काठमाडाैं । पछिल्लो समय नेपाली निर्मातामा सिक्वेल मोह बढ्दो छ । फिल्मलाई ब्रान्डिङ गर्न नपर्ने, प्रचारमा ठूलो लगानी गर्नु नपर्ने, दर्शकको चासो रहने र घरेलु बजारबाटै लगानी उठ्ने सम्भावना बलियो हुने भएकाले अहिले नयाँ फिल्मभन्दा सुपरहिट फिल्मको सिक्वेल निर्माणमा वृद्धि भएको छ । सरकारले छायांकन अनुमति दिएपछि फ्लोरमा निस्कने तयारीमा प्रायः सिक्वेल फिल्म नै बढी छन् ।
निर्देशक मिलन चाम्स पनि सिक्वेल मोहबाट टाढा छैनन् । ‘बोबी २’ घोषणा गरेर बसेका उनले गत वर्ष पल शाह र नाजिर हुसेनलाई लिएर ‘वीर विक्रम’ को दोस्रो श्रृंखला निर्माण गरेका थिए । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । फिल्मले बक्सअफिसमा नाफाको व्यापार गरेन । पैसा कमाउने उद्येश्यले ‘वीर विक्रम’ को ब्रान्ड बेचेर फिल्म निर्माण गरेको आरोप उनीमाथि लागेको छ ।
अहिले निर्देशक चाम्स दशैंपछि ‘वीर विक्रम ३’ को छायांकन थाल्ने तयारीमा रहेको फिल्मवृतमा चर्चा छ । यस विषयमा उनी भन्छन्, ‘मैले इच्छा देखाएको चाहिँ होइन । अरुबाट नै ‘वीर विक्रम’ जहाँ अन्त्य भएको थियो, त्यहीँबाट कथा सुरु गर्ने गरी ‘वीर विक्रम फेरि’ नाममा फिल्म बनाउने प्रस्ताव आएको छ । तर, मैले तत्काल समय दिन नसक्ने भएपछि कुरा अगाडि बढेको छैन ।’
उनले ‘वीर विक्रम फेरि’ का लागि दयाहाङ राई, अनुपविक्रम शाही, नाजिर हुसेनसँँग एक चरण कुराकानी भइसकेको बताए । चाम्सले भने- ‘खासमा मैले ‘वीर विक्रम २’ लाई सिक्वेलको रुपमा निर्माण गर्न चाहेको थिएँ । तर, कलाकारको समय नमिल्दा नयाँ कथा तयार पारेर फिल्म बनाएँ । अहिले ‘वीर विक्रम २’ का लागि भनेर लेखिएको कथामा सिक्वेल बनाउन प्रस्ताव आएको छ ।’
आफ्नो व्यस्तताका कारण तत्काल ‘वीर विक्रम फेरि’ बन्ने सम्भावना न्यून रहेको उनी बताउँछन् । ‘अहिले मेरो पाइपलाइनमा चार फिल्म छन् । स्थिति सामान्य भएपछि यीमध्ये एक फिल्मको छायांकन सुरु गर्नेछु । यसकारण फेरि अर्को फिल्म घोषणा गर्ने पक्षमा म छैन । पछि सबै कुरा मिल्यो भने ‘वीर विक्रम फेरि’ बनाउन सक्नेछु । अहिलेलाई भने कुनै तयारी छैन,’ उनले स्पष्ट पारे ।