डियर नर्स,
मान्छेहरू भन्छन्, इन्जिनियर र नर्सको जोडी असाध्यै सुहाउँछ । घाँटीमा स्टेथस्कोप भिरेकी, जिउमा सेतो एप्रोन लगाएकी अनि टाउकोमा नाइटिङ्गेलको सानो टोपी अड्याएकी नर्सका सामु पहेँलो हाइभिजन ज्याकेट ओढेको अनि टाउकोमा सेतो हेल्मेट लगाएको इन्जिनियर हात समाएर उभिएको फोटो मैले पनि देखेको हुँ । सुहाएकै हो जोडी त । तर मेरो अन्तरमा मेरी जीवनसाथी नर्स नै हुनुपर्छ भन्ने थिएन । जोसुकै होस्, मलाई माया गर्ने होस्, ख्याल राख्ने होस् अनि मसँगसँगै जीवनको उकाली ओराली गर्ने होस् ।
बच्चा बेलाका भाँडाकुटी प्रेमहरू नगन्ने हो भने, मेरो पहिलो प्रेम प्लस–टु पढ्ने बेलामा भयो । त्योे उमेर नै त्यस्तै । कुर्कुरे बैँसको आकर्षण ! अहिले लाग्दैछ, प्रेमको घनत्व थाहा नपाएर सतहसम्म मात्रै पुगिएछ, त्यतिखेर । तर कमसेकम सतहको पानी नै सही, मैले बिस्तारै त्यो प्रेमलाई छोएको थिएँ, महसुस गरेको थिएँ । त्यो प्रेमले मेरो जीवनमा विशेष उथलपुथल केही पनि ल्याएन, तर कमसेकम मनको कुना–कन्दरामा प्रेम नामको परागसेचन भने पक्कै गरेको थियो । त्यतिबेला जब प्रेम गरियो, लाग्थ्यो ठीक उमेर, ठीक समय अनि ठीक मान्छेसँग गरियो । तर त्यो त केवल एउटा सुरुवात रहेछ, प्रेमरूपी सम्मोहको परागबाट भविष्यमा सिर्जना हुने महजस्तै, मीठो सुरुवात् ।
दोस्रो प्रेम पनि भयो । यसपालि अलि सोचेर, बुझेर अनि सम्झेर भयो । थाहा थिएन, प्रेमका निम्ति त्यो समय अनुकूल थियो या थिएन, तर यति थाहा थियो, त्यो प्रेम चिरस्थायी हुनेछ, रहिरहनेछ । बिहे हुनेछ, बालबच्चा जन्मनेछन्, सँगसँगै जीवनका आँधीहुरी, सुखदुःख कट्नेछन् ।
त्यही हिसाबको एउटा लामो गुरुयोजना पनि बन्यो । धेरै पछिका कुराहरू सोचियो, तर वर्तमान भुलियो । भविष्यका योजनामा पालिस लगाउँदा लगाउँदै वर्तमान खुइलिएको पत्तै भएन । सबै कुराहरू मिल्दामिल्दै केही पनि मिलेन । मन बाझियो र थाहै नपाइकन सिङजस्तै तीखा अहमहरूबीच टकराव भयो । प्रेम लड्खडाउँदै भुइँमा पछारियो, निकै दिनसम्म त्यही भुइँमै लडिरह्यो । यसरी दोस्रो प्रेमले पनि जीवनमा धेरै कुरा सिकाएर गयो ।
तेस्रो प्रेम गर्ने बेला उमेरले डाँडा काटिसकेछ । इन्जिनियरिङ सकेर कन्स्ट्रक्सन कम्पनीमा काम गर्न थालेको पनि तीन वर्ष बितेछ । घरमा बिहेको कुरा चल्न थाल्यो । सबैभन्दा पहिले मलाई सोधियो, ‘‘कोही नर्स मन पराएको छस् कि ?’’
‘‘नर्स ?’’ म झसङ्ग भएँ ।
‘‘छ भने भन् क्यारे, सबै कुरा मिल्ने रैछ भने हामीले किन दुःख खेपिराख्नु ?’’
‘‘नर्स मात्रै केटी हुन्छन् र ? अरू पनि त हुन्छन् नि ।’’ मैले मुख बिगार्दै जवाफ दिएँ ।
‘‘यत्रो इन्जिनियर भएर पनि एउटी राम्री नर्स लिएर आउन सकिनस् भने के काम तेरो डिग्रीको ?’’ उताबाट जवाफ आयो ।
लौ जा । भै त गो । चार चार वर्षसम्म सिलौटामा पिसिएझैँ पिसिएर, मोटामोटा किताबका लामा लामा फर्मुलाहरू कण्ठ पारेर, रातभर जाग्राम बसेर पनि एउटा सेमेस्टरमा दुइटा विषयमा गुल्टिएको किन रैछ त भन्दा, नर्ससँग बिहे गर्न !
