काठमाडाैं ।ई-सेवा मनी ट्रान्सफरले थप छवटा देशबाट रेमिट्यान्स सेवा सुरु गरेकाे छ । त्यसका लागि कम्पनीले वायरबार्ले (WireBarley) सँग रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौतासँगै अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया र हङकङमा रहेका नेपालीले वायरबार्लेबाट नगदमा तथा कुनै पनि बैंक खातामा र ई-सेवा वालेटमा सहजै रकम पठाउन सक्ने ई-सेवाले जनाएकाे छ ।
ई-सेवाका अनुसार अब ती देशबाट वायरबार्लेमार्फत पठाइएको रकम ई-सेवा मनी ट्रान्स्फरका नेपालभर रहेका ८ हजारभन्दा बढी एजेन्टमार्फत रकम प्राप्त गर्न सकिन्छ । यस्तै, रकम सिधै ई-सेवा वालेटमा प्राप्त गर्न सकिन्छ भने बैंक खातामा पठाइएको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।
वायरबार्ले एउटा फिनटेक स्टार्ट अप कम्पनी हो, जसले एसिया प्रशान्त क्षेत्रमा मोबाइल/अनलाइन रेमिट्यान्स सेवा प्रदान गर्दछ । वायरबार्ले अस्ट्रेलियाको पहिलो र अग्रणी कम्पनी हो । यसको सेवा अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, क्यानाडा, न्युजिल्यान्ड र हङकङमा छ । यस कम्पनीले छिट्टै नै जापान, फिलिपिन्स्लगायतका मुलुकमा सेवा विस्तार गर्दै छ ।
ई-सेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवा मार्फत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा सुरक्षित, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर प्राप्त गर्नुका साथै समयको पनि बचत गर्न सहयोग मिलेको छ ।
ई-सेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रूपमा स्थापना गर्नु आफूहरूको उद्देश्य रहेको ई-सेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।