साहित्यको एउटा महत्त्वपूर्ण विधा आख्यान अन्तरगत रहेको कथाले व्यापकता र लोकप्रियता आर्जन गरिसकेको छ । मानवजीवनका कुनै एक पक्षको जीवन्त चित्रणले भावकका स्वानुभूति पाउँछ कथात्मक आलोकभित्र । कथामा घटना, परिवेश र पात्रलाई उपयुक्त ढङ्गले समायोजन गर्दै/गराउँदै उद्देश्य अनुरूप सन्देश प्रकटीकरण गरिनु यसको ध्येय रहन्छ । कथाकारले कथाका संरचक घटकहरूलाई प्रयोग गर्नु अनिवार्य नै मानिन्छ, यो पनि निकै सावधानी र कुशलतापूर्वक । अन्यथा कथा, कथा नभएर सोझो गफमा परिणत हुन पुग्दछ । यहीँबाट आकारको कथालाई अकथा भन्नुपर्ने स्थिति सिर्जना हुन पुग्दछ । कथा, कथा नरहेर गफ, कुराकानी एवं वर्णन हुन जान्छ यस्तो भएको खण्डमा । कथाका पात्रलाई लेखकीय विचारको भारी बोकाउँदा कथा स्वभाविकताबाट विषयान्तर हुँदै हल्का निबन्धतिर ढल्कने खतरा पनि त्यत्तिकै रहन्छ । लेखकीय अहंले थिचेर हुँदैन दार्शनिक बिल्ला भिराउनु पनि । यसर्थ पनि कथा सिद्धान्तमा कथाकार निकै सचेत रहनु आवश्यक हुन पुग्छ ।
कथालाई अर्थ्याउने क्रममा कालखण्ड विशेष विविध परिभाषामा बाँध्ने प्रयास गरेको पाइन्छ । स्रष्टा/द्रष्टा सबैका आआफ्ना दृष्टिकोण र परिभाषा पाइन्छन् । सबै परिभाषालाई निष्कर्षमा लिने हो भने जीवनको कुनै एक पक्षको आख्यानात्मक कलात्मक प्रस्तुति नै कथा हो । कथा, पूर्ण, सरल, स्वभाविक र रुचिकर हुन्छ, हुनु पर्छ । सांसारिक हरेक जीवांशको सानो होस् वा ठूलो फराक होस् वा साँघुरो कथा हुन्छ नै । जब कथा सकिन्छ त्यो बेलादेखि ती ती अंशका जीवन पनि समाप्त हुन्छन् दृश्यजगत्बाट । कथा जीवांशसँगै हिँडिरहेको हुन्छ । सभ्यताको मिर्मिरे बेलादेखि नै कथा प्रारम्भ भएको हो । दुःखसुखका कथा, व्यथापीरका कथा तर ती त्यस समय अव्यक्त थिए होलान् । भाषाको विकाससँगै कथा पनि श्रुति परम्परामा सर्दै आयो । विभिन्न काल, समय र परिवेशका मोडप्रतिमोड पार गर्दै वाद, धारा र प्रवृत्ति हुँदै यसले आधुनिकताका पाइला टुक्टुकाएको पाइन्छ ।
नेपाली कथासाहित्य पनि अहिले व्यापक र विस्तृत बन्दै गएको छ । शारदा पत्रिकाको माध्यमबाट गुरुप्रसाद मैनालीमा आएर नेपाली कथाले आधुनिकतामा प्रवेश गर्ने सुअवसर प्राप्त गर्यो नासो कथासँगै । आदर्शोन्मुख यथार्थवादी अवधारणामा लेखिएको नासो नयाँ र जीवन्त स्वरूपमा देखियो । मैनालीसँगसँगै विश्वेश्वरप्रसाद कोइराला, पुष्करशमशेरजस्ता कथाकारहरू यौनमनोविश्लेषण र तार्किक शक्तिका उपज भएर देखा परे । समका दार्शनिकताले भरिएका कथा सिर्जनाले नेपाली कथाको प्रथम प्रहरमै निकै विकसित हुने अवसर पायो । नेपाली कथासाहित्यमा यो ठूलो प्राप्ति थियो ।
भवानी भिक्षु, गोविन्दबहादुर गोठाले, विजय मल्ल र रमेश विकलजस्ता विशिष्ट कथाकारहरूका कथाले नितान्त नयाँ र नवीनतम् मोडहरू देखाउँदै आए । इन्द्रबहादुर राई, शिवकुमार राई, पोषण पाण्डे, दौलतविक्रम विष्ट र केशवराज पिँडालीहरूका विभिन्न प्रवृत्तिमा कथा देखिए, लेखिए । पारिजात शून्य र निःसारतामा रमाइन् । ध्रुवचन्द्र गौतम विविध नयाँ प्रयोगका कथालेखनमा उदाए । सनत रेग्मी, भाउपन्थी र विजय चालिसे आदिले कथासाहित्यमा सक्रियता देखाउँदै निरन्तर लागिरहे । लगातार यसरी नै कथामा कथाकारहरूका आकर्षण बढ्दै गए । यिनैमध्ये एक पछिल्लो धारमा सशक्त रूपले कलम चलाइरहेका कथाकार हुन् बाजुराम पौडेल ।
बाजुराम पौडेलको विषयमा भन्नुपर्दा उनका सिर्जनात्मक कथाकारिताका फाँटहरू पछिल्ला पिँढीलाई उत्प्रेरक बन्न सफल देखिन्छन् । कविता मात्र वाचन हुने र कथाले कतै बाहिरिने ठाउँ नपाइरहेका सन्दर्भमा उनकै सक्रियताले आख्यान वाचन गराउँने उद्देश्यका साथ सुरभि साहित्य प्रतिष्ठानको स्थापना भयो । हरेक महिनाको तेस्रो शनिबार जोरपाटीमा नियमित आख्यान वाचन गर्ने प्रारम्भको– परम्पराको शुरुआत गरेर महत्त्वपूर्ण कार्य यिनले गरेका छन् । नियमित आख्यान वाचन गर्ने नेपालको पहिलो साहित्यिक संस्था हो सुरभि साहित्य प्रतिष्ठान । यस प्रष्ठिानबाट आख्यान साहित्यको उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्याउने स्रष्टाहरूलाई हरेक वर्ष सम्मानित र पुरस्कृत गरिन्छ । यसरी बाजुराम आख्यान साहित्यका उत्प्रेरक व्यक्तित्व बन्न पनि सहज रूपले सफल भएका छन् । उनको साहित्यिक योगदानको कदरस्वरूप उनी विभिन्न सङ्घसंस्थाबाट सम्मानित, पुरस्कृत र अभिनन्दित समेत भइसकेका छन् ।