‘‘ढाकाको टोपीमा गुहेँलाको फूल ।’’ मैले मुख खुम्च्याउँदै भनेँ ।
‘‘अनि कोसँग बिहे गर्ने विचार छ त, केही सोचेको त होलास् ?’’ उताबाट प्रहार भयो ।
साँच्चि कोसँग बिहे गर्ने होला त ? इन्जिनियर ? ओहो, नाइँनाइँ । बिचरा कक्षामा मुस्किलले तीनजना केटीेहरू हुन्थे, ती पनि सबैका ब्वाइफ्रेन्ड । म्यानेजमेन्ट ? नट ब्याड । तर सकेसम्म टेक्निकल विषयकै गर्न पाए हुन्थ्यो, कुरा त मिल्थ्यो । यो डेबिट र क्रेडिट, ह्वाट कम्स इन, ह्वाट गोज आउटसँग मेरो पल्ला पर्नेवाला छैन । टिचर ? घरमै दुई–दुईजना टिचरको लेक्चर सुन्दा सुन्दा म वाक्क भैसकेँ । डाक्टर ? घमण्डी हुन्छन् रे, बिचरा म सोझो इन्जिनियरलाई हेप्न बेर छैन ।
त्यसो भए को त ? नर्स ? हे भगवान् । नसोच्दा पनि नर्स, सोच्दा पनि नर्स । यताबाट पनि नर्स, उताबाट पनि नर्स । एउटा मनले भन्थ्यो, नर्स मात्रै छन् र ? अनि अर्को मनले भन्थ्यो, त्यसो भए अरू को छन् त ?
नभन्दै केटी हेर्न पनि गइयो, संयोग हो या सुनियोजित, ऊ नर्स नै थिई । वीर अस्पतालमा इमर्जेन्सी कक्षमा कार्यरत नर्स । शाहिद कपुरको विवाह फिल्मजस्तै कस्ती होली, फोटोमा हेरेभन्दा फरक होली कि उस्तै होली ? पहिलोचोटि के भनेर बोलाउने, के सोध्ने, म पहिले बोल्ने कि उसलाई बोल्न दिने ? मनमा प्रश्नहरू खेल्नु स्वाभाविकै हो । तर मैले अरू के पनि सोचिरहेको थिएँ भने कतै म धेरै बोलेँ भने उसले सुई रोपिदिने त हैन ? आफूलाई फेरि सुईदेखि असाध्यै डर लाग्छ ।
हामी उसको घरमा कुरेर लगभग एक घण्टासम्म बस्यौँ होला । उसको ड्युटी रहेछ अनि आजै ओभरटाइम परिदिएछ ।
‘‘इमर्जेन्सीमा ड्युटी कति बेला सुरु हुन्छ अनि कतिबेला सकिन्छ भन्ने ग्यारेन्टी नै नहुने ।’’ उसकी आमा अर्थात् मेरी हुनेवाली सासूआमा हामीलाई भुलाउने कोसिस गर्दै थिइन् । त्यतिञ्जेल भावी सासू र ससुराले मेरा बारेमा सबै कुरा सोधेर भ्याए । उनीहरूको एउटा गुनासो रहेछ, ‘‘कमसेकम मास्टर्स गरेको भए हुने ।’’ जागिर खानुपर्ने, पैसा कमाएको हुनुपर्ने, मास्टर्स पनि सिध्याएको हुनुपर्ने । तीनवर्षमै केके गरेर भ्याउनु ? मलाई लाग्यो, बिहेको उम्मेदवार बन्न पनि चुनावको उम्मेदवार बन्न्नुभन्दा कम गाह्रो होइन रहेछ ।
चैते तुफान जसरी ऊ कोठाभित्र छिरी । स्वाँस्वाँ गर्दै घाँटीवरिपरि लत्रिरहेको कपाललाई कानको पछाडि सिमल्दै उसले हामी सबैलाई एकमुष्ट नमस्कार टत्र्mयाई । उसले मलाई हेरिन या हुन सक्छ मैले थाहा नपाउने गरी एकपटक झुलुक्क हेरी । तर मैले भने ऊ ढोकाबाट वेग बनेर आएदेखि मुसुक्क हाँस्दा र हामीलाई नमस्कार गरेर आफ्नो कोठाभित्र छिर्दासम्म तेर्छो आँखाले हेरिरहेँ । नहेँरु पनि किन, आएकै उसैलाई हेर्न त हो ।
उसको नाम दिया, हुन पनि ऊ दियो जत्तिकै उज्याली थिई । दिनभरिको ड्युटीले थकित भए पनि उसको अनुहार चन्द्रवदनझैँ प्रफुल्ल थियो । दिया हेर्दा निकै निर्दोष थिई । ऊ एप्रोन लगाएरै घरभित्र छिरेकी थिई । हुनसक्छ हतारहतारमा उसले फुकाल्न बिर्सेकी, अथवा हुनसक्छ ऊ आफ्नो परिचय खुलाउन जानीजानी एप्रोन लगाएरै आएकी । जे भए पनि मेरी हुनेवाली नर्स निक्कै राम्री थिई । बरु म भने दाह्रीजुङ्गा झुस्स परेको, कपाल पनि कर्लीको भाइ घर्ली जसरी घुङ्गरिएको । उसलाई पो म कस्तो लाग्ने हुँ खै ? कतै उसलाई म मन परिन भने ? कतै उसलाई इन्जिनियर नै मन पर्दैन भने ? मान्छेको मनोविज्ञान त कसरी बुझ्नु ? मेरो तर्फबाट त ओके भैसकेको थियो । ऊ अब कोठाबाट आँेठमा मुस्कान बोकेर बाहिर निस्कन्छे या हातमा सुई बोकेर, त्यो भने हेर्न बाँकी थियो ।
मेरो नजर एकोहोरो थियो । एकतमासले म दिया छिरेको कोठाको ढोका चियाइरहेको थिएँ । सायद म परीक्षा दिएर बसेको विद्यार्थी हुँ, जो डर अनि कौतूहलसाथ नतिजा पर्खेर बसिरहेको छ । कति कति बेला लाग्थ्यो, कतै म धेरै त सोचिरहेको छैन ? अहिलेसम्म दियाले मलाई राम्ररी हेरेकी छैन, देखेकी पनि छ कि छैन । के यो सोफामा आसीन इन्जिनियर त्यो ढोकाभित्रकी नर्सको लायक बन्न सकुँला त ? के म तिम्रो बन्न सकुँला दिया ?
