सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित श्रमाधान रोजगार मेलामा ५ हजार बढी दर्शकले आवलोकन गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा आयोजित दुई दिने मेलामा ४ हजार बेरोजगार श्रमिकसहित रोजगारदाताहरु प्रत्यक्ष लाभान्वित भएको आयोजकको दावी छ ।
मेलामा विभिन्न खालका ४० वटा स्टलहरु राखिएका थिए । मेलाबाट रोजगारीका लागि पाँच सय भन्दा बढिले आवेदन फारम भरेका छन् ।
मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सिद्धार्थ ग्रुप, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरु रहेका थिए ।
मेलामा विभिन्न क्षेत्रबाट सहयोग गर्ने तथा योगदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
मेलाले विशेषगरी रोजगारदाता र रोजगारी खोज्नेवीच देखिने गरेको खाडल पुरा महत्वपूर्ण भूमिका खेलेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव टिकाराम ढकालले बताए ।
श्रम तथा रोजगार कार्यालय सुर्खेतका श्रम अधिकृत श्रीसमशेर रानाले मेला भव्यताका साथ विविध कार्यक्रमसहित सम्पन्न भएको जानकारी दिए । मेलामा रोजगारी दिने र रोजगारी खोज्नेहरुबीच पुलको काम गरेको र मेलाको उद्देश्य पुरा भएको उनका भनाइ थियो ।
नेपाल चेम्बर अर्फ कमर्स कर्णाली प्रदेश अध्यक्ष चिन्तामणि न्यौपानेले रोजगारदाताले आवश्यकता अनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गरेको बताए ।
‘वर्षोदेखि हामी हरेक कुराको लागि अन्य मुलुकमा भर पर्नुपर्ने अवस्था छ । तर, अबका दिनमा नेपालमा नै गरी खाने वातावरण सृजना गर्न, आन्तरिक रोजगारी सृजना गर्न, यहाँको रोजगारीको अवस्था बुझन, कस्ता खालको सीपको आवश्यकता पर्छ भन्ने खालको विषयलाई सम्बोधन गर्न यस्तो खालको मेलाले ठूलो सहयोग पुगेको छ,’ उनले भने ।
मेलामा रोजगारीका लागि फाराम भरेकाहरुलाई पछि सम्बन्धित कम्पनीले बोलाउनेछन् । सोही आधारमा उनीहरुले रोजगारी पाउने सम्बन्धित कम्पनीहरुले जनाएका छन् ।
विभिन्न कम्पनीहरुले ३५० भन्दा बढि क्षेत्रमा कर्मचारी माग गरेका थिए । जसमा एक हजार तीन सय भन्दा बढीले आवेदन दिएका थिए । मेलामा विभिन्न विषयमा श्रमाधान सम्वाद कार्यक्रम समेत राखिएको थियो ।