विश्वको प्रविधिमा निकै अघि बढिसकेको चीनमा उत्पन्न भएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै हल्लाइदियो । चीनदेखि सुरु भएर विश्वका लगभग प्रत्येक देशमा पुगेको यो अदृष्य भाइरसका कारण विश्वमा मानव जीवनस“गै अर्थतन्त्र र विकास निर्माणमा समेत ठूलो असर गर्न पुग्यो । यस भाइरसका कारण अहिले पनि मानव–मानवको नजिक हुन समस्या भइरहेको छ ।
यसको फैलावटसँगै यसका विरुद्धमा खोप तयार पार्नका लागि तल्लिन अनुसन्धानकर्ताहरु, विज्ञहरु अहिलेसम्म सफल हुन सकेका छैनन् । जनसंख्या नियन्त्रणका लागि प्रकृतिले पनि खतरनाक कदम चाल्छ रे । जुन कोरोना भाइरस पनि हो कि भन्ने धेरैलाई लागिरहेको छ । यसको नियन्त्रण र रोकथामको लागि सावधानी अपनाउनुबाहेक अरु कुनै उपाय छैन । कोरोनाका कारण लाखौं मान्छेले ज्यान गुमाइसकेका छन् भने लाखौँको रोजगारी गुमेको छ । औषधिविज्ञहरु कोरोना विरुद्धको लडाँइ लडिरहेका बेला नेपाल, नेपालको पनि कर्णाली र कर्णालीको पनि राजधानी सुर्खेतका एकजना गजलकार भने कोरोनाबाट कसरी बच्न सकिन्छ? र कोरोना के हो ? भन्ने कुराको सन्देश दिनका लागि आफ्ना शब्दहरु संकलन गर्ने काममा लाग्नु भएछ ।
शब्दहरुलाई टिप्दै र संरक्षित गर्दै जाने क्रममा एउटा सङ्ग्रह नै बन्न पुगेछ, गजल–सङ्ग्रह । गजलै गजलले भरिएको यो सङ्ग्रहको नाम नै ‘कोरोना भाइरस’ राखिदिनु भएको छ उहाँले । देखेका, भोगेका र सुनेका यथार्थतालाई टपक्क टिपेर लेख्न सक्ने रगवीर विश्वकर्मा एक प्रगतिवादी साहित्यकार हुनुहुन्छ । प्रगतिवादीहरु अझ भन्ने हो भने सच्चा प्रगतिशीलहरु जहिले पनि जनताको पक्षमा कलम चलाउँछन् । यिनीहरुलाई डर, त्रास, लोभ र लालच भन्ने हुँदै हुँदैन । सरकार पक्षले गरेका कार्यहरु कलमको हतियार मार्फत लेख्ने काम प्रगतिशीलहरुको हो । जुन कार्य निरन्तररुपमा गर्दै आउनु भएको छ रगवीर विश्वकर्माले ।
‘कोरोना भाइरस’ गजल–सङ्ग्रहको पाण्डुलिपि अध्ययन गर्ने क्रममा त्यस भित्रका गजलहरुलाई एक–एक गरेर केलाउने कोशिस गर्दै गर्दा एउटा विज्ञ स्वास्थ्यकर्मीले जुन चेतनाको दियो जगाउने कार्य गर्दछन् त्यही चेतनाको दियो गजलकारले जगाउनु भएको मैले पाएँ । सरल र सहज ढंगबाट शब्दहरु बान्की पारेर कोरोना भाइरस के हो ? कोरोना कस्तो छ ? यसको उत्पति कसरी भयो ? यसबाट कसरी बच्ने र बचाउने भन्नेबारेमा उहा“का गजलले स्पष्ट बोलिदिएका छन् ।