दिया मुसुक्क मुस्कुराउँदै अनि शिर निहुराउँदै कोठाबाट बाहिर निस्किई, अँध्यारो रातमा बादलभित्रकी चन्द्रमा बाहिर निस्किएजसरी । ऊ निस्कनासाथ जहीँतहीँ उज्यालो भयो, विशेष गरेर मेरो मन ।
दियाले पहेँलो रङको कुर्ती अनि जिन्सको पाइन्ट लगाएकी थिई । कपाल खुला छोडेकी थिई । अनुहारमा गाजल अनि लालीको मधुरो नक्कल पोतेकी थिई । ऊ नजिकै आएर बसी । सायद उसलाई पहिल्यै थाहा थियो, हामी किन र केका निम्ति आएका हौँ ।
हाजिरीजवाफको अरू सबै राउन्ड सकिएपछि र्यापिड फाएर राउन्डका लागि दिया र मलाई एकान्तमा छोडियो । सोचँे, अब प्रश्न अनि उत्तरको दोहोरी चल्ने छ । तर त्यस्तो केही पनि भएन । दियाले मलाई मात्रै एउटा प्रश्न सोधी, ‘‘चुरोट पिउनुहुन्छ ?’’
उसले अफर गरेकी हो या प्रश्न सोधेकी हो, बुझ्न गाह्रो भयो । तर त्यतिबेलाको अवस्था हेर्दा त्यो प्रश्न नै थियो सायद ।
‘‘पिउँदिनँ, किन र ?’’ मैले जवाफ दिएँ ।
‘‘चुरोट नपिउने त इन्जिनियर नै हुँदैनन् भन्ने सुनेकी थिएँ ।’’ उसले सानो आवाजमा भनी ।
‘‘सबैजना कहाँ एउटै हुन्छन् त दिया ?’’ मैले मायालु आवाजमा उसको नाम लिएँ । ऊ लाजले राती भई । लजाउँदा उसका स्याऊजस्ता पोटिला गाला लालीगुराँस जस्ता भए । म डुलिरहेँ, त्यतै कतै, भँमरा बनेर ।
‘‘भनेपछि तपाईँ भिन्नै हुनुहुन्छ ?’’ उसले सोधी ।
‘‘म अरूजस्तो छैन । अनि मलाई अरूजस्तो बन्नु पनि छैन । म तिमीलाई कुनै सिकायतको मौका दिने छैन ।’’ दिया मेरो कुरा सुनेर खुसीले फुरुङ्ग भई । उसले त्यहाँभन्दा धेरै कुरा मलाई सोधिन । यो पनि सोधिन कि मलाई ऊ कस्ती लाग्यो ? नर्सहरू साइकोलोजी बुझ्न खप्पिस हुन्छन् भन्ने सुनेको थिएँ, सायद उसले मेरो मनभित्रको भावना किताब पढेझैँ खररर पढेकी हँुदी हो ।
हाम्रो बिहे भयो । दिया परिणय सुरज । दियाले सुरजलाई पूर्ण बनाउँथ्यो अनि सुरजले दियालाई । दिया यही पूर्णतामा रमाउने सपनामा सुरजको घर आएकी थिई । एउटा इन्जिनियरको घरमा नर्सको प्रवेशले घर दीपावलीझैँ चम्किएको थियो । घरमा एउटी नयाँ सदस्य थपिएकी थिई । उसका लागि भान्छाको डाइनिङ्ग टेबुलमा एउटा नयाँ कुर्सी थपिएको थियो । उसलाई गनेर स्टोरबाट नयाँ थाल, गिलास अनि कचौरा झिकिएको थियो । अब दिया यहीँ बस्छे सधैँभरि, मसँगै, मेरो मनभरि ।
मेरो खाटको आधा भाग अब दियाको, मेरो दराजको आधा भाग अब दियाको, मेरो कोठा अब दियाको पनि, मेरो घर अब दियाको पनि, मेरो मनको सिङ्गो भाग दियाको, मेरा साँझ, बिहान अनि मेरा हरेक हरेक दैनिकी दियाको । अनि साँच्चि ! मेरो रोगको कति भाग दियाको ?
