सल्यान।त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाका शारदा थापाको आँगन छेउमा विद्युतको पोल छ । ०६२/०६३ साल देखि विद्युतिकरण गर्दा उनको घरआँगनमै कोठको पोल गाडिएको हो । सुरुवातमा बत्ती बाल्न पाएकोमा खुसी भएकी उनीअहिले विद्युतकै काठकाे जीर्ण पोलले समस्यामा परेकीछन् । काठको पोल भएकाले कुहिनुका साथैँ ढल्ने अवस्थामा पुगेको छ ।
पोल अड्याउनको लागि गाडिएको ‘सपोर्ट तार’ केही साता अघि चुडिएको छ । काठको पोल कुहिएर लत्रिएको छ । हावा चल्दा र पानी पर्दा असाध्यै डर हुन्छ, कति बेला पोल ढल्छ भनेर । पोलकै कारण दुर्घटनाको जोखिम बढेर गएको छ । हाम्रो परिवार र आँगनमा बाँधिएका गाईबाख्रा सबै जोखिममा परेका छन् उजले भनिन् । दैनिकी काममा बाधा भएको छ । परिवारको बाल बच्चा जोखिममा पर्छन की भनेर काम नगरी जीर्ण काठको पोल दुर्घटना हुन सक्छ भनेर हेरेर बस्नु पर्ने बाध्यता भएको छ । काम गरेर जिविकोपार्जन गर्ने परिवार अहिले परिवार चलाउन समस्या भएको छ । काम गर्न नपाउदा साँझ विहान छाक टार्न समेत समस्या हुँदै आएको छ ।
स्थानीय छिमेकी लिला थापाको आँगन माथिबाट बिजुलीको तार तानिएको छ । पहिले–पहिले बिजुलीको पोल अग्लो हुदा तार पनि माथि थियो, तर काठको पोल कुहिदैँ गए, भाँचिन्छ, त्यही पोललाई गाडिन्छ, त्यस्तो गर्दा तार धेरै तल झरेको छ, वरपर गर्दा पनि टाउकोले तार छुने डर छ उहाँले भन्नुभयो । पानी, घाँस, स्याला, दाउरा ल्याउदा बढी ध्यान दिनुपर्छ, तार छोइयो भन दुर्घटना हुने डर छ । हावा चलेको बेला दुबै तार एक आपसमा ठोक्किएर झिल्का आउने गरेको उनको भनाइ छ ।
पानी परेको बेला र हावा चलेको बेला तार एकआपसमा ठोकिन्छन्, आगोको झिल्का आउँछन्, रुखमा तारले छोएकाले घाँसै काट्न छोडिसक्यौँ, हावापानी आएको बेला घरको मिटर बन्द गर्छौ उनले थपे हामीले पोल फेर्दिनु भनेको वर्षौ भयो, कसैले ध्यान दिएको छैन्, विद्युत कार्यालयमा पनि पटक–पटक पुगे, तर सुनुवाइ भएन् उनले भने । नागरिकलाई सर्वसुलभ र सुरक्षित तरीकाले विद्युत सेवा दिनु विद्युत प्राधिकरणको कर्तव्य हो तर प्राधिकरणले आफ्नो कर्तव्य पुरा गर्न नसक्दा नागरिकहरुले भने विद्युतको जीर्ण काठको पोलको कारण सास्ती खेपिरहेका छन् । सम्बन्धित निकायले चासो नदिदा जोखिम मोलेर विद्युत उपभोग गर्न उनीहरु बाध्य छन् । पोल जीर्ण बन्दा भुईँ छुने गरेर लत्रिएको विद्युतको तारमुनिबाट नागरिकहरु जोखिम मोलेर खेतिपाती संगै हिडडुल गर्न बाध्य रहेको स्थानीय ओज बहादुर खत्रीले बताए। यो समस्याले किसानको काम बाधा गरिरहेको छ ।
नेपाल विद्युत प्राविधिकरण वितरण केन्द्रले वर्षेनी काठका पोल हटाउँदै आएको छ । तर जिल्लामा काठका पोल कति छन् भन्ने तथ्याङ्क छैन् । शारदा नगरपालिका–१० माथिल्लो स्यालाका भिम बहादुर कवरले २०६१ सालमा गाडेको काठको पोल विस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको बताए । त्यो बेला त सल्लाकै पोलबाट बत्ती बाल्न थालिएको हो, पछिल्लो समय काठका पोल हटाएर फलामका पोल गाड्न थालेको पनि धेरै भइसकेको छ, तर यही चोकमा रहेको एउटा पोल हटाउन बाँकी छ उनले भने। काठका पोल नहटाउदा र पोल स्थानान्तरण नहुँदा बरपिपलका हाँगा छोएको र दुर्घटनाको सम्भावना रहेको उनको भनाइ छ ।
‘जोखिमपूर्ण अवस्थामा रहेका पोल परिर्वतन नगर्दा मानवीय र भौतिक क्षतिसमेत हुने खतरा रहेको छ’ उनले भने। उपभोक्तासँग पर्याप्त बजेट छैन, सरकारले पोल परिर्वतनका लागि ठोस काम अघि बढाउन सकेन् । जिल्लाकै खलंगा, माल्नेटा, छायाक्षेत्र लगाएतका बस्तीमा अझै काठका जीर्ण पोल छन् ।
त्रिवेणी गाउँपालिका र छत्रेश्वरी गाउँपालिका भित्रका केहि वडामा शंखमुल ग्रामिण विद्युतिकरण एवम् वितरण सामुदायिक संस्थाबाट विद्युतको काम भएको थियो । तर सामुदायिक संस्था खारेज भए सँगै पुराना काठका पोल परिर्वतन गर्न समस्या भएको सम्बन्धित निकाय बताउँछ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख दिनेश पौडेलले जिल्लामा रहेको काठका पोल हटाउने अभियान सञ्चालन गरिएको बताए । उनले तत्कालको लागि जहाँ समस्या छ, त्यहाँका पोल र विस्तारै सबै ठाउँका काठका पोल हटाइने उनको भनाइ छ । जिल्लामा सल्यान वितरण केन्द्र, सुर्खेत र सामुदायिक मार्फत विद्युतिकरणको काम भएकाले कहाँ के समस्या छ, त्यो बुझ्न र समाधान गर्न समस्या भएको हो उनले बताए । आवश्यक कागजात र लिखित निवेदन सहित ग्राहक आएमा समस्याको समाधान हुने उनको भनाइ छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा ५४ हजार ७ सय १ घरधुरी छन् । जसमा २४ हजार ७ सय ७५ घरधुरी अर्थात ४५ प्रतिशत परिवार बिजुलीको पहुँचमा छन् । यस्तै २७ हजार ७ सय ६ घरधुरीले सोलारको प्रयोग गर्दै आएका छन् । बाँकीले मट्टीतेल, बायोग्याँस आदीको प्रयोग गर्ने गरेको तथ्याङ्ले देखाएको छ