तिमी बहन्छ्यौ भनेर हावाहरूमा
सल्लीकुसुमहरूसँग खेल्दै थिएँ
तिमी पौडन्छ्यौ भनेर समुन्द्रमा
छालहरूसँग सुसेल्दै थिएँ
तिमी खिल्दछ्यौ भनेर वसन्तमा
पालुवा बनेर पलाउँदै थिएँ
तिमी फल्दछ्यौ भनेर वृक्षहरूमा
बीज अंगूरको बनेर उम्रदै थिएँ
तिमी लुकेकी छ्यौ भनेर अन्धकारमा
रश्मि सूर्यको बनेर उदाउँदै थिएँ
तर,वनपाखा अँगालेर आलिङ्गनमा
जीवन रोजेर टाढा कतै एकान्तको
उल्झन तोडेर बैगुनी उच्छवासहरूको
ए सखी हरायौ तिमी कता ?
तिमी चिप्लिरहन्छ्यौ
जस्तो माछा हातबाट चिप्लने गर्छ
तिमी बदलिरहन्छ्यौ
जस्तो पर्वत त्यो उलुरु बदलिने गर्छ
तिमी हराइरहन्छ्यौ
जस्तो एक प्रेमिल मन हराउने गर्छ
सहर भएन सायद तिमीले सोचेको
प्रहर आएन सायद तिमीले खोजेको
मनको दलिन गोबरले पोतिएन कि?
निश्छल आँखामा सपना सजिएन कि ?
अणुले ब्रह्माण्ड हल्लाउँदा मुटुको मान्छेलाई छोयौ रे
सृष्टिको दाउपेच देखेर तिमी खुब रोयौ रे
ठेलिने भीँडहरूमा हिँड्नुको के अर्थ भनेर
मृत्युका सडकहरूमा गुड्नुको के अर्थ भनेर
तिमी भीरहरूमा डुल्न गएकी छ्यौ रे
वन र पाखाहरूमा फुल्न गएकी छ्यौ रे
खोजिरहेछु तिमी हिँडेका गोरेटाहरू
जहाँ तिम्रा पाइतालाका डोबहरू हुन्
हेर्न चाहेको छु त्यो अपूर्व दिव्यता
जसका गालाहरूमा राता कार्नेसन फुलेका हुन्
पहाडमा छ्यौ कि मैदानमा छ्यौ ?
नदीसँग छ्यौ कि झीलसँग छ्यौ ?
अर्नासँग छ्यौ कि जुरेलीसँग छ्यौ ?
तारासँग छ्यौ कि फूलसँग छ्यौ ?
ए सखी हरायौ तिमी कता ?
मनभरि कौतुकता छन्
रोकिएर सास किन विषाक्त बन्दैछ यहाँ ?
पल्टेर युग किन सभ्यता छल्दैछ यहाँ ?
चुलिएर विश्वासघात किन आस्था ढल्दैछ यहाँ ?
ढल्केर पिँढी किन विरासत भुल्दैछ यहाँ ?
सेरिएँ ईर्ष्याहरूबाट सताइएँ तृष्णाहरूबाट
बौरिएँ बेहोसीबाट ब्युझिएँ निद्राहरूबाट
म त्यही चाहन्छु
जुन पथ तिमीले पकडिरहेकी छ्यौ
जुन अरुणिमा तिमीले नियालिरहेकी छ्यौ
हिउँहरूमा छ्यौ भने हिउँचुलीमा आउँछु म
शीतहरूमा छ्यौ भने प्रभातहरूमा आउँछु म
वर्षातहरूमा छ्यौ भने बादलहरूमा आउँछु म
भन न ए सखी हरायौ तिमी कता ?