बिहे हुनुअघि मैले दियासँग एउटा महत्त्वपूर्ण कुरा लुकाएको थिएँ । मेरो रोग । हुन त मलाई लाग्छ, मलाई कुनै रोग छैन । कुनै बेला थियो होला, अब छैन । तर ढाँटेको कुरा काटेर मिल्दैन भन्छन्, न त टालेर नै मिल्छ । बिहेको केही दिनपछि मैले दराजभित्र लुकाएको सिसाको एस्ट्रे दियाले भेट्टाई । त्यसलाई उसले बिस्तारै समाई अनि नाकको नजिक लगेर सुँघी । सायद ऊ झसङ्ग भई । हतारहतार भान्छाबाट कुचो लिएर आई अनि खाट र दराजका कुनाकन्दरा चहार्न थाली । उसले त्यहाँ मेरा जिन्दगीका प्रशस्त रित्ता ठुटाहरू भेट्टाई । त्यही बेला उसले थाहा पाई, उसको सुरजभित्र रोशनी होइन, अन्धकारको कालो मुस्लो छ । ऊ थुचुक्क भुइँमा बसी । उसलाई संसार घुमेझैँ लाग्न थाल्यो । आँखाबाट तपतप आँसु हातमा झर्न थाले । उसका हात जहाँ अझै मेहँदीको रङ अनि बास्ना गाढा थियो, लुछुप्प आँसुले भिजे । आँसु पर्नासाथ हातको मेहँदी अझै गाढा देखियो ।
म अफिसबाट फर्किएर कोठाभित्र छिर्दा दिया खाटको डिलमा टुक्रुक्क बसेकी थिई । दुबै खुट्टा जोडेर खुट्टामाथि आफ्नो चिउँडो अड्याई ऊ गहिरो सोचमा डुबेकीजस्ती देखिन्थी । उसका वरिपरि मेरा मेडिकल हिस्ट्रीका फाइलहरू थिए । विभिन्न डाक्टरका छुट्टाछुट्टै मेडिकल प्रेस्किृप्सन । टाउकोको एक्सरे, सिटिस्क्यान, मुटुको इसीजी अनि थुप्रै । मैले हतारहतार ती सबै फाइलहरू सोहोर्दै भनेँ, ‘‘मलाई यस्तो गरेको मन पर्दैन दिया ।’’
‘‘कस्तो गरेको ?’’ उसले टाउको माथि उठाउँदै भनी ।
‘‘मेरा सामानहरू चलाएको । अब आइन्दा मेरा सामानहरू नचलाऊ ।’’ मैले राता आँखा पार्दै भनेँ । दिया सायद चकित परी । बाघ देखेर तर्सेकी हरिणीजस्तै उसका अनुहारमा भय र विस्मयका भावहरू सल्बलाएको मैले अनुभव गरेँ ।
‘‘तपाईंले मलाई झुक्याउनु भयो है ?’’ उसले रुँदै सोधी ।
‘‘मैले केही झुक्याएको छैन दिया । यी डाक्टरहरू अनि मेरा घरका मान्छेहरू सबै पागल हुन् । म खुरुखुरु इन्जिनियरिङ सकेर आफ्नै तरिकाले ‘जब’ गरिरहेको मान्छे । अलिअलि चुरोट पिउँछु, सरी पिउँथेँ, त्यति चाहिँ ढाँटेको हुँ । तर मैले बिहेअघि नै चुरोट पिउन छोडिसकेँ । तिमीलाई भेटेपछि अब मैले आफ्ना सबै नराम्रा बानी छोड्ने प्रण गरेको छु । अरू त मलाई केही पनि भएको छैन ।’’
‘‘त्यसो भए, किन दुई दुई पटक सुसाइड एटेम्प गर्नुभयो ?’’ उसले थरथर काम्दै सोधी ।
म खाटमा थुचुक्क बसेँ । मेरी नर्सलाई एकतमासले हेरिरहेँ । ऊ बर्खाको भेलजसरी रोइरहेकी थिई । म उसलाई के भनेर सम्झाऊँ, के भनेर बुझाऊँ । म आफैँ पनि बुझ्न सकिरहेको छैन । ऊ त मेडिकल फिल्डकी मान्छे । यस्ता कुरा मैले भन्दा राम्रोसँग उसले बुझ्नुपर्ने ।
‘‘बल्ल बुझेँ ।’’ दियाले सुक्सुकाउँदै भनी ।
‘‘के बुझ्यौ दिया ?’’ मैले उसलाई हेर्दै सोेधेँ ।
‘‘हजुरको बुबा मम्मीले नर्स नै किन खोज्नुभएको बुझेँ । उहाँको पागल छोरालाई ठीक बनाउने जिम्मा सुम्पिन । बुढेसकाल लाग्यो, अब कति पछिपछि लाग्नु भनेर, हैन त ? एउटी केटी खोजेर बिहे गरिदिऊँ, बिहेपछि उसैले सम्हाल्छे भनेर हैन त ?’’ दिया चिच्याई ।
