एजेन्सी। बलिउड सुपरस्टार अमिताभ बच्चनका छोरा अभिषेकले आफ्नो मेहनतबाट इन्डस्ट्रीमा अलग स्थान बनाएका छन् । ‘धूम, बन्टी और बबली, युवा’ जस्ता फिल्ममा काम गरेर दर्शकको मन जितेका उनी शुक्रवार ४५औं जन्मदिन मनाउँदैछन् । उनको ५ फेब्रअरी १९७६ मा मुम्बईमा भएको थियो । सन् २००० मा आएको फिल्म ‘रिफ्यूजी’ बाट उनले बलिउडमा आफ्नो पाइला राखेका थिए ।
यो फिल्मबाट निकै तारिफ बटुलेका उनले आफ्नो पिताको जस्तो सफलता हात पार्न भने सकेका छैनन् । करिअरको सुरुवाती समयमा उनका प्रायः सबै फिल्म फ्लप थिए । एक पटक त अभिषेकको खराब अभिनयलाई देखेर अमिताभ बच्चनका फ्यानले थप्पड समेत हानेका छन् । तर, अभिषेकले आफ्नो करिअरमा केही यस्ता फिल्ममा काम गरेका छन्, जुन हेर्न लायक छन् ।
यी हुन् अभिषेक बच्चनले अभिनय गरेका ५ उत्कृष्ट फिल्म :-
गुरु
निर्देशक मणिरत्नमको फिल्म ‘गुरु’ धीरुभाई अम्बानीबाट प्रेरित थियो । यो फिल्ममा अभिषेक बच्चनसँगै अभिनेत्री ऐश्वर्या राय बच्चनले दमदार अभिनय गरेका थिए । फिल्म बक्सअफिसमा औसत हिट भएको थियो तर यसलाई बलिउडको सम्झनलायक फिल्ममध्ये एक मानिन्छ ।
बन्टी और बबली
फिल्म ‘बन्टी और बबली’ को हिट गीत ‘कजरारे कजरारे’ त तपाईंहरु सबैलाई याद नै होला, यो गीत अमिताभ, अभिषेक र ऐश्वर्यामाथि फिल्मांकन गरिएको थियो । दर्शकले गीतसँगै फिल्म पनि निकै मन पराएका थिए । फिल्ममा अभिषेक बच्चन र रानी मुखर्जीको जोडीलाई अत्यन्त रुचाइएको थियो । यो फिल्म अभिषेकको करिअरको उत्कृष्ट फिल्ममध्ये एक मानिन्छ ।
युवा
यो फिल्मलाई ‘गुरु’ फेम्ड निर्देशक मणिरत्नमले निर्देशन गरेका हुन् । फिल्ममा अभिषेकको अभिनय क्षमताको निकै प्रशंसा भएको थियो । उनी यो फिल्ममा नकारात्मक भूमिकामा थिए ।
सरकार
निर्देशक राम गोपाल वर्माको सुपरहिट फिल्ममध्ये एक ‘सरकार’ बाल ठाकरेबाट प्रेरित थियो । फिल्ममा अमिताभ बच्चन सरकार बनेका थिए भने अभिषेकले उनको छोरा शंकर नागरेको भूमिका निर्वाह गरेका थिए । फिल्ममा अभिषेकले जबरजस्त अभिनय गरेका थिए । यो फिल्मबाट उनले बेस्ट सपोर्टिङ एक्टरको फिल्मफेयर अवार्ड पनि पाएका थिए ।
मनमर्जिया
निर्देशक अनुराग कश्यपको फिल्म ‘मनमर्जिया’ मा अभिषेकले एक बैंकरको भूमिका निर्वाह गरेका थिए । रोमान्टिक प्लाटमा आधारित यो फिल्ममा उनको अभिनयको निकै तारिफ भएको थियो । फिल्ममा तापसी पन्नू र विक्की कौशल को पनि मुख्य भूमिका थियो ।