएको खण्डमा युवा नै हाट जान्थे । गाउँमा वृद्ध भएका वा घरमा पुरुष नभएकाहरुका हकमा महिलाहरु जाने गर्थे । विस्तारै त्यो क्रम बढेको थियो,’ उनी सम्झन्छन् ।
हेर्नुहाेस भिडियाेः