बाजुराम पौडेलको लेखनयात्रा तीसको दशकबाट शुरु भएको हो । कवितालेखनबाट आरम्भ भएको उनको लेखनयात्रा निरन्तर अघि बढिरहेको पाइन्छ । ‘सिर्जना फस्टाउनु पर्छ ’उनको पहिलो प्रकाशित खण्डकाव्य हो । २०५१ सालमा प्रकाशित भएपछि झन्डै डेढदशक उनी कृति प्रकाशन नगरी अध्ययन र साधनामा बिताउँछन् । परिपक्व बन्दै विभिन्न विधाका कृतिहरू प्रकाशमा ल्याउँछन् । फुट्कर कवितादेखि खण्डकाव्य हुँदै उनी महाकाव्यमा समेत अग्रसर भएर कृति प्रकाशन गर्न पुग्छन् । जीवन र जगत्का अमिल्दा र अप्ठेरा परिस्थितिका शल्यक्रिया गर्दै सुधारात्मक सन्देशको प्रवाह छर्न पुग्छन् । उनी आफ्ना काव्यलेखनमा कुशल शिल्पीका रूपमा उदाउँछन् । जीवनी, निबन्ध र स्रष्टा परिचय अनि संस्मरणमा पनि उनी सबल देखिन्छन् । अहिलेसम्म मात्र पनि उनका पन्ध्रवटा कृति प्रकाशित भइसकेका छन् ।
प्रस्तुत कथा सङ्ग्रह उनको सोह्रौँ कृतिका रूपमा आउँदै गरेको छ । यसमा बाजुराम पौडेल अझ बढी परिष्कारका साथ प्रस्तुत भएका छन् । पाँचपाँचवटा उपन्यास ग्रन्थ प्रकाशनमा ल्याइसकेका बाजुराम कथाभित्र मानिसका अन्तरङ्ग केलाउन डुबुल्की मार्छन् । प्रत्येक कथाले समस्याको उत्खनन् गर्दै सुधारात्मक सन्देश प्रवाह गरेका छन् । उनको यस सङ्ग्रहमा तेह्रवटा कथा समाविष्ट छन् । यसभित्रका मध्ये पहिलो कथा ‘आफ्नै कथा सुनाइरहेकी उनी’मा कथाकार आफ्नै कथा सुनाइरहेका छन् । एउटी वृद्धा नारीलाई पात्राका रूपमा उभ्याइएको छ । समाज अत्यन्त व्यक्तिकेन्द्रित, स्वार्थकेन्द्रित भएकाप्रति यसमा चिन्ता प्रकट गरिएको छ । नेपालको गौरवमय इतिहास बिर्सिंदै गएको देखेर यहाँकी पात्रा अमरसिंह थापाको इतिहास पढ्न सल्लाह दिन्छिन् । देशभक्तिका लागि आह्वानसमेत गरिरहेकी छिन् ।
पहिले र अहिलेको समाजको तुलना गर्दै पहिला–सेवाभाव, परोपकार, बाँच र बाँच्न देऊको सिद्धान्तप्रति यसमा गर्वबोध गर्दै वर्तमान पुस्तामा हराउँदै गएको मानवता, सहयोगी भावना, पापधर्मको ख्याल नगर्ने प्रवृत्ति देखाइएको छ । पहिला आफ्ना आमाबाबुलाई अत्यन्त श्रद्धा गरिने श्रवणकुमारजस्ता पितामाताका पुत्रको स्मरण गर्दै अहिले कसरी समाज कर्तव्यपरायणताबाट स्खलित भएको छ र अब समाज कहाँ पुग्ने हो यही कुरा यस कथामा चिन्ताको विषय बनेको छ । कथाकार नब्बे सालको भूकम्पमा गरिएका मानवीय र आर्थिक सहयोग बहत्तर सालको भूकम्पमा आइपुग्दा हुन नसकेका भनाइ राख्दछन् । विकासका नाममा भएका विनाशमा पनि कथाले प्रश्न उठाएको छ । व्यक्तिगत र राष्ट्रिय सम्पतिहरूमा भएका आगजनी, तोड्फोड् र विध्वंश सभ्यसमाजका लागि अशोभनीय र निन्दनीय रहेका छन् । आज नेपालको परिस्थिति विकराल बनेको छ । कथाले नेपालको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता प्रकट गरेको छ यसरी– ‘आजभोलि मेरा मुखबाट भाइमारा भन्ने शब्दमात्र निस्कन्छ । हुन पनि हो मार्नु, बिगार्नु र आफू ठूलो बन्न खोज्नुमा आजका मानिसमा पुरुषार्थ हो भन्ने सोच केन्द्रित भएको छ । ’ कथात्मक यिनै पङ्क्तिले नेपालको बिग्रिंदो अवस्थाबोध गराएको पाउन सकिन्छ ।
दुई हजार बहत्तर सालको अकल्पनीय कहालीलाग्दो भयानक भूकम्पले नेपाल र नेपालीको अतुलनीय क्षति भयो । यस विपत्तिको समयमा जति हुनुपर्ने सेवा र सहयोग हो त्यो हुन वा पुग्न सकेन । यसमा नै कथाकारले गहिरो दुःख व्यक्त गरेका छन् । कोरोना महामारीको समयमा मानवीय सद्भाव कम भएको कुरा कथामा राम्ररी बोलिएको छ । दुई हजार एकासी साल असोजको बाढी नेपालको अर्को विपत्ति थियो । यसमा राज्यको उपस्थिति राजधानीमा समेत हुन नसक्नु सरकार आफ्नो जिम्मेवारी बहन गर्न असक्षम रहनुको अर्को ज्वलन्त उदाहरण हो भन्छन् कथाकार । समसायिक यस्ता प्रसङ्गले कथा भरिएको छ । नेपालका सामाजिक, आर्थिक, राजनैतिक अवस्था र प्राकृतिक विपत्तिका सम्पूर्ण कथा भन्दै गर्दा त्यहाँको पात्रको गला अबरुध्द हुन्छ । उनी बोल्न सक्दिनन् । कथाले नेपालको वास्तविकताको यथार्थ उद्वोधन गर्छ । संस्कार र संस्कृति, कर्तव्य र जिम्मेवारीप्रति गम्भीर भएर रहन एवं लाग्न आग्रह गर्छ । यहाँ दुःख छन्, पीडा छन् । अभाव छ । एउटै कथामा यहाँ व्यापक विषयवस्तु समेटिएका छन् ।
