काठमाडौं ।नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामाको परिचयका विभिन्न आयाम छन् । नेपाली फिल्ममा आफ्नो अभिनयको माध्यमबाट बेग्लै पहिचान बनाएका उनी गायक समेत हुन् । सामाजिक मुद्धामा निर्भिक र स्पष्ट रुपमा आफ्नो भनाई राख्ने भएकाले धेरैले उनलाई सामाजिक अभियान्ता पनि भन्ने गरेका छन् । एक समय उनले टेलिभिजनमा कार्यक्रम पनि सञ्चालन गर्दथे । तीन दशकभन्दा लामो समयदेखि अभिनयमा सक्रिय रहेका उनले एक समय फिल्म क्षेत्रमा मौलाएको गुट, उपगुटले आफू अभिनयबाट टाढिने सोचमा समेत पुगेको बताएका छन् । मंगलवार ‘गोर्खा वारियर २’ को घोषणा सभामा उनले भने- ‘कलाकारिता एउटा नशा जस्तो रहेछ । तर, यहाँ गुट र खेमाहरु एकआपसमा भिडेको देख्दा कलाकारितामा अब पुग्यो भन्ने लागेको थियो ।’
‘हामी त त्यो समयमा आएका कलाकार हौं, त्यसबेला तीन वर्षमा बल्ल बल्ल एउटा फिल्म बन्थ्यो । एउटै हलमा एउटा फिल्म ६ सय दिनसम्म चल्थ्यो । हामी भाग्यमानी यस अर्थमा पनि हौं,’ उनले अगाडि भने- ‘सबैभन्दा सानो उमेरमा फिल्मलाई काँधमा बोकेर हिँड्ने कलाकार सम्भवत: म नै हुँला । १८ वर्षको उमेरमा पहिलो फिल्ममा नै मैले नायकको भूमिकामा काम गरेको थिएँ ।’ एक समय आफूलाई फिल्म क्षेत्रका व्यक्तिले विर्सिसकेको पनि उनले गुनासो पोखे । ‘लण्डनमा ‘एभरेष्ट’ फिल्मको सुटिङको बेला ‘हँसिया’ फिल्मको प्रिमियरमा मलाई मिलन भाईले बोलाउनुभएको थियो । त्यसबेला मलाई फिल्म क्षेत्रका व्यक्तिहरुले विर्सिसकेका थिए । म नेपाली फिल्मको अंग हो कि होइन भन्ने पनि थाहा थिएन । यो मैले कसैप्रति गुनासो पोखेको चाहिँ होइन,’ उनले भने । नेपाली फिल्मका कुनै पनि कलाकारलाई भविष्यमा कसैले आफूलाई जस्तो व्यवहार नगर्न उनको आग्रह छ । उनले आफू आजीवन कलाकार भएर बसेको बताए । कलाकार लामाले निर्देशक मिलन चाम्सको फिल्ममा अनुहार देखाउन मात्र भए पनि आफू तयार हुने बताएका छन् । उनले मिलनको नयाँ फिल्म ‘गोर्खा वारियर २’ मा गोर्खाली सैनिकको भूमिका निर्वाह गर्देछन् ।