‘‘कसलाई पागल भनिस् ?’’ म बसेको ठाउँबाट जुरुक्क उठेँ । मलाई उखर्माउलो गर्मी भयो । मैले सपनामा पनि चिताएको थिइनँ, मेरी नर्सले मलाई पागल भन्छे भनेर । मैले सोचेको थिएँ, मेरी नर्स आएपछि सबै कुरा ठीक हुन्छ । मेरो बोल्ने साथी हुन्छ, राति अँध्यारोमा बर्बराउने साथी हुन्छ । कोही त हुन्छ, जसलाई म मनका कुरा पोख्न सक्छु,, जसले मेरा कुराहरू सुन्नेछ, बुझ्नेछ मेरा भावनाहरू । यी भित्ताहरूलाई पनि के खाँचो, सधैँ सधैँ मेरा कुराहरू सुनिरहन ।
‘‘तिमी घर जाऊ ।’’ मैले भनेँ ।
‘‘घर जाऊ ?’’ दियाले मलाई आँसुले टम्म भरिएका आँखाले हेरी ।
‘‘तिमी आफ्नो घर जाऊ । सायद तिमीलाई मसँग राम्रो लागेन । तिमी फर्क, फर्किन सक्छ्यौ ।’’ मैले भनेँ ।
दिया केही बोलिन, जुरुक्क उठी । उसले पहिलेदेखि नै माइती फर्किनका निम्ति झोला ठिक्क पारेर राखेकी रैछ । बिहे भएको केही दिनमै दिया मलाई छोडेर गई । सायद मैले त्यो सिसाको एस्ट्रे फुटाइदिनु पथ्र्यो, अनि मेरा सबै मेडिकल रिपोर्ट जलाइदिनु पथ्र्यो । मेरा हात थरथर काँप्न थाले । जिउ गलेर फतक्क भयो । आेँठ सुके । नाकबाट पातलो पानीजस्तो सिँगान चुहियो । एकछिनमै दिया उसको सुरजलाई एक्लै पारेर आफ्नो बाटो लागी । दिया अनि सुरजको आधा आधा भाग पर्ने कोठा शून्य भयो, अनि मेरो जीवन पनि चकमन्न र शून्य ! मलाई लाग्यो, मेरो जीवनको नाटकको यो अन्तिम दृश्य हो ।
मैले बिहेपछि चुरोट नपिउने सङ्कल्प लिएको थिएँ । त्यसैले वरपर दराजमा, मेरो पाइन्टको खल्तीमा, मेरो अफिसको ब्यागमा चुरोटको एक खिल्ली पनि थिएन । बाहिर पसलमा गएर एक बट्टा चुरोट किनेँ, एउटा सिङ्गो बोत्तल ह्विस्की पनि किनेँ अनि घरभित्र आएँ । मेरा क्रियाकलाप अलि पर बसेर मेरा बुबाआमा हेरिरहेका थिए, एकनासले, सधैँझैँ मौन अनि चुपचाप ।
‘‘दिया ।’’ म बर्बराएँ । ‘‘दिया आऊ ।’’ फेरि बर्बराएँ । दिया आइन । सायद, मैले बर्बराएको दियाले सुन्दै सुनिन । ‘‘मेरी नर्स, प्लीज मसँग नरिसाऊ । म राम्रो बन्न खोजिरहेँछु, म पहिलेभन्दा राम्रो हुने प्रयासमा छु, तिमी कसरी मलाई छोडेर जान सक्छ्यौ ?’’ माथिको सिलिङ्गतिर हेर्दै मैले भनेँ । सिलिङ्ग बोलेन, दिया पनि बोलिन । मलाई रक्सीले पूरै समातेको थियो, खाटमा उल्टोतिर उत्तानो परेर फर्किएको थिएँ । निदाउन खोजेँ । सधैँझैँ निद्रा लागेन ।
अर्को दिन मैले दियालाई निकै पटक फोन गर्ने प्रयास गरेँ । उसको मोबाइल स्वीचअफ आयो । फेसबुकमा अनि भाइबरमा थुप्रै म्यासेजहरू छोडेँ । तीमध्ये कुनै पनि सिन भएनन् । एक मनले भन्यो, गल्ती मेरै हो । उसलाई सम्झाई बुझाई गरेर राख्नुपथ्र्यो । उसलाई जानै दिनु हुँदैनथ्यो । आफ्नो झनक्क हुने मुड स्वीङ्गलाई काबुमा राख्नुपथ्र्यो । अर्को मनले भन्यो, दिया मेडिकल फिल्डकी मान्छे हो । मेन्टल हेल्थका बारेमा मलाई भन्दा उसलाई धेरै थाहा छ । म एउटा रोगी नै सही, मलाई ठीक पार्नु उसको कर्तव्य र चुनौती दुवै हो । अहिले ऊ रिसाएकी छे, पछि कुरा बुझेर फर्किहाल्छे नि ।
अफसोच, एक हप्तासम्म पनि दिया फर्किन !