‘अव्यक्त मन’मा नीलालाई उभ्याएर वास्तविकता देखाइएको छ । अवसरको खोजीमा राजधानीमा मात्र केन्द्रित हुँदा गाउँ खाली भएर निर्जनावस्थामा परिणत भएका कुरा देखाइएको छ । नीला नामकी एउटी नारी जो कथित जनक्रान्तिमा छापामार थिई ऊ काठमाडौँमा आएर अरूका घरमा सहयोगीका रूपमा काम गर्दैगर्दा घरधनी मिलन उनीप्रति आकर्षित हुन्छ । नीलामा पनि उसप्रति प्रणयभाव जागृत भएर आउँछ । दुवैले एक अर्कालाई मन पराए पनि उनीहरू व्यक्त हुन सक्दैनन् । कथामा एकातिर प्रणयप्रसङ्ग देखाइएको छ अर्कातिर द्वन्द्वकालीन नेपालको सजीव चित्रण गरिएको छ । गाउँबाट शहर र शहरबाट युवाशक्ति अरब, युरोप र विश्वका अन्य भूभागमा कामको खोजीखातिर भौँतारिएर विदेश पलायन हुने प्रसङ्ग उठाइएको छ । नेपालका सुकुम्बासी समस्या– बनावटी सुकुम्बासी र वास्तविक सुकुम्बासीका सन्दर्भ ल्याएर कथालाई रोचकता प्रदान गरेका छन् कथाकारले यस कथामा । भित्रभित्रै मन पराए पनि कथित जनयुद्धका द्वन्द्वका कुरा गरेपछि मिलनमा उनीप्रतिको आकर्षण रहँदैन । नीलालाई कामबाट बिदा गरिन्छ । कथाको अन्त्य मार्मिक विन्दुमा गरिएको छ । यस कथाको प्रणय अव्यक्त रूपमा नै रहन्छ ।
‘रूपावली’ कथाभित्र पनि देशका युवाहरूमा देखापरेका कुलत, फजुल खर्च, नैतिकतामा आएको विचलन, विकासका नाममा भएका प्राकृतिक विनास, सामाजिक असमानता, अन्याय, असहज जीवन जियाइका विषयहरू छन् । कथामा यी सबै विषयबहनका लागि रूपावलीलाई प्रतीक पात्र बनाइएको छ । यो कथा पढ्दा देशका समग्र अवस्था, व्यवस्था, चालचलन, संस्कारसंस्कृति, उत्थानपतन, सिर्जना, विकास र विनासजस्ता कुराहरू सजीव रूपमा चित्रित भएझैँ लाग्छन् । एउटी आमाले सन्तानप्रति गर्ने चिन्ता र चासो पनि मजाले देखाइएको छ । रूपावलीलाई नै नेपाल भने पनि हुन्छ । धरतीमाता भने पनि हुन्छ । उनी आमा हुन् । विशाल हृदय भएकी महान् आमा जो सन्तान मात्र सोच्छ । आफू र आफ्ना लागि नभएर सन्तान सुसंस्कृत भएको मात्र देख्न चाहन्छ । शीर्षकीय दृष्टिले पनि कथा निकै सार्थक भएको पाइन्छ रूपावली । बाजुराम पौडेल यस कथामा पनि अरू कथामा जस्तै विषयमा राम्ररी खुलेका छन् । शिल्पकारितामा पनि कुशल छन् । साहित्य समाजको ऐना हो भन्ने कुरा यस कथामा पनि चरितार्थ भएको छ । नेपाल र नेपाली समाजको वास्तविक ऐना हो यो कथा पनि ।
‘रजनी’ कथा प्रणय प्रसङगमा अगाडि बढ्छ । प्रणय पवित्र हुन्छ र त्यस पवित्रताले धन, उमेर, जातका सीमाहरू नाघ्न पुग्छ । यस कथामा यस्तै छ । रजनी र विपिनको प्रणय साँच्चै प्रणय छ । उनीहरू एक अर्कालाई अत्यन्तै माया गर्छन् । जीवनभर सँगै रहने विचारमा पुग्छन् । उनीहरू गोकर्ण, जगडोल, जोरपाटी आदि स्थानहरूमा भेट गर्छन् । बाजुरामको रजनी कथा पढ्दा उनकै उनी उर्मिला महाकाव्यको स्मरण हुन पुग्छ । रजनी र विपिनका प्रणयप्रसङ्गका वाक्यहरू कुँदी कुँदी राखिएका छन् । विपिन र रजनी समयको प्रतीक्षामा परिभ्रमित छन् । प्रकृतिचित्रण पनि यसमा सुन्दर ढङ्गले गरिएको छ । ‘स्वप्नासंवाद’ पनि प्रणयप्रसङ्गकै कथा हो । यसलाई अलि दार्शनिक रूपमा प्रस्तुत गरिएको छ । कथाको शुरुआत संवादबाट हुन्छ । स्वप्न र संवादको संवादबाट धेरै कुरा देखाइएका छन् । सौन्दर्यं आगो, सिमलको फूल, काँडा आदि भन्दै बिम्बात्मक र प्रतीकात्मक रूपमा सौन्दर्यलाई हेरिएको छ । कथामा आएका संवादहरूका केही वाक्य हेर्दा कथाको गम्भीरताबोध हुन्छ–‘तिम्रो सौन्दर्य आगोजस्तै भयो संवादले आफ्नो प्रतिक्रिया देखाउँदै भन्यो ’
‘किन पोल्यो र ? स्वप्नाले सोधिन् ’
‘फूलसँग बासना पनि हुन्छ, कोमलता र माधुर्य पनि हुन्छ भन्नेचाहिँ कहिल्यै सुनेनौ ? एउटा पेचिलो प्रश्न गरिन् स्वप्नाले ’
कथा अत्यन्त शालीन किसिमले अभिव्यक्त भएको छ । युवायुवतीबिच भएका प्रणयप्रसङ्गमा कतै पनि उत्ताउलापन देखिदैनन् । उनीहरू अत्यन्त गम्भीर भएर प्रस्तुत हुन्छन् । संवाद सपनामा एउटी युवतीसित संवाद गर्दै आनन्दानुभूति प्रकट् गर्छ । सपनाबाट ऊ वास्तविक जीवनमा प्रवेश गर्छ र साधनासित वैवाहिक सम्बन्ध जोड्न पुग्छ । सपनाकी स्वप्ना विपनाकी साधना हुन पुग्छिन् । सपनाबाट शुरु भएको कथा यसरी विपनामा आएर टुङ्गिन्छ । कथाको आदिमध्यान्त अत्यन्त सन्तुलित भएर आएको छ । यसमा कल्पना र यथार्थको सन्तुलन मिलेको र भावको गहिराइ पनि उपयुक्त किसिमले भएको हामी देख्न पाउँछौँ । यी सबै कारणका मेलले कथा उत्कृष्ट हुनपुगेको छ ।