एक सय तीन वटा गजलहरुलाई सङ्ग्रहित गरेर प्रकाशन गरिएको यो गजल–सङ्ग्रह यसकारण पठनीय छ कि यसले गजलको रस, साहित्यको स्वाद र लेखकको अनुभूति मात्र होइन मानवजाति कोरोनाबाट कसरी सुरक्षित हुनुपर्छ भन्नेबारेमा छर्लङ्ग पारिदिएको छ । यस सङ्ग्रहभित्र ३८ वटा गजल ५ शेयरका रहेका छन् भने ३१ वटा गजल ६ शेरका, २३ वटा गजल ७ शेयरका, ९ वटा गजल ८ शेयरका छन् । यसैगरी ९ र ११ शेयरका १/१ वटा गजल रहेका छन् । सैद्धान्तिक हिसावले कतै विचलन आएको भए पनि संरचनाको हिसावले कतै काफियालाई अलि बलपूर्वक राखिएको भए पनि भावका दृष्टिले, शिक्षा र चेतनाका दृष्टिले सर्सर्ती बगेका यी गजलहरु चेतनाका संवाहक हुन् ।
जतिबेला म यी शब्दहरु लेखिरहेको छु यतिबेला दशैंले हाम्रो घर आगनबाट विदा लिँदै गरेको छ भने तिहारको पखाईमा छाै हामीहरु । गजलकार विश्वकर्माले आफ्ना गजलका शेयरहरुमा भन्नुभएको छ,
यस्तो बेला टाढाबाट कोही पनि नआउ“दा राम्रो ,
शंका लागे अस्पतालमा छिटो आफैं जाँदा राम्रो ।
त्यस्तै,
नून, बेसार, कागतीपानी जतिसक्यो पिउँदा राम्रो ,
सावधानी अपनाएर ढुक्कसँग जिउँदा राम्रो ।
गजलकार विश्वकर्माले गजलका शेयरहरु मार्फत कोरोनाको अप्रेसन नै गर्नुभएको छ । समय सापेक्ष गजलको सिर्जना गर्ने गजलकार हो उहाँ । उहाँले यस गजल– सङ्ग्रहमा कोरोना भाइरसको बयान मात्र गर्नुभएको छैन त्यसबाट बच्नका लागि अपनाउनु पर्ने सावधानीलाई समेत स–प्रसङ्ग व्याख्या गर्नुभएको छ । उहाँ भन्नुहुन्छः
संक्रमितको सम्पर्कमा सिधैं आउँदा सर्न सक्छ ,
उनका सामान, लुगा अरुले लगाउँदा सर्न सक्छ ।
संक्रमितले खोक्दा होस् वा हाच्छ्यूँ गर्दा होस् भाइरस एकबाट अर्कोमा सर्ने कुरालाई मात्र उहाँले व्याख्या गर्नु भएको छैन देशले भोग्नु परेको लकडाउनको पीडा र जनताले पाउनु पर्ने हरेक अधिकारको कुरालाई पनि उल्लेख गर्नुभएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाबाट बच्नका लागि घरमै बस्नुपर्ने, सकेसम्म ज्ञान दिने पुस्तकको अध्ययन गर्नुपर्ने, आफू बच्न र आºनालाई बचाउनका लागि सामाजिक दूरी कायम गर्नुपर्ने जस्ता चेतनामूलक सन्देशहरु समेटिएको यस सङ्ग्रहमा गजलकारले कोरोनाले हारोस् र कोरोनाबाट संक्रमितहरुले कोरोनालाई जित्न सकुन् भन्ने कामनासमेत गर्नुभएको छ ।
धन कमाउनका लागि विदेश गएका कतिपय नेपालीहरु कोरोनाका कारण कहिल्यै नब्यूँझिने गरी उतै निदाएका छन् । यसको पीडा देख्ने र भोग्नेले नाप्न सक्छन् । पराइको भूमिमा सदाका लागि निदाउनु पर्दा त्यो छोरोले सम्झेको कुरालाई कल्पना गर्दै गजलकार यसरी उल्लेख गर्नुहुन्छः
छोरो मर्यो भनी पीरले नरोइ दिनु है आमा ,
आँसु झारी आङ्का लुगा नधोइ दिनु है आमा ।