दिया गएपछि मेरो हालत फेरि त्यस्तै भयो । चुरोटले कोठा धुँवादार बनाउने, टन्न रक्सी पिउने, केके हो केके बर्बराउने, छिनमै हाँस्न र रुन मन लाग्ने । घन्टौँसम्म केही नबोलेर एकतमासले माथिको सिलिङ्गमा हेरिरहने ! माथिको सिलिङ्गमा पहिले पङ्खा थियो, मसँग पहिलो घटना भएपछि बुबाआमाले पङ्खा हटाइदिनुभएको थियो । दोस्रो घटना भएपछि पर्दा अड्याउने डन्डी पनि कोठाबाट झिकिएको थियो ।
अब दिया नफर्किने पक्कापक्की जस्तै भयो । एक साँझ अफिसबाट घर फर्कने बित्तिकै मैले कोठामा आफूलाई लक गरेँ । निकै बेरसम्म रोइरहेँ । बाहिर आमा अनि बुबा ढोका ढक्ढक्याइरहनुभएको थियो । मनमनै सोचेँ, मसँग मात्रै किन यस्तो हुन्छ ? किन म अरूजस्तै सामान्य जीवन जिउन सकिरहेको छैन ? किन म अरूजस्तो हुन सकिरहेको छैन ? किन लाग्छ, मेरै जीवनमा मात्र भएभरका दुःखैदुःख छन् ? किन आफूलाई संसारकै दुःखी मान्छे लाग्छ ? शरीरमा त्यस्तो रोग केही पनि छैन । न क्यान्सर भएको छ, न मलाई चोटपटक नै लागेको छ, न मेरा शरीरका अङ्ग अशक्त छन् । फेरि किन र कसरी रोगी छु म ? किन कहिल्यै खुसी हुन सक्तिनँ म ? किन मन बहकिइरहन्छ ? किन हावाझैँ हलुको अनि सस्तो लाग्छ आफ्नै जीवन ? किन जीवन यतिसम्म निराश लाग्छ मलाई ?
जीवन प्रश्नै प्रश्नमा अल्झियो । दिया, तिमी उत्तर बनेर आउँछ्यौ कि सोचेँ । आउन त आयौ, तर केही उत्तर नदिएरै गइदियौ । अझ यसो भनौँ, मेरा प्रश्नहरू धैयपूर्वक सुनेर तिनको अर्थ नै बुझ्न खोजिनौ तिमीले । अब जिउनुको के अर्थ, बाँच्नुको के अर्थ ? जीवन अन्त्य गर्ने मनसाय योभन्दा पहिले पनि नआएको होइन । बिर्सिएँ, त्यतिबेला कारण के थियो अनि किन थियो ? यसपालि कारण तिमी भयौ दिया । तिमी मसँगै हुन्थ्यौ त जिन्दगी अर्कै हुन्थ्यो कि ?
स्लिपिङ्ग ट्याबलेटको एक बट्टा हातभरि खन्याएँ । आजसम्म त मलाई यसले निदाउन दिएको छैन, हेरौँ आज के गर्छ ? मुट्ठीभरिका सेता चक्कीलाई मुखभित्र हाल्नै आँटेको थिएँ, ढोकाबाहिर आवाज सुनियो, ‘‘प्लीज ढोका खोल्नुस् न ।’’
के यो मेरी दियाको आवाज हो ? के मेरी दिया फर्किई ? के मेरी दिया मेरा लागि फर्किई ?
‘‘प्लीज खोल्नुस् न, म आइसकेँ ।’’ दियाको रुन्चे आवाज सुनियो । हतारहतार ढोका खोलेँ । दिया आँधीझैँ कोठाभित्र छिरी अनि मेरो हात च्याप्प समाई । मुठ्ठीभरिका औषधी भुइँभरि छरिए । मलाई मुख खोल्न लगाई । मुखमा केही पनि थिएन । लामो सास फेरेर गालामा दुख्ने गरी एक थप्पड हिर्काई । सायद उसले मेरो म्यासेज पढिछ ।
‘‘यस्तो पढेलेखेको इन्जिनियर जस्तो मान्छे भएर यस्तो काम गर्न लाज लागेन ?’’ दियाको थप्पडले गाला रनक्क रन्कियो । सन्चो भयो ।
‘‘कसले फर्कायो त दिया तिमीलाई यसरी ?’’ मैले आश्चर्यभावमै प्रश्न गरेँ ।
‘‘यहाँबाट गएपछि आफैसँग निर्ममतापूर्वक लडेँ । अन्त्यमा मभित्रकी नर्सले जिती ।’’ उसले भनी ।
त्यस रात दियाले मलाई उसको काखमा चपक्क च्यापेर सुती । रातभर न म निदाउन सकेँ, न त दिया नै । मेरो ओँठमा बिस्तारै चुम्दै दियाले सोधी, ‘‘हजुरलाई राति निद्रा लाग्दैन हो, कहिल्यै ?’’
