काठमाडाैं । फिल्म ‘प्रेमगीत’ पछि अभिनेता प्रदीप खड्का रातारात ‘स्टार’ को रुपमा उदाए । अहिले उनको नेपाली फिल्ममा राम्रो माग छ । उनी अभिनीत पछिल्ला फिल्मले बक्सअफिसमा सफलताको झण्डा गाँड्न असफल भए पनि त्यसले उनको करिअरमा खासै ठूलो असर पारेको देखिन्न । उनलाई लाखौं पारिश्रमिक तिरेर फिल्म खेलाउनका लागि निर्माता/निर्देशकबीच हानाथाप हुने गरेको छ ।

‘प्रेमगीत २, लिलिबिली, रोज र लभ स्टेशन’ ले युवापुस्ताको ठूलो समुहमा आफूलाई चिनाउन सफल भएका उनी लकडाउनभन्दा अगाडि फिल्म ‘प्रेमगीत ३’ को प्रदर्शनको पखाईमा थिए । तर, कोरोनाका कारण फिल्मको प्रदर्शन अनिश्चितकालका लागि स्थगन भएको छ । स्थिति सामान्य भएपछि उनी दिनेश राउत, हेमराज विसी र सन्तोष सेनको फिल्ममा काम गर्ने तयारीमा छन् । केही महिना ‘हुतुतु’ को स्क्रिप्टमा बसेका उनी एक हप्तादेखि पोखरामा रंगकर्मी तथा कलाकार अनुप बरालबाट अभिनयको कक्षा लिइरहेका छन् । पोखराको एक रिसोर्टमा कलाकार बरालले प्रदीप एक्लैलाई अभिनय सिकाइरहेका छन् । अनुप बरालले आफूलाई तीन महिनासम्म अभिनय सिकाउने प्रदीपले बताए । उनले पहिलो पटक अभिनयको औपचारिक कक्षा लिएका हुन् ।
‘अहिले दैनिक ६ घण्टा अनुप सरबाट अभिनय सिकिरहेको छु । दशैंसम्म यो क्रम जारी नै रहनेछ । केही दिनमा नै उहाँबाट धेरै कुरा सिक्न पाएको छु,’ प्रदीपले भने, ‘मैले अहिलेसम्म अभिनयको औपचारिक कक्षा लिएको थिइनँ । पहिलादेखि नै अभिनय सिक्ने इच्छा भने थियो । तर, व्यस्तताले समय निकाल्न पाएको थिइनँ । लकडाउनमा एक प्रकारले समयको सदुपयोग पनि भएको छ ।’ आलोचनाले अभिनय सिक्ने सोच पलाएको त होइन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘कलाकार भएपछि आलोचना र तारिफ हुनु सामान्य हो । म यसलाई सकारात्मक रुपमा लिन्छु । तर, अभिनयको आलोचना भएर अभिनय सिक्न लागेको चाहिँ होइन । म आफैंलाई अभिनयका विभिन्न आयामका बारेमा सिक्न मन थियो । तीन महिनाको अवधिमा अनुप सरबाट धेरै सिक्न पाउँछु भन्ने विश्वास छ ।’
‘प्रेमगीत’ पछि प्रदीपले अभिनय सुधारमा मिहेनत नगरेको र लुक्सको भरमा चलेको आलोचना खेप्दै आएका थिए । यो फुर्सदको समयमा उनले आफ्नो अभिनयमा निखारता ल्याउन अभिनयको कक्षा लिने निर्णय गर्नुले फिल्म क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ । अनुप बरालको मार्ग निर्देशनले प्रदीपको अभिनयमा कति परिपक्वता आउला ? त्यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ ।