सुर्खेत । कर्णाली प्रदेशको खेलकुद परिषदको सदस्य सचिवमा विश्वामित्र संज्याल र उपाध्यक्षमा प्रमोद हमाललाई नियुक्त गरेको छ । सामजिक विकास मन्त्रालयले गरेको प्रस्ताव मुख्यमन्त्री तथा मन्त्री परिषद्को बैठकले स्वीकृत गरेपछि परिषद् गठन गरिएको हो ।
परिषदको सदस्य सचिवमा भने विश्वमित्र सन्ज्याललाई नियुक्त गरिएको छ ।सचिव संज्याल सान्नीत्रिबेणी गाउँपालिका कालीकोटका हुन् भने उपाध्यक्ष हमाल सुर्खेतको वीरेन्द्रनगरका हुन् ।
मन्त्री केसीका अनुसार प्रदेश खेलकुद परिषद्को सदस्यहरुमा हुम्लाका टक्कबहादुर शाही, जुम्लाका सरोज शाही, सल्यानका भूमाकुमारी बुढाथोकी, जाजरकोटका मोहनराज घर्ती र दैलेखका हेमा खड्कालाई नियुक्त गरिएको छ ।
नवनियुक्त संज्याल राष्ट्रिय खेलकुद परिषद्का पूर्वइन्जिनियर हुन् । संज्यालसँग राष्ट्रिय खेलकुद परिषदमा ८ वर्ष काम गरेको अनुभव छ ।
नवनियुक्त उपाध्यक्ष हमालले खेल पूर्वाधारको विकासमा सक्दो काम गर्ने बताएका छन् । हमाल जिल्ला फुटवल संघ सुर्खेतका वरिष्ठ उपाध्यक्ष तथा मध्यपश्चिम फिटनेस सेन्टरका सञ्चालकसमेत हुन् ।
सामाजिक विकास मन्त्रालयले परिषदमा नयाँ नियुक्त गरेसँगै कर्णालीको खेल पूर्वाधारको विकासमा सक्दो सहयोग गर्ने नवनियुक्त हमालले जानकारी दिए ।