सुर्खेत । कर्णाली प्रदेशमा थप ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, जिल्ला अस्पताल दैलेख र चौरजहारी नगपालिकाको पिसिआर मेसिन रुकुमपश्चिममा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको परीक्षणमा ३ जना, प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३८ जना, चौरजहारी नगपालिकाको पिसिआर मेसिन रुकुमपश्चिममा गरिएको परीक्षणमा ३ जना र जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा सल्यानका २५, जुम्लाका २, दैलेखका ७, सुर्खेतका ५, हुम्ला, मुगुका १÷१ जना जाजरकोट र रुकुमपश्चिमका ३÷३ जनामा र प्रदेशका ३ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए ।
कर्णालीमा योसँगै कोरोना पुष्टि हुनेको संख्या ५४०१ पुगेको छ ।
त्यस्तै कर्णालीमा पछिल्लो २४ घण्टामा बिभिन्न अस्पताल तथा आइसोलेसनबाट १०६ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या ४०९१ पुगेको छ ।
दशैमा प्रयोगशाला बन्द नहुने
दशैं तिहारमा कर्णाली प्रदेशमा रहेका चार वटै पीसीआर प्रयोगशाला बन्द नुहने भएका छन् । कोरोनाका बिरामीको बिरामीको चाप बढ्ने सक्ने भएकाले नियमित आमस्मिक सेवाका अतिरिक्त चिकित्सक र अन्य स्वास्थ्यकर्मीले निरन्तर सेवा गर्न सक्ने गरी जनशक्ती तयारी अवस्थामा राख्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता विष्णु अधिकारीले जानकारी दिए । ‘प्रदेशमा रहेका सबै अस्पताल, स्वास्थ्य संस्था र कोरोना प्रतिकार्यका लागि खटाइएका जनशक्तिको विवरण स्वास्थ्य सेवा निर्देशनालयलाई उपलव्ध गराइने छ ।’ उनले भने,‘चाडपर्वको समयमा भने कोरोना परीक्षण गर्न पीसीआर प्रयोगशालाहरुले चिकित्सकले सिफारिस गरेका र लक्षण देखिएका अत्यावश्यक व्यक्तिहरुको मात्रै परीक्षण गरिने छ ।’