‘‘अहँ, खै निदाउनै सक्तिनँ ।’’ मेरो कुराले दिया एकछिनसम्म मौन बनी, केही बोलिन ।
अर्को दिन दियाले मलाई एकाबिहानै उठाई । अझै उज्यालो भएको थिएन । भर्खर–भर्खर निद्रा पर्न थालेको थियो । ‘‘अबदेखि चाँडो सुत्ने अनि चाँडो उठ्ने’’ उसले भनी । जाडो थियो । ट्राउजर र स्वीटर ठीक्क पारिदिई । आफू पनि तयार भई अनि मलाई मर्निङ वाकमा लिएर गई । वाकमा उसले मलाई मेन्टल हेल्थबारे थुप्रै कुराहरू सिकाई । कसरी मस्तिष्कलाई सन्तुलनमा ल्याउने, कसरी नकारात्मक विचारहरू हटाएर सिर्जनात्मक र सकारात्मक कुरामा ध्यान दिने । मेन्टल र फिजिकल हेल्थ कसरी सम्बन्धित छन्, आदि आदि ।
घर आएर पनि एक घण्टासम्म योग गर्न लगाई । मसँगसँगै आफूले पनि गरी । ओम मन्त्रको लयबद्ध उच्चारण, लामो सास तान्ने अनि बिस्तारै छोड्ने प्राणायाम क्रिया । ऊ भन्थी, योगले शरीरमा ऊर्जा प्रदान गर्छ । शारीरिक अनि मानसिक शक्तिको विकास गर्छ । अफिसमा हुँदा पनि ऊ दिनमा तीनचार पटक फोन गर्थी अनि हालखबर सोध्थी । म उसलाई हाँस्दै जवाफ दिन्थेँ, ‘‘अरू त त्यस्तै हो, कुन बेला घर फर्किऊँ जस्तो हुन्छ ।’’
दिया मसँग बसेर फिल्महरू हेर्थी । जीवनोपयोगी र जीवन जिउने कला सिकाउने फिल्महरू । ऊ मलाई शास्त्रीय सङगीत सुन्न प्रेरित गर्थी अनि शिक्षा र प्रेरणाप्रद उपन्यासहरू किनेर ल्याइदिन्थी । उपन्यासभित्रका जीवन्त पाठहरू ऊ आफ्नै मुखारबिन्दबाट बच्चालाई लोरी गाएजसरी सुनाउँथी । बिदाको दिन दिया मलाई कतै न कतै लिएर जान्थी । कहिले कुनै रिसोर्ट, कहिले हाइकिङ्ग । दिया र मैले एकैपटक बन्जी जम्पिङ्ग र प्याराग्लाइडिङ्ग गर्यौं । मुस्ताङको मुक्तिनाथमा पुगेर तातो चिया पियौँ, रारातालको चिसो पानीले एकअर्कालाई छ्यापाछ्याप गर्यौं । जीवन जिउन केही पनि चाहिँदैन, बस् कसैको साथ, कसैको हात होस्, जीवन सजिलैसँग कट्छ, कट्ने रहेछ ।
दिया मलाई चुरोट पिउनबाट सकेसम्म रोक्न खोज्थी । अफिसबाट फर्किएपछि ऊ मेरा लुगा, हात, मुख सबै सुङ्थी । कहिलेकहीँ चुरोटको असाध्यै तलतल हुँदा दिया आफैँ लुकेर पसलसम्म पुग्थी अनि चुरोटको एउटा खिल्ली ल्याउँथी । ऊ पनि मसँग बसेर पिउन खोज्थी । लाग्थ्यो, ऊ मलाई आफूभित्र आत्मसात् गरिरहेकी छे । आफूलाई मजस्तै र मलाई आफूजस्तै बनाउन खोजिरहेकी छे । जीवनको एउटा सुन्दर पाठ मलाई घोकाइरहेकी छे । म उसको प्रयत्नको सुन्दरता अनुभव गरेर भावविभोर भैरहेको थिएँ ।
उसलाई चुरोट तान्न आउँदैनथ्यो, बिचरी आओस् पनि कसरी ? हरेकचोटि ऊ नमज्जाले खोक्थी अनि मुख बिगार्थी । म उसलाई हेर्दै हाँस्थेँ । ह्विस्की र बियर ऊ मलाई पिउन दिन्नथी । बिदाको दिन ऊ आफै झोलामा रेड वाइन लुकाएर ल्याउँथी अनि बुबाआमाले नदेख्ने गरी खुसुक्क कोठाको दराजभित्र लुकाउँथी । राति ‘फ्रेन्डस्’ अनि ‘हाउ आई मेट योर मदर’जस्ता सिरिज हेर्दै मसँग रेडवाइनको चुस्की लगाउँथी ।