‘आकाश खुल्दै थियो’कथामा एउटा पवित्र प्रणयभित्र अभिभावक तगारो बनेर आएको कथा हो । आकाशसित गहिरो प्रणयभाव राखेकी लोली अर्कैकी बन्न बाध्य हुन्छिन् । उनी रोशनकी हुन पुग्छिन् । रोशनसित उनको विचार मिल्दैन । रोशन धेरै केटीहरूसित लहसिन्छ । लोलीको भावना बुझ्दैन । उता आकाश जीवनभर एक्लै रहन्छ । एकदिन लोली आकाशलाई भेट्न उसकै घरमा जान्छिन् । आकाशसित कुराकानी गर्छिन् तर आकाश मौन रहन्छ । लोलीले आकाशसित भनेका कुरा मार्मिक छन्–लोलीले विदीर्ण मानसिकतामा आकाशसित सोधिन्–‘ सम्झौता गर्छौ त ?’ आकाशको बोली फुट्न सकेन । लोलीले फेरि सोधिन् ‘समर्पण गर्छौ त ?’ आकाशबाट अभिव्यक्तिको कुनै शब्द निस्केन । त्यसपछि चिउँडोको टुप्पोसम्म आइपुगेका लोलीका आँसुका लप्का एकैपटक छातीमा झर्दै गर्दा करुण बोलीमा लोलीले सोधिन्–‘उसो भए त्याग र सहमति गर्न सक्छौ ?’ आकाश बोल्न सकेन । उसले लोलीलाई उही मायालु हेराइमा हेरिरह्यो । यसरी कथाकारले रोशन र आकाशको चरित्र अनि व्यवहार देखाउँदै आकाश र लोलीका बिचको चाहिँ सच्चा प्रेमको सजीव स्वरूप प्रदर्शन गरेका छन् यस कथामा ।
‘सिम्सिमेटारको बखती बा ’शीर्षक कथा एउटा व्यक्तिलाई असल नागरिक बनाउन शिक्षा दिन सुझाइएको कथा हो । पढेर मात्र होइन परेर जानिन्छ । पहिलो पाठशाला भनेको नै घर हो । घरमा संस्कार सिकाउनु पर्छ । भक्तबहादुरले छोरीको छोरो दिलबहादुरलाई सँगै राखेर गार्हस्थ जीवनका व्यवहारमा गर्नु पर्ने सबै कुरा सिकाउँदै गए । समय र परिस्थिति अनुसार अरू शिक्षा दिनाका लागि भक्तबहादुरले नातिलाई ज्ञानका भण्डार, आफ्ना जमानाका कहलिएका विद्वान् सिमसिमेटारका बखती बालाई जिम्मा लगाए । वर्षहरू बित्दै गए । दीक्षान्त समारोह भयो । राजनैतिक व्यक्तिहरूलाई नबोलाएर समाजका सत्पात्रबाट प्रमाणपत्र दिने कार्य गरे । दिलबहादुर दीक्षित बन्यो । उसले अरू नबनेर बखतीजस्तै आदर्शको उदाहरण बन्ने इच्छा व्यक्त गर्यो । यस कथाले राजनीतिमा मानिसहरूलाई हुँदै गरेको वितृष्णाको राम्रो नमूना देखाउन सफल भएको छ । उनीहरूका क्रियाकलाप देशहितमा नरहेकाले जनस्तरमा नै जनस्तरमै सबै कुरा ल्याउनु पर्छ भन्ने सन्देश नेताहरूलाई दिएको देखिन्छ ।
‘महात्मा र झ्याप्ले’ शीर्षक कथामा महात्माको आश्रममा रहेको झ्याप्ले कुकुर महात्मासँगै रहने र उनका सबै प्रवचन श्रवण गर्ने गर्दथ्यो । पशुमा पनि यस्तो चेतना हुन्छ भनेर कथामा देखाइएको छ । सधैँ महात्मासँगै रहने भएकाले अन्यले ऊ हराएर गएपछि महात्माले सबैलाई सङ्का गर्न लाग्दछन् । महात्मामा पनि सामान्य मानिसको सोचाइभन्दा माथि पुग्न नसकेको कुरा देखाइएको छ । केही दिनपछि भेटिएको कुकुरको मृत्यु भएपछि समाधि बनाएर आएको भनी झिल्केले भन्दा महात्मा बितेको भनेर मानिसको लर्को लाग्छ । बुझ्दै नबुझी हिँड्ने नेपालीको यथार्थ स्वरूप यस कथामा आएको छ । कथाले पशुमनोविज्ञानको पनि राम्रो झलक प्रस्तुत गरेको पाइन्छ ।
‘श्रम सम्मान’ शीर्षक कथाकी नम्रता सन्देश एकल महिला हुन् । जीवन निर्वाहको निमित्त पसल खोलेर बसेकी छिन् उनी । चिया, खाना र रक्सीसमेत पाइने उनको पसलमा ग्राहकको राम्रै उपस्थिति रहन्छ । एक दिन उनी बिरामी पर्छिन् । उनलाई सघाउन कोही आएन । जयराज एमए गरेर पनि ज्यामी काम गर्ने शिक्षित बेरोजगार युवक उसैले नम्रता सन्देशलाई सहयोग गर्दछ । नम्रता सन्देशले रहस्यमय तरिकाबाट जयराजको शिक्षित भाग्यवतीसित विवाह गराइदिइन् । देशमा भएको शैक्षिक बेरोजगारीबाट एमए गरेर पनि ज्यामी बनेको युवकको जीवन परिवर्तन गराउँदै कथाकारले इमान्दार भएर कार्य गरेमा एक दिन मानिसको भाग्योदय हुन्छ भन्ने सन्देश यस कथामा प्रवाहित गराएका छ्न् ।
