ब्रह्माण्डको गतिहरूमा
जिउनुको अस्तित्वहरूमा
सुरभि हराभरा बनाउने
भावप्रबल आकांक्षाहरूमा
भरेर कोख मातृत्वको
सहेर पीडा गर्भाधानको
सुम्पेर काख स्नेहको
आँखाहरूलाई दुनियाँ देखाउँदै
गौँडो र गल्छेडोहरूमा हिडाउँदै
रहरहरूमा डोर्याउँदै र उकाल्दै
ग्रीष्मकालीन तापको छहारीसरि
रूख बनेर ओत लगाउँदै
या उखुम गर्मीहरूमा
शीताद्रि बनेर पवन बहाउँदै
श्रेष्ठ मनुष्यको सपना सजाउने
नारी
ती आमा हुन् ।
टेकेर पराइ थाँतीमा
बगाएर पसिना मेलापातहरूमा
बोकेर भारी पिठ्यूँहरूमा
सेकाएर रोटी अँगेनामा
मारेर डुबुल्की प्याराका आनन्दमा
जिन्दगी साटेर समर्पणहरूमा
सजाएर सौभाग्य सिउँदोहरूमा
गाएर गीत पिरती-भाकाहरूमा
खुसी भित्र्याउने
नारी
ती पत्नी हुन् ।
फोरेर ओखर पत्थरहरूमा
घुमाएर दियो सिरिस्थानहरूमा
छरेर लावा क्षितिवृत्तमा
लगाएर सप्तरङ्गी टीका निधारहरूमा
पहिर्याएर माला गुरदौलीको गलाहरूमा
वाधा र व्यवधान धपाउने
रोग र व्याधि हटाउने
लामो आयुको मनोकाङ्क्षा
देवताका दलिनसम्म पुर्याउने
दु:खहरूमा आँखा रसाउने
खुसी देखेरै अघाउने
नारी
ती दिदी र बहिनी हुन् ।
लाडिएर काखभरि आमाको
फुलेर बगैँचाभरि बाबाको
लुटपुटिएर छातीभरि हजुरबाको
कुदेर आँगनभरि माइतीको
दौडेर चौरहरूमा गाउँघरको
डुलेर पार्कहरूमा सहरको
आकाशको सेतो बादलझैँ
निर्बन्ध उडिरहने
नारी
ती छोरी हुन् ।
तर एउटा प्रश्नले बारम्बार
मस्तिष्क बेसरी खल्बल्याइरहेको छ
मखुण्डो उत्रिने गरी
समाज हल्लाइरहेको छ
नमेटिने दाग बनेर
मानवता धमिल्याइरहेको छ
ए सभ्यता !
तैँले जवाफ दिन सक्छस् ?
धिमान जङ्गलका बीचमा
लहरू नदीका किनारमा
निर्वस्त्र लुटिएर
सीमान्त पीडा सहँदै
बलात्कृत भएर
रगतका आहालमा मृत्युवरण गर्ने
नारी
ती को हुन् ?
रचना-अवधि: २०७७/०६/२२