‘‘हजुरका निम्ति म आफ्नो हेल्थ दाउमा लगाउँदै छु । होप, हजुरले यी सबै कुराहरू छिट्टै छोड्नु हुनेछ ।’’ दिया भन्थी । म यी नशाहरू त्याग्ने भरमग्दुर प्रयासमा थिएँ । ममा अब अरू नशाको तलतल क्रमशः हराउँदै गएको थियो र दिया नै मेरो नशा बन्दै थिई । दियाले अनुभव गराउँदै थिई, जिन्दगीको अर्को पाटो पनि त छ ।
एकदिन राति पिउँदा पिउँदै उसले मेरा हात आफ्नो पेटमा राखिदिई अनि आँखा झिमिक्क पारी । ‘‘मिस्टर इन्जिनियर, छिट्टै जुनियर इन्जिनियर आउँदैछ । अब यस्तो गर्न नपाइएला कि ?’’ मेरा आँखा खुसीले टम्म भरिए । मुखमा अडिएको चुरोटलाई हातमा समातेँ अनि झ्याल बाहिर मिल्काइदिएँ । बिस्तारै मेरी नर्सको हात समाएँ अनि उसलाई आफ्नो काखमा राखेँ । उसको टाउकोमा हात राख्दै मैले भनेँ, ‘‘अब म यी बिना बाँच्न सक्ने भइसकेँ । तिमीले मेरो निक्कै ख्याल गर्यौ, अब मेरो पालो ।’’ दिया एकदमै खुसी भई अनि मलाई जोडले अङ्कमाल गरी । त्यो दिन हामी सबैभन्दा धेरै खुसी भएको दिन थियो ।
दियाले भनेजस्तो जुनियर इन्जिनियर आएन, बरु मैले भनेजस्तो लिटल नर्स घरमा भित्रिई । सुदीप्ति, हाम्री सानी नर्सको नाम । दियाले भन्ने गर्थी, आफूलाई बिजी राख्नुहोस्, थोरै साथी बनाउनुहोस् तर भरपर्दो बनाउनुहोस् । संसारमा सबै माया गर्ने मान्छे हुँदैनन्, तर सबै रिस गर्ने, कुभलो चिताउने पनि हुँदैनन् । आफ्ना मान्छेसँग घुलमिल गर्नुहोस्, मनका कुरा सुनाउन नहिच्किचाउनुहोस् । हुन पनि मेरा हरेक अनिँदा रातहरूमा दिया जागेकी छ, मेरा एकएक कुराहरू सुनेकी छ । मस्तिष्कलाई आफ्नो वशमा ल्याउन सकिने रैछ, अवश्यकता पर्दो रहेछ त केवल कसैको साथ, मीठो अनि न्यानो साथ ।
इन्जिनियर र नर्सको एउटा फरक । म सधैँ हँसिला मान्छेहरूलाई भेट्छु, टन्न पैसा भएका, बल स्फूर्ति भएका, पैसा खर्च गर्न चाहने मान्छेहरू । दिया अस्पतालमा रोगले भरिएका मान्छेहरू भेट्छे । ऊ हरेक प्रकारका मान्छेहरूलाई सम्हाल्छे, बच्चा, बूढा, युवक, युवती, घाइते, अपराधी । कहिले ऊ खुसी हुँदै घर फर्कन्छे अनि मलाई दिनभरिका घटनाहरू सुनाउँछे । कहिले निन्याउरो भएर आउँछे अनि एक्लै टोलाएजस्तो गर्छे । उसका पाइतालाले कहिले रगत कुल्चिछन्, कहिले र्याल, खकार अनि कहिले आसुँ । उसले कुल्चेका ती तरलहरुले उसमा पनि तरङ्ग ल्याइदिन्छ कहिलेकाहीँ । आजकल त मैले पो सम्झाउँन पर्ने हुन्छ दियालाई ।
एउटा इन्जिनियरलाई जति नर्सको स्याहार अनि माया चाहिन्छ, त्यति नै एउटी नर्सलाई एउटा इन्जिनियरको प्रेम चाहिने हुन्छ । मान्छेहरू भन्छन्– इन्जिनियर र नर्सको जोडी एकदमै सुहाउँछ । लाग्छ, उनीेहरू सुरज अनि दियालाई भनिरहेका छन् ।
मेरी प्यारी दिया, म खासै लेख्न जान्ने मान्छे त होइन । तर तिमीले भनेजस्तै सिर्जनात्मक कुराहरूमा आजकाल यो लेखन पनि पर्न थालेको छ । डियर नर्स, तिमीलाई पाँचौँ एनिभर्सरीको धेरै धेरै शुभकामना । जीवनका उकाली–ओराली, घामछाया, आँधीहुरी सबै सबैमा तिमीलेजस्तै गरी तिमीलाई एकनासले साथ दिन सकूँ ।
तिम्रो छोरीको बाबा । तिम्रो इन्जिनियर ।
बाह्रखरीबाट साभार