‘हाम्री आमा, जाइजुई र लाली गुराँस’ कथामा धार्मिक प्रवचन दिने पाप र धर्मका कुरा गरेर व्यासासनमा रहेका पण्डितसम्म पनि विषयबासनामा कसरी लिप्त हुन्छन् भन्ने कुरा आएका छन् । दिलशोभा एउटी रूपवती नारी हुन् । उनको सौन्दर्यमा लट्ठ नपर्ने पुरुष नै थिएनन् । सप्ताह वाचन गरिरहेका पण्डित सप्ताह सुन्न आएकी दिलशोभालाई देखेर शृङ्गार मिश्रित बोली बोल्दथे । पण्डित र दिलशोभाको दिल एक अर्कासँग नजिकिए । उनीहरूबाट एउटी छोरीको जन्म भयो । दिलशोभाको फेरि हरि थापासँग विवाह हुन्छ । सिद्धान्त र व्यवहारमा देखिएका भिन्नता यसमा देखाइएको छ । धर्मको बखान गर्ने व्यक्रि जसलाई समाजले आस्थाका आधारमा मानेको छ । उसमा दिलशोभाको अस्मिता समाहित हुनु आफैँमा एउटा विडम्बना । उमेरको भिन्न अन्तरालमा पनि र मानिसमा सौन्दर्यात्मक दृश्यले हुने यौनोत्तेजनाको पनि मर्मबोधी सङ्केत यसमा पाइन्छ । दिलशोभाको सौन्दर्यशोभा हराएर उनको अनुहार गोरुको काँधजस्तो देखिएको प्रसङग कथामा ल्याउदै जवानी र वृध्दावस्थामा देखिने शारीरिक परिवर्तनलाई पनि कथाले देखाउन खोजेको छ । अहिलेका युवापुस्तामा आउँदै गरेका परिवर्तनात्मक सोचाइ पनि यस कथाभरि रहेका छन् । कथामा प्राकृतिक सौन्दर्य र मानवीय सौन्दर्यलाई तादात्मीकृत गराइएको देखिन्छ । जाईजुई र लाली गुराँस शीर्षकबाटै शीर्षक सार्थक भएको स्पष्ट पाउन सकिन्छ । दिलशोभाबाट थपिनी हुँदै गएकी उनलाई नै ‘हाम्री आमा ’ का रूपमा देखाइएको पाइन्छ ।
‘लुकेका कुरा’ कथामा प्रेमलाई आदर्श प्रेमका रूपमा देखाइएको र हो पनि । सच्चा प्रेम कस्तो हुन्छ भन्ने यथार्थबोध पनि यसमा गराइएको पाउन सकिन्छ । अग्रता नाम परिवर्तन गरेर विद्या तपस्विनी भएकी र अहिले फेसबुकबाट सम्पर्कहीन भएकी कीर्तिसित मिलन भएका सन्दर्भ यस कथामा छन् । यहाँकी अग्रता र आकाश खुल्दै छ का पात्र– आकाश आदर्श प्रेमका प्रतीक लाग्दछन् ।
‘सिँदुरीको संसार’ कथामा, जीवनमा एकपछि अर्को बज्रपात भएकी सिन्दुरीको कथा छ । एउटा लागु दुव्र्यसनको पुरुषसित वैवाहिक सम्बन्धमा गाँसिएकी सिँदुरी विवाहित भईकन आफ्ना पतिलाई त्यस लतबाट मुक्त गराउँदै पढ्ने बाटोमा लगाएर योग्य बनाउँछिन् । उनीबाट एउटा पुत्रको समेत जायजन्म हुन्छ । फेरि अर्को बज्रपात उनीमाथि पर्छ । उनका पतिको दुर्घटनामा परी मृत्यु हुनपुग्छ । तैपनि छोराको मुख हेरेर मन बुझाउँदै बसेकी सिँदुरीको एक मात्र जीवनको सहारा पनि दुर्घटनामा मारिन्छ । यसरी एकपछि अर्को गरेर पीडा नै पीडामा बाँचेकी सिँदुरीका कुरा काट्ने महिलाहरू पनि प्रशस्त देखिन्छन् । कथाले बुझ्दै नबुझी छोरी कसैलाई सुम्पनु हुँदैन भन्ने सन्देश एकातिर दिएको छ भने अर्कातिर समस्यामा पर्दा नआत्तीकन धीरतापूर्वक बस्नु पर्छ भन्ने सुझाएको छ ।
‘प्रेरणा’ कथाले समाजमा महात्मा कहलिएका व्यक्तिमा समेत ढोँङ्वादी चरित्र रहेको सन्दर्भ उठाएको छ । दमित यौनेच्छा हरेकमा हुन्छ त्यो स्वभाविक हो । प्राकृतिक नियमलाई कसैले थुनेर बन्द गर्न वा छेकेर राख्न कुनै हालतमा पनि सम्भव छैन । एकसय आठ गोस्वामीजस्ता महात्मा पनि आफ्नो उमेरभन्दा धेरै कमकी सुहासिनीसित शारीरिक सम्बन्ध राख्न पुग्छ । सुहासिनीबाट एक कन्या स्मिताको जन्म हुन्छ । शुरुमा हठी, आमालाई नमान्ने, मन्दिरमा मात्र जाने स्मिताको स्वभाव रहेको देखिन्छ । पछि उनकी आमाले आफ्नो कहानी बताउँदा उनको स्वभाव परिवर्तन हुँदै मातृवचन शिरोधार्य गर्ने अवस्थामा ओर्लिएकी पाइन्छ ।
समग्रमा भन्दा बाजुराम पौडेल ऊर्जाशील बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा देखिन्छन् । सामाजिक असमानता, अन्धता, अन्याय र थिचोमिचोप्रति उनी आफ्ना सिर्जनामा विरोधका स्वर उराल्छन् । फुट्कर कविता, खण्डकाव्य, महाकाव्यमा समेत उनका यिनै प्रवृत्ति परिव्याप्त छन् । निबन्धमा आत्मपरकता र काव्यात्मकताजस्ता विशेषता बोकेका बाजुराम आफ्ना पाँचवटै उपन्यासमा पनि यिनै र यस्तै प्रवृत्ति विशेषका परिधान पहिरेर नेपाली साहित्यभण्डारसामु उपस्थित छन् । ‘अर्को संसार’जस्तो सशक्त उपन्यासका स्रष्टा अहिले आएर‘ आकाश खुल्दै थियो ’ कथासङ्ग्रहमा पनि तिनै मूल्यमान्यतामा पौडिन्छन् । उनका कथाहरूमा राजनीतिक नेताका कर्तव्यहीनता, गैरजिम्मेवारीपनका साथै निहित स्वार्थका कारण देश पछि परेकोमा चिन्ता व्यक्त भएका हुन्छन् । मौलाउँदै गरेको भ्रष्टाचारले देश अधोगतिमा पुगेका सन्दर्भहरू छन् । प्रेमप्रणयका कुरा कथामा एकपछि अर्को आएका नै हुन्छन् । देशप्रेमका पवित्र भावना, पुख्र्यौली गौरवगाथा गाउँदै जननीजन्मभूमिश्च स्वर्गादपि गरीयसीका भावना उनका कथामा प्रतिबिम्बित भएका छन् । पुराना पुस्ता र नयाँ पुस्तामा देखिएका सोचाइ र