- रामदेव पाण्डे
कुरकुरे बिस्कुट र चाउमिन चाउचाउ
प्यारा सँगी साथी यस्तो खाजा नखाऊ
दालमोठ पिज्जा बर्गर पत्रु खाजा हो अरे
स्वास्थ्य हाम्राे बिग्रिन्छ है ख्याल नगरे
भटमास चना मकै स्वस्थ खाजा मानियो
नजानेर दुःख पाइयो बल्ल जानियो
परौठा र सुकारोटी फलफूल तरकारी
सबैभन्दा राम्रो खाजा भयो जानकारी
पौष्टिकता विज्ञले नै यति कुरा माने रे
अन्डा माछा मासु पनि खाऊ खानेले
बजारको खाजाको त छैन अरे केही काम
त्योभन्दा त स्वस्थकर घरको भुटीमाम
न त पेट दुखाउने पच्ने बडो मजाले
कहिल्यै क्षति पुर्याउँदैन घरको खाजाले
कुरकुरे बिस्कुट र चाउमिन चाउचाउ
प्यारा सँगी साथी यस्ताे खाजा नखाऊ !