आमा हुन पाउनुलाई जिम्मेवारी भन्दा पनि गर्व भन्छु म । यो कुरा मलाई भन्दा पनि निर्मला म्याडमलाई बढीअनुभूत होला । निर्मला म्याडम सुर्खेतको जिल्ला निर्वाचन अधिकारी हो । छोरी समृद्धीको स्कूल नभएको दिन वहाँ आफ्नी छोरी समृद्धीलाई आफूसँगै अफिसमा ल्याउनुहुन्छ । कतै अन्य अफिस वा बैठकमा जानु परयो भने पनि आफूसँगै लिएर जानु हुन्छ । एकपटक एउटा बैठकको सन्दर्भमा बैठक कक्षमा जाँदा छोरीलाई बाहिरै राखेर आफू बैठकमा जानु भएछ । अर्कोपटक पनि छोरीलाई त्यस्तै अनुरोध गर्दा भने छोरीले तोतेबोलीमै भएपनि आक्रोस पोखिहालिछन् – ‘कस्तो बैठक हो मम्मी हजूरको ? के त्यो बैठकमा म जान मिल्दैन ?’ निर्मला म्यामले छोरीको कुरालाई नाइनास्ती गर्न सक्नु भएनछ र मिल्छ भनेर बैठक कक्षमै छोरीलाई लिएर जानुभयो ।
बैठकको उपस्थिति उठाउने र दस्तखत गर्ने काम सुरु भयो । निर्मला म्याम र यो पङितकारको बीचमा निर्मला म्यामको छोरी समृद्धीे थिइन । बैठकको रजिष्टरमा आफूले सही गरेपछि निर्मला म्यामले त्यो रजिष्टर मलाइ दिनुभयो त्यही कामको लागि । त्यत्तिबेलै छोरी समृद्धीले भनिन् – ‘के यसमा मेरो नाम छैन मम्मी ? के मैले सही गर्नु पर्दैन मम्मी ?’ समृद्धीको कुरालाई सही थाप्दै मैले भने – ‘निर्मला म्याम, छोरीको नाम लेख्न छुट्यो कि है ? छुटेको भए लेखेर सही गराउनु त छोरीको ?’ म्यामले रजिष्टरको पुछारको पातामा छोरीको नाम लेख्नु भयो र छोरी समृद्धीले सानका साथ सही गरिन् ।
निर्मला म्यामको छोरी समृद्धीले रजिष्टरमा आफ्नो नामको खोजी गरेर सही गर्न खोज्दा मलाई बालअधिकार अन्तर्गतका प्रमुख चार अधिकारको सम्झना भयो – बाँच्न पाउने अधिकार, विकास हुने अधिकार, संरक्षणको अधिकार र सहभागिताको अधिकार । छोरी समृद्धीले त्यो दिन हामीसँग खोजेको अधिकार भनेको सहभागिताको अधिकार हो । मैले बैठक सकिएपछि समृद्धिलाई सकेसम्म उनले बुझ्ने गरी भनें पनि –‘समृद्धी, तिम्रो कक्षामा तिमीजस्तै बालबालिकाहरु बसेर कुराकानी गरेजस्तै र नयाँ नयाँ कुरा सिकेजस्तै तिम्रो मम्मीजस्तै अफिसहरुमा काम गर्ने हामी कर्मचारीहरुले पनि सँगै बसेर छलफल गर्छौं, कुन काम कसरी गर्ने भनेर एकअर्काबाट सिक्छौं र अनि सिकाउछौं । हामी पनि तिमीजस्तै हौं समृद्धी, हामी पनि ठुला शरीर भएका बालबालिका हौं (We are children with big body) उनले मेरो कुरा बुझेनबुझेको त थाहा भएन तथापि मेरो कुरा ध्यान दिएर सुनिन र मेरो कुरा सकिएपछि प्रतिक्रियास्वरुप मुसुक्क हासिन । उनी मुस्कुराएपछि मैले अनुमान गरें, उनको सहभागिता सम्बन्धीको अधिकारको हामीले आज केही हदसम्म भएपनि यथोचित सम्मान गरयौं ।
समृद्धीले उठाएका कुराहरुको यो मनभित्र चलखेल नसकिदै मेरो आँखा सामाजिक सञ्जालको एउटा दृश्यमा गएर टक्क रोकियो । दृश्य थियो, नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी पुलिसबाट मारिएका फ्लोइडकी छोरीसँग घुडा टेकेर माफी मागिरहेको । मलाई बालबालिकाप्रति नतमस्तक हुने र उनीहरुको सम्मान गर्ने यो संस्कार मन परयो र अनुकरणीय लाग्यो । बालअधिकारकर्मीहरु भन्छन्– ‘जुन देशमा आवाजविहीन अर्थात बालबालिकाहरुको आवाजलाई प्राथमिकताका साथ सुनिन्छ र उनीहरुको सम्मान हुन्छ, त्यहाँ साँच्चिकै सुशासन र कानूनी राज्य भएकोे आभास हुन्छ ।’ विधिको शासन नभएका मुलुकहरुमा बृद्ध, अशक्त र बालबालिका जस्ता शक्तिमा नभएकाहरुको अधिकारप्रति सरकारले चासो राख्दैन । जान वा अन्जानमा उनीहरुको अधिकारको कहिकतै हनन् भयो भनेपनि अमेरिकी राष्ट्रपति बाइडेनले जस्तो बालकको सामू घुडा टेकेर माफी पनि मागिदैन । उनीहरुप्रति सरकारले गर्ने रवैया देख्दा यस्तो लाग्छ, त्यस्ता मुलुकका बालवालिकाहरु कहिल्यै युवा र प्रौढ नभएर सधै बालबालिका नै रहनेछन् । हाम्रो मुलुक पनि त्यस्तै मुलुकअन्तर्गत पर्दछ जहाँ बालबालिकाप्रति चासो राखिदैन ।
भोलीको सुन्दर घरको परिकल्पना गर्ने परिवारका सदस्यहरुले त्यो घरका बालबालिकालाई राम्रो र असल बनाउन भरपूर कोशीस गरेझै भोलीको देश सुन्दर र समुन्नत बनाउनका लागि पनि वर्तमानमा प्राथमिकता दिने क्षेत्र भनेकै बालबालिकाको क्षेत्र हो । उनीहरु गतिला हुनु भनेकै भोलीको मुलुक गतिलो हुनु हो । किनकि भोलीको देश आजका बालबालिकाले नै हाँक्ने हुन् । त्यत्तिबेला आजका देश हाँक्नेहरु त कर्म अनुसार कोही स्वर्ग त कोही नर्कतिर गइसकेका हुनेछन् । बचेखुचेकाहरु पनि ओछ्यान र आफ्नो घरआँगन छोड्न नमिल्ने गरी थला परिसकेका हुनेछन् । त्यसकारण पनि यदि कसैसँग देशप्रति गर्ने अलिकति माया बाँकी छ भने त्यो भनेको बालबालिकाप्रति देखाउने श्रद्धा, माया र सम्मान हो । भाषण र मञ्चहरुमा जसले जे भनेपनि व्यवहारमा बालबालिकाप्रति हामी अलिकति पनि गम्भीर र जिम्मेवार हुन सकिरहेका छैनौं । यसबाट प्रष्ट हुन्छ कि हामी यो मुलुकप्रति वर्तमानमा त जिम्मेवार हुन सकेनौं नै, भविष्यमा समेत जिम्मेवार हुन नसकेको कुरा प्रष्टै छ ।
मैले माथि उल्लेख गरेका बालबालिकाका मुलभूत अधिकारहरु हाम्रो देशमा कुण्ठित भएको अवस्था छ । अरु त टाढाका कुरा भए, बालबालिकाको स्वस्थ र निरोगी भएर बाँच्न पाउने अधिकारसमेत हराभरा देखिदैन । बालबालिकाको यो अधिकारलाई संरक्षण गर्नका लागि अभिभावकको भूमिकामा रहेका बाबाआमा र सरकार दुवैको भूमिका प्रशंसा गर्नलायक छैन । कतिपय बाबाआमाले त विना योजना रहरैरहरमा बच्चा जन्माउछन् र बच्चा जन्मिएपछि नवजात शिशुलाई खुशी भन्दा पनि बोझको रुपमा लिन्छन् । कतिले त सडक र नालीमा फ्याकेर हिड्छन् । विराला धेरै भएपछि मुसा मार्दैनन् भनेझै मुलुकमा भएका तीनवटा सरकारहरुले पनि बालबालिकाको क्षेत्रमा खासै उल्लेख गर्नलायक काम गरेको देखिदैन । यो पङ्तिकार आफैले पनि जनप्रनिधिहरुलाई अभिभावकविहीन बालबालिकाका निम्ति सवै आधारभूत कुराको सुनिश्चितता गरेर स्थानीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपरयो भन्दै गर्दा मेरो भनाइप्रति कोही पनि गम्भीर भएको देखिदैन । कम्तिमा त्यस्ता बालबालिकाहरु कति रहेछन् भनेर अभिलेख अपडेट गर्ने काम समेत सम्बन्धितहरुबाट हुन नसकिरहेको अवस्था छ ।