निकै पीडादायक छन् यी शब्दहरु तर यथार्थ छन् । आफ्नै देशमा कल, कारखाना र रोजगारी नहुनु मुख्य कारण हो यो । हुने खाने भन्दा पनि हुँदा खानेलाई कोरोनाले अझ धेरै सकस दिएको छ । दिनभर काम गरेर साँझ बिहानको छाक टार्नेहरु भोकले झमझमाएको पेटलाई पटुकी कसेर आँसु पिउन बाध्य छन् । त्यसैले त गजलकारले भन्नुभएको छः
कोरोनाले मजदुरको हाल बेहाल भयो सरकार ,
खान नपाई जनताको ज्यान पनि गयो सरकार ।
नेपालमा नि महिनौंसम्म लकडाउन गर्दागर्दै ,
कोरोना भन्दा ठूलो काल बनी भोक आयो सरकार ।
सानालाई ऐन र ठूलालाई चैन हुने गरेको प्रसंगलाई गजलकारले कलात्मकताका साथ गजलका शेयरहरुमा उतार्नुभएको छ । रोजगारका लागि विदेश गएका युवाहरु अलपत्र परेको कुरा, कोरोनाका कारण विश्वमा लाखौं मान्छे मरेको कुरा, संकट पर्दा जनताको जिम्मा सरकारले लिनु पर्ने कुरा, भोकले मर्न थाल्याै भन्दै सरकार गुहारेको कुरा मात्र होइन स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार गरेको कुरालाई गजलकारले स्पष्टसँग उल्लेख गर्न सक्नु उहाँको लेखन शिल्पशैलीको उत्कृष्टता हो ।
हामी अग्र्यानिकताको नारा लगाइरहेका छाै । कर्णाली प्रदेश सरकारले समेत अग्र्यानिक कर्णालीको परिकल्पना गरेर अगाडि बढिरहेको छ । यस्तो अवस्थामा हाम्रै गाउँघरमा पाइने साग र सिस्नु कति उपयोगी हुन्छ भन्ने कुरालाई यस सङ्ग्रहमा उल्लेख गरिएको छ । कतै उखान त कतै टुक्का अनि कतै थोरै आशा त कतै आग्रह, कतै राजनीतिक यथार्थता त कतै सामाजिक चित्रलाई गजलकारले आफ्ना गजलमा चित्रण गर्नुभएको छ । आफ्ना गजल मार्फत गजलकारले सरकारलाई खरो प्रश्न गर्नुभएको छः
लकडाउनमा भोकभोकै मर्नेलाई खै त सरकार ?
निराश हुँदै आत्महत्या गर्नेलाई खै त सरकार ?
कोरोनाका कारण भोकले मान्छे मर्ने अवस्थाको सिर्जना भयो । संघर्ष र आशामा टिक्न नसक्नेहरुले आत्महत्या गरेका खबरहरु पनि आए । त्यस्तो समयमा सरकारले चाल्नु पर्ने कदम प्रभावकारी हुन नसकेको कुरासमेत अटाएको छ ‘कोरोना भाइरस’ गजल–सङ्ग्रहमा । निराशा मात्र होइन गजलकार कतै आशावादी पनि देखिनुहुन्छ । त्यसको लागि एकताको खाँचो हुन्छ । सबै नेपालीहरु एउटै लक्ष्य र एउटै उद्देश्य बोकेर अगाडि बढ्ने हो भने असम्भव केही पनि छैन ।
यो गजल–सङ्ग्रह एउटा चेतनामूलक, ज्ञानमूलक र शिक्षामूलक सङ्ग्रह हो । त्यसैले पनि यसको सैद्धान्तिक बनावट भन्दा पनि भावात्मक उत्पतिदेखि म निकै प्रभावित छु । गजल–सङ्ग्रह ‘कोरोना भाइरस’ को सफलताको कामनासँगै कोरोना भाइरस नामक कीटाणु यो संसारबाट छिट्टै विदा होस् । गजलकार रगवीर विश्वकर्माको सफल साहित्यिक यात्राको लागि हार्दिक शुभकामना ।