गराइका भिन्नता देखाउँदै आफ्ना संस्कार, संस्कृतिलाई जोगाएर राख्नुपर्नेमा कथाकार जोड दिन्छन् । नेपालको कथित दशवर्षे जनयुध्दले विकासलाई धेरै पछि धकेलेको कुरा यथार्थ हो । यिनै यथार्थका सन्दर्भहरू बाजुरामका कथाका विषय बनेका छन् । देशमा व्याप्त शैक्षिक बेरोजगारी यहाँको विकराल समस्या हो । यही समस्याका कारण सक्षम जनशक्ति विदेशिएको सन्दर्भ उठाइएको छ । महात्मा मानिएका व्यक्तिहरूका ढोँगी चरित्र उधिनेर देखाउँदै धर्मस्थ व्यक्तिहरूलाई सचेत रहनु पर्ने कुरामा जोड दिइएको पाइन्छ । द्वन्द्व र जनयुध्दमा लागेका युवाहरू बर्बाद भएका विषय उठान गराइएका छन् । देशका हरेक क्षेत्रमा स्वच्छता र सेवाभाव हराउँदै गएर स्वार्थान्धता हावी भएका सन्दर्भहरू प्रशस्त उभ्याइएका छन् । आदर्श शिक्षा प्रणाली हुनुपर्नेमा जोड दिइएको छ । विविध विषयमा उनिएका उनका कथाका शिल्पपक्ष अत्यन्त सबल छन् । समकालीन कथाकारहरूमा बाजुराम शैली र शिल्पमा निकै प्रबल देखिन्छन् । उनका एउटै कथामा धेरै विषय समेटिएका छन् । सहज बगेको काव्यात्मक शैलीले उनका कथा सुन्दर बनेका छन् । सरल शैली र मिठो प्रस्तुतिले बाजुरामका कथा खँदिला र पोटिला भएका छन् । रसिला र झरिला पाइन्छन् । कथामा भाषिक प्रौढता, वैचारिक गहनता र व्यवहारिक यथार्थ पक्ष घनीभूत भएर आएका छन् । उनका कथाहरू केही संवादबाट शुरु हुन्छन् र कुनै कुनै त संवामा नै टुङ्गिन्छन् । यो उनको नितान्त निजी कला हो । अखबारी शैलीका कारण अहिलेको साहित्यले शैलीगत उचाइ लिन नसकेको सन्दर्भमा बाजुराम पृथक देखा पर्दछन् । कथामा धेरै सुन्दर पक्ष भए पनि एउटै कथामा धेरै विषय आउँदा कतै कथाको सीमा पार गर्दै निबन्ध त बनेन् भन्ने प्रश्न उठ्नु स्वभाविक लाग्ने देखिन्छ । मूलत बाजुराम कवि हुन्, निबन्धकार हुन् । यिनकै प्रत्यक्ष प्रभाव कथामा पर्न जानु अझ स्वाभाविक लाग्दछ । प्रस्तुत कथा सङ्ग्रहले बाजुराम पौडेललाई परिपक्क कथाकारका रूपमा स्थापित गरेको कुरा इन्कार गर्न सकिन्न ।
समग्रमा शास्त्रीय छन्दमा धेरैवटा महाकाव्य लेखिसकेका बाजुराम पौडेलका निबन्धसङ्ग्रहहरू र धेरैवटा महाकाव्यहरू पनि प्रकाशित भइसकेका सन्दर्भ जोडेर उनको सिर्जनात्मक लक्ष्य र प्रवृत्ति केलाउँदा उनमा बहुमुखी प्रतिभाका सामथ्र्य सीप र स्वनिर्मित परिष्कृतिहरू प्रशस्त पाइन्छन् । प्रथम प्रकाशित खण्डकाव्य ‘ सिर्जना फस्टाउनु पर्छ ’ (२०५१) को अग्रगामी सोचसँगै साँघुरिएको मानसिकतामा उदारता र फराकिलोपनमा मात्र सिर्जनाले सफलता पाउँछ भन्ने अनुभूत गराउँछ । महाकाव्य ‘ शान्ताश्री ’ (२०७३), महाकाव्य ‘ उनी उर्मिला ’ (२०७५), र महाकाव्य ‘ जूनकीरी ’(२०७७) बाजुराम पौडेलको आख्यानात्मक मनोवृत्तिकै शृङ्खला हुन् । नेपाली समाजमा नारीले भोग्नु परेका र भोगेका विषम परिस्थितिको चित्र नै यी कृतिहरूका मूल विषय बनेका छन् । ‘सिर्जना फस्टाउनु पर्छ’ की रम्भा, ‘ शान्ताश्री ’ का शान्ताश्री र लुसुन्द्री,‘ उनी उर्मिला ’की उर्मिला ‘ जूनकीरी ’ की जूनकीरीका निसहायता,ताप पीडा, जेलिँदै कसिँदै गरेका विघ्न र बन्धनका गाँठासँग लडेका संघर्षका चरण र मुक्तिका प्रयासहरू नारी जागरणका लागि सचेतताका मूलमन्त्र बनेझैं लाग्दछन् । शान्ताश्रीको पति हराएको पीडाले धेरै प्रकारका आशङ्का उब्जाइदिएको छ । लुसुन्द्रीको पतिको बीभत्स हत्या लुसुन्द्रीले देखेकी छ, जूनकीरीको पति आफ्नै अगाडि निर्मम तरिकाले मारिएको दृश्य आँखाभरि छ, । पति र पत्नीका बीचका आधा जीवन खेर गएपछि बाँचेका नारी जीवनका कारुणिक पक्ष महाकाव्यमा प्रशस्तै पाइन्छ । जूनकीरी प्रतिशोधका लागि छोरालाई अघि बढाउँछे भने शान्ताश्री र लुसुन्द्री एक आपसमा भेट भएपछि त्यसको प्रतिकारमा विद्रोहको योजना बढाउन सङ्घर्षरत रहन्छन् । महाकाव्यका नायिकाका गतिशील चरित्रजस्तै ‘आकाश खुल्दैथियो ’ कथासङ्ग्रहका नारी चरित्रहरूको पनि विद्रोह र संघर्षका व्यथा व्यक्त भएका पाइन्छन् । यस कथासङ्ग्रहका कथाकार बाजुराम पौडेल धेरै ठाउँमा र अझ धेरै कृतिहरूमा नारीका विभिन्न मनोवेदनाका खत, चोट र घाउहरूमा लेख्ने स्रष्टाका रूपमा चर्चामा आउने पनि गरेका छन् । प्रकाशनको सङ्घारमा रहेको यो कृति पनि नारीअन्तर्यका धरातलमा उभिएर मैदान नियाली रहेका देखिन्छन् ।