बालबालिकाको विकास हुन पाउने अधिकारप्रति समेत अभिभावकको रुपमा रहेका बाबाआमा र सरकार दुवैको तर्फबाट हेलचेक्र्याइ भइरहेकोे छ । भोलीपल्ट विहानदेखि सुरु हुने परीक्षाको तयारी पूरा गरी एसइइ दिने व्यग्र प्रतीक्षामा रहेका बालबालिकाको परीक्षा हठात किसिमले अघिल्लो राती स्थगित गरियो । राम्रो तयारी गरेका कतिपय बालबालिका र परीक्षाका लागि साहुऋण गरेर खर्च जुटाएका अभिभावकहरुले सत्तोसराप गरे सरकारलाई । तथापि सरकारले उनीहरुको कुरा सुनेन । पछि महसुस भयो कि त्यतिबेला त्यो परीक्षा सञ्चालन गरेको भए कोरोनाबाट एकजना पनि मृत्यु हुने त के, सङक्रमित हुने सम्भावना समेत रहेनछ । यो महसुस सरकारले भित्रभित्रै त ग¥यो होला, तथापि त्यो महसुस भएको कुरालाई सार्वजनिक गरिएन । मलाई त लाग्छ, सरकारले यदि आफ्नो देशका बालबालिकालाई सम्मान गर्छ भने परीक्षालाई स्थगित गरेको कारणबाट उनीहरुलाई परेको असरप्रति राज्यले क्षमा माग्नुपर्छ जसरी बाइडेनले सरकारको कारणले एकजना बालिकाको जीवनमा अप्ठ्यारो स्थिति आउदा घुडा टेकेर क्षमा मागे।
यहाँ त सरकारले कहिल्यै क्षमा माग्दैन । जे गरे पनि क्षमा माग्दैन । किन कि उनीहरुलाई दम्भ छ कि उनीहरुबाट कहिल्यै गल्ती हुदैन । कोरोना कालमा विद्यालय बन्द भएका कारण कति बालबालिकाहरु कुपोषणका सिकार भए, कति घरेलु हिंसाका सिकार भए, कति डिप्रेसनका सिकार भए । कति बलात्कारका शिकार भए । कतिले आफूलाई बालविवाहको फन्दामा पारे । कतिले त विभिन्न किसिमका पीडा सहन गर्न नसकेका कारण आत्महत्यासम्म पनि पुगेर जीवनको यात्रा असमयमै टुङ्ग्याए । तथापि सरकारले लकडाउनको कारणले पर्न गएको यो असुविधाप्रति सरकार क्षमाप्रार्थी छ भन्न पनि आवश्यक ठानेन । बरु निर्मलाजस्ता बालिकाहरुको अपराधी खोजी गर्नका लागि अनुरोध गर्दा सरकारका मन्त्रीहरुले ‘यस्ता घटनाहरु त अरु मुलुकमा पनि हुन्छन् । बरु हाम्रो मुलुकमा तुलनात्मक रुपमा यस्ता घटनाहरु त्यत्ति धेरै भएका छैनन्’ भनेर उल्टै पीडकपक्षलाई थप प्रोत्साहन र पीडित पक्षलाई थप पीडा हुनेगरी अभिव्यक्तिहरु सार्वजनिक गरे ।
जहाँ लोककल्याणकारी राज्य हुन्छ, त्यहाँ सरकार गरीव, विपन्न र आवाजविहीनहरको पक्षमा उभिन्छ र उनीहरुको सेवा र सुविधाका निम्ति संघर्षरत रहन्छ । यसका निम्ति धनीहरुबाट भारी कर असुल गरेर गरीवहरुको सेवा र सुविधा विस्तारका निम्ति लगानी गर्दछ । खै, यहाँ त गरीवहरुको निम्ति भन्दा पनि धनीहरुकै इशारामा चलेजस्तो छ सरकार । शिक्षण सहयोग अनुदानबाट बालबालिकालाई पढाइरहेको शिक्षकले वर्षदिन हुुन लाग्दा पनि तलव नपाएका कुराहरु सार्वजनिक भइरहेका छन् । त्यो शिक्षकले भोको पेट पढाउदै गर्दा बालबालिकाले कस्तो शिक्षा पाइरहेका होलान ? यो पङ्तिकारलाई समेत कक्षा ११ मा नयाँ पाठ्यक्रम कि पुरानो पाठ्यक्रम भनेर एकैदिनमा सयौंको फोन आउछ । शैक्षिक सत्र गुम्न लागिसक्यो । परीक्षा फाराम भर्ने बेला आइसक्यो । तथापि सरकार मौन छ । विद्यार्थीहरु अन्यौलमा छन् । यी र यस्ता बालबालिकासँग सम्बन्धित धेरै कुराहरु आँकलन गर्दा सरकार बालबालिकाप्रति गम्भीर देखिदैन । त्यसकारण पनि देशका लाखौं बालबालिकाहरुले बाँच्न पाउने, सुरक्षित हुन पाउने र विकास हुन पाउने जस्ता अधिकारहरु उपभोग गर्न नपाइरहेको अवस्था छ । उनिहरुलाई समृद्धीलाई झै सहभागिताको अधिकारसम्म पुग्न त कति समय कुर्नुपर्ने हो, यसै भन्न सक्ने स्थिति छैन । सवैलाई चेतना भया ।
मिति २०७७ साल पौष २१ गते मंगलबार