कथाकार बाजुराम पौडेल आख्यानमा प्रवेश गर्नु अघिको पृष्ठभूमिले पुनः एउटा सिर्जनात्मक कालखण्डको स्मरण गराउँछ । उनको गद्यलेखनको एउटा इतिहास पनि त्यतिकै स्पष्ट छ । स्रष्टाहरूको जीवनी लेखन ‘सष्टापरिचय ’(२०६६)सम्पादन र आफ्नै आत्मवृत्तान्त ‘ भन्ज्याङ र चौतारी ’(२०६९) को प्रकाशन यसैका उदाहरण बन्दछन् । आत्मपरक निबन्ध ‘ छोडिएका पाइलाहरू ’ (२०७७) थप दृष्टान्त बन्दछ । सम्भवतः पूर्वीय काव्यशास्त्री आचार्य दण्डीका “ गद्यं कवीनां निकषं बदन्ति ” भन्ने भनाइसँगै महाकाव्यकार बाजुराम पौडेलसँगै कथाकार बाजुराम पौडेलको सामीप्यले निश्चित रूपमा बहुप्रतिभाको स्पष्टता सिद्ध गरिदिन्छ ।
त्यसो त कथासङ्ग्रह ‘ आकाश खुल्दै थियो’ लेखनको भावभूमि र त्यसको पूर्वाभ्यासको सन्दर्भमैदानका रूपमा उनका उपन्यासहरू ः निशा (२०७६), अर्को संसार (२०७८) लुसाको फेरो (२०७९) प्रभावती (२०७९) र मखमली (२०८०) प्रकाशित भइसकेका छन् । निशा उपन्यासले नेपाली समाजमा हुने गरेको सौतेनी भेदभावको राँकोमा हुर्किएकी अबोध बालिकाको कारुणिक कथासँगै ठूली भएपछि उसले सौतेनी भेदभावबाट मुक्त बनी गरेको सेवा त्याग र समर्पण त्यस समाजको लागि उदाहरणीय प्रेरणा बनेको कथा छ । भिन्न संस्कृति र संस्कारलाई उपन्यासकारले सफलतापूर्वक एकैठाउँमा ल्याउन गरेको प्रयास उल्लेखनीय देखिन्छ । उनको दोस्रो उपन्यास ‘अर्काे संसार’ प्रयोग शिल्प र सान्दर्भिकताका दृष्टिले सर्वथा नौलो उपन्यास मानिन्छ । आधुनिक विज्ञानको विकासको सूत्रधार मानवीय कल्पना हो भन्ने धारणा यस उपन्यासमा पाइन्छ । विज्ञानले पृथ्वीको सतह र त्यसमाथिका आकाश अन्तरिक्षको अध्ययनमा सफलता पाउँदै गयो तर धर्तीको गर्भबारे विज्ञानले चासो नलिएको पाएका उपन्यासकारले धर्तीको गर्भमा अत्यन्त महत्त्वपूर्ण स्रोत र साधन हुन्छन् भन्ने आफ्नो निजी धारणामा सिर्जनाका लेपन लाइदिएर उपन्यासलाई रोचक र सान्दर्भिक बनाएका छन् । धर्तीको एक सपूतलाई पाताललोकबाट आएकी एउटी युवतीले फन्दामा परेर अजङ्गको प्राणीबाट अपहरित भएको व्यक्तिको त्रासदपूर्ण र मार्मिक कथा यसभित्र पाइन्छ । लामो समयसम्म त्यस पातालमा बसेर धेरै कुराको ज्ञानप्राप्त भएपछि आफ्नो देश फकाइएको कथा जोडेर निर्मित कथाले उपन्यासकारको आफ्नो कल्पनाशीलतामा सिर्जनाको भरपूर सामथ्र्यको द्योतन गर्दछ । पाताललोकाको कथा धर्तीसँग गाँसेर विदीर्णताका आफ्ना जननी र धर्तीलाई विकास र निर्माणमा प्रयोगपूर्ण सान्त्वना दिने नायकको उपस्थितिले नितान्त नौलोपनको आभास दिन्छ । स्वदेश र आफूलाई जन्मदिने आमाका लागि राजगद्दी र महारानीसमेतलाई त्यागेको समर्पण र उदारताको अर्को सुन्दर दृष्टान्त बन्दछ । बाजुराम पौडेल आफ्नो पहिलो उपन्यास ‘निशा’ लाई सामाजिक र दोस्रो उपन्यास ‘अर्को संसार’लाई बेग्लै धार र परिवेशमा प्रयोग गरेर सिर्जनाशिल्पको नमूना तयार पारिरहेका छन् । तेस्रो उपन्यास ‘लुसाको फेरो’ (२०७९) लाई फेरि सामाजिक परिवेशमा नै फर्काएर नारीका जीवनमा आउने अनेक विघ्नवाधा, विधि व्यवहार, भाग्य दुर्भाग्य, विनाश निर्माण, प्रकृति, सुकृति, विकृतिहरूलाई सुन्दर संयोगसँग संयोजन गराएर प्रस्तुत गरिएको सफल उपन्यास हो । यसमा निम्नवर्गमा जन्मिएर पनि शैशवकालमा नै आमा गुमाएकी बालिकाले हुर्कनेक्रममा भोग्न परेका कठिन परिस्थिति र जवान भएपछि खप्नुपरेका अवाञ्छित दैवी यातनाबाट जोगिँदै बिरामी आफ्नी ठूलीआमालाई भेट्न जानेक्रममा काठमाडौंको नाङ्लेभारेको जङ्गलको बाटोमा परेको रात र त्यसबाटोमा भेटिएको एउटा पुरुष जोगबहादुर नै जीवनको महत्त्वपूर्णक्षणमा जीवनसाथी बन्न पुगेको र आफ्नो शैशवकालमा आफूलाई दूध खुवाएर हुर्काउने सेती पुलामीबाट नाटकीयरूपमा भएको विवाहदान अत्यन्त रोचक र नवीनतम सोचको उद्घाटन यस उपन्यासमा पाइन्छ । उनका औपन्यासिक कृति केलाउने क्रममा आएको चौथो उपन्यास हो ‘प्रभावती ।’ यसलाई उपन्यासकारले पौराणिक उपन्यास भनेका छन् र विषयवस्तु सबै पौराणिक कथामा निर्मित देखिन्छन् । स्वर्गका राजा इन्द्रलाई परास्त गरेर सर्वशक्तिमान बनेका बाणासुरका छोरा इन्द्रदमन अर्थात् बज्रनाभ, बिराज, शङ्खासुर र छोरी प्रभावतीको कथा समेटिएको उपन्यास हो । दानवराजहरू अत्यन्त बलवान् भएकाले उनीहरूले ठाउँठाउँका छेडा गौँडामा ठूला ठूला ढुङ्गा ल्याएर निकास बन्द गरेर ताल र जलाशय निर्माण गरिदिन्थे । काठमाडौं उपत्यका पनि एउटा ठूलो जलाशय नै थियो । त्यस जलाशयमा विहार गर्ने क्रममा कृष्णका छोरा प्रद्युम्नसँगको देखादेखले असन्तुलित बनेकी प्रभावतीको प्रेमप्रणयले कालान्तरमा युद्ध निम्त्यायो । यस्ता सन्दर्भ गाँसिदै अनेक भाष्य निर्माण भए । जल सभ्यता हो, जलप्रवाह रोकिनु हुँदैन, जलको बाँडाफाँड हुनुपर्छ, सगरमाथाको जलप्रवाह महासागरसम्म पुग्नुपर्छ भन्ने सञ्चेतनाले उपन्यासलाई बढी क्रियाशील बनाएको पाइन्छ । कृष्ण–प्रद्युम्नका सेना र दानवहरूका बीच ठूलो युद्ध भयो । दानवहरू पराजित भएर कृष्णको सुदर्शनचक्रका बलले प्रद्युम्नले ठाउँठाउँका ओढार कटान गर्दै कोठमाडौंको चोभारको छेडो समेत खोलेर काठमाडौंको सभ्यताको आरम्भ भएको कथा यस उपन्यासले दिएको छ ।
‘प्रभावती’पछि बाजुराम पौडेलको हालसम्मको अन्तिम तथा पाँचौँ उपन्यास हो ‘मखमली’ । यस उपन्यासमा बालबच्चाका बौद्धिक अपाङ्गताले समाजलाई कस्तो प्रभाव पार्छ र आफन्त अभिभावकले यसको पीडा कसरी सहन गर्छन् भन्ने दृष्टान्तमा निर्मित कथा पाइन्छ । निम्न र आर्थिक बिपन्न जीवन निर्वाह गरिरहेका वीरमान र माइलीका कोखबाट जन्मेकी मखमली रोग सङ्क्रमणका कारण बौद्धिक अपाङ्ग बनेको र उपचारका प्रयास भइरहेका सन्दर्भसँगै गाउँमा बाहिर जिल्लाबाट आएको धनाढ्यको घरमा गोठालो बसेको सोमसौरभबाट मखमलीको जीवन उद्धारगरी वैवाहिक सम्बन्ध गाँसेको रोचक कथा मूलकथाका रूपमा र सामा र सिस्ने लामाका गौणकथाले उपन्यासमा रहस्य र रोचकता थपेको छ, सुधारात्मक सन्देश दिएको छ । यसरी सामाजिक, स्वैरकाल्पनिक र पौराणिक कथावस्तुलाई औपन्यासिकता दिएका बाजुरामका पात्रहरू एउटै माटो र हावा पानीमा जन्मेर भिन्न पीडा भिन्न व्यथा र विभिन्न चक्रपरिक्रममा बाँचेका पात्रहरूको राम्रो चित्र उतारिएको छ । निशाको निशा र मुनाले खपेका पीडा बेग्लै छन् । अर्को संसारकी महारानी नुल्जासँग आफ्नै किसिमको दुःख र दर्द छन् । लुसाको फेरोकी लुसाले खपेको पीडा जोकोहीले खप्नै सक्दैन । प्रभावती मानवहित र सभ्यताका लागि आफन्तको वलिदान स्वीकार्न बाध्य पारिन्छिन् । उपन्यासको समाज र परिवेश त्यही भएर पनि मानवका स्वभाव र चरित्रले भिन्नभिन्न सम्वेदनामा प्रहार भएको छ ।
स्वदेश वा विदेश जहाँतहीँका स्रष्टाका सिर्जनाप्रवृत्ति केलाउँदा सबैले मानवीय संवेदना, राष्ट्र, राष्ट्रियता, जातीय गौरव तथा भूप्रकृतिलाई केन्द्रीय उद्देश्यका विषयवस्तु बनाएर कला साहित्यको सिर्जना गरेको पाइन्छ । कविता, महाकाव्य, उपन्यास वा कथा जे लेखे पनि बाजुरामका साहित्यिक प्रवृत्ति पनि त्यसैको सेरोफेरोमा रहेको छ । प्रस्तुत कथासङ्ग्रह ‘आकाश खुल्दै थियो’मा सङ्गृहीत मर्म र प्रवृत्तिगत मान्यतालाई केलाउँदा मूलतः ‘आफ्नै कथा सुनाइरहेकी उनी’मा हराएको मानवताको खोजी भएको पाइन्छ । त्यसैगरी ‘अव्यक्त मन‘मा द्वन्द्वले प्रेमको अस्वीकार, ‘रूपावली’मा आदर्श र नैतिक समाज बनाउने प्रेरणा, ‘रजनी’मा प्रेम र प्रणयभित्र जीवनको सम्मान, ‘स्वप्ना संवाद’मा सौन्दर्यमा कुरूपता र दुर्गन्धमा सुवासका मिश्रण हुने अन्तर्मुखी सोचलाई कथाकारले गहिराइमा पुर्याएका छन् । उनका सिर्जनाका प्रवृत्ति केलाउँदै जाँदा ‘आकाश खुल्दै थियो’मा सोचमा परिवर्तन, उदारता प्रेम र पवित्रताका सन्देश, ‘सिमसिमेटारका बखती बा’ चरित्रवान र असल मान्छे बनाउने गुरुकुलको अवधारणा, ‘श्रमसम्मान’मा सत्कर्मले मान्छे ठूलो बन्ने , ‘हाम्री आमाः जाईजुई र लालीगुराँस’मा धर्मान्धता आडम्बर र ढोंगको चित्रण, ‘लुकेका कुरा’ वास्तविक र सच्चा प्रेममा प्राप्तिका सभावना, ‘सिन्दुरीको संसार’ संघर्षपूर्ण जीवनले संघर्ष नै रुचाउछ भन्ने उदाहरण, र ‘प्रेरणा’ले रहस्यमय जीवनलाई यथार्थमा फर्काउन सफल एउटी आमाको सत्कार्यको राम्रो चित्रण गरेको छ । विशेषतः बाजुरामका सिर्जनामा प्रकृतितन्मयता पाइन्छ । यसरी विधागत रूपमा समेत समकालीन साहित्यिक स्रष्टाहरूको अग्रस्थानमा पुग्न सफल बाजुराम पौडेल बहुविधाकै शिल्पयुक्त स्रष्टा मानिन्छन् । समग्रमा यस कथासङ्ग्रहमा कथाकारले प्रयोग गरेका उक्ति, सूक्ति र उखानले उनको भाषा शैली र शिल्पको समृद्धताको पुष्टि गर्दछ ।साहित्य पाेष्ट