पोर्चुगिच स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको साटो पानी पिउन भनेपछि यो विषय अहिले चर्चामा छ ।
युरोकप २०२० को पत्रकार सम्मेलनमा रोनाल्डोले आफूअगाडि राखिएको कोकाकोलाका दुईवटा बोतल हटाएर पानी मात्र राखेका थिए । क्यामेराको फ्रेममा समेत नदेखिने गरी रोनाल्डोले कोकाकोलाकाे बोतल पन्छाएपछि अमेरिकी शेयरमार्केटमा कोकाकोलाले ४ बिलियन डलर गुमाउनुपरेको बिजनेस इन्साइडरले उल्लेख गरेकाे छ ।
भिडियाेबारेः राेनाल्डाेजस्तै पत्रकार सम्मेलनमा राखिएकाे बाेतल पन्छाउने अर्का खेलाडी हुन् फ्रान्सका पउल पाेग्बा । पत्रकार सम्मेलनमा उनीअगाडि राखिएकाे हेनकेन बियरकाे बाेतल निकालेर उनले क्यामेरा फ्रेमभन्दा बाहिर भुइँमा राखिदिएका थिए ।
०००
एकातिर, प्रतिष्ठित प्रतियोगिता युरोकपको ‘प्रेस कन्फरेन्स’ संसारका करोडौँ मानिसले हेर्छन् । अर्कातिर, फेसबुकमा मात्र १४८ मिलियन फलोअर्स भएका रोनाल्डोले पानी पिउनु ठीक भनेपछि कोकाकोलाको व्यापार घटेको धेरैको अनुमान छ । यद्यपि, यसको कुनै तथ्यपरक विवरण भने पूर्ण रूपमा उपलब्ध छैन । कोकाकोला कम्पनीले चाहिँ पेयपदार्थ मानिसले चाहनाअनुसार लिन सक्ने प्रतिक्रिया दिएको छ । ‘सबै मानिस आफ्नो रोजाइको पेयपदार्थका हकदार छन् । मानिसको स्वाद र आवश्यकता अलग-अलग हुन्छ’, कम्पनीका प्रवक्तालाई उद्धृत गर्दै एथलेटिकले लेखेकाे छ ।
३६ वर्षीय रोनाल्डो आफ्नो स्वास्थ्यलाई लिएर निकै सचेत मानिन्छन् । उनको ‘डाइट चार्ट’लाई संसारका थुप्रै सेलिब्रेटी, खेलाडीले फलो गर्छन् । सोसियल मिडिया विक्सकाे एक रिपाेर्टअनुसार सेलिब्रेटी वा खेलाडीले कुनै प्रोडक्टको प्रचार गरिदिँदा त्यसको व्यापार एकाएक बढ्छ । यस क्रममा मानिसहरू त्यो प्रोडक्टले स्वास्थ्यमा कति हानि पुर्याउँछ भन्ने कुराको हेक्का राख्दैनन् ।
सन् १९८६ मा फिफा विश्वकप मेक्सिकोमा भएको थियो । अमेरिकाको ठूलो चुरोट कम्पनी आरजे रेनोल्डस प्रतियोगिताको मुख्य प्रायोजक थियो । तर, त्यस बेला मेक्सिकोमा चुरोटको विज्ञापन निषेधित थियो । त्यस कारण चुरोट कम्पनीलाई प्रायोजकमा राख्नै नहुने आवाज जोडतोडले उठ्यो । तत्कालीन फिफा अध्यक्ष स्टेनली रोसले भने मेक्सिको सरकारलाई चुरोटको विज्ञापन राख्न दबाब दिए । र, कानुनले निषेध गर्दागर्दै मेक्सिको सरकारले चुरोटको प्रायोजनलाई स्वीकार्यो । त्यो विश्वकपपछि नै मेक्सिकोका मानिसहरूमा चुरोटको लत एकाएक बढेको बताइन्छ । २०औँ शताब्दीको सुरुमा सिगरेटको प्याकेटमा फुटबलको चिह्न हुन्थ्यो । त्यसैले सिगरेट पिउनु ‘फेसन’जस्तो बन्यो । ठूला प्रतियोगिता, सेलिब्रेटी, प्रतिष्ठित खेलाडीले गर्ने विज्ञापनले जनस्वास्थ्यमा ठूलो प्रभाव पार्ने कुरालाई मेक्सिकोबारे माथिको प्रसंगले प्रस्ट पार्छ ।
कोकाकोला पिउनु मानिसको स्वाथ्यका लागि लाभदायक छैन भन्ने स्पष्ट संकेत रोनाल्डोको छ । त्यसैले यो विषयलाई धेरैले संसारका करोडौँ मानिससँग जोडिएको मुद्दा भनेका छन् । र, केही प्रश्न पुनर्जीवित पनि भएका छन्, जुन उपभोक्ता सरोकारकै हुन्- रोनाल्डोले किन कोकाकोला पन्छाएर पानी पिउन भने ? कराेडाैँ मानिसले निर्धक्क पिउने कोकाकोला स्वास्थ्यका लागि हानिकारक नै छ त, हाे भने कसरी ?
रोनाल्डोले बोतल पन्छाएकाले कोकाकोलाको चर्चा भए पनि हलुका पेय पदार्थ (सफ्ट/काेल्ड ड्रिङ्क्स) मानव स्वास्थ्यका लागि उस्तै हानिकारक हुने विशेषज्ञहरू बताउँछन् । मेडिकलन्युज टुडे डटकमले विभिन्न स्रोतहरूका आधारमा ‘के कोकाकोला तपाईंको स्वास्थ्यका लागि खराब छ ?’ शीर्षकको आलेख तयार गरेको छ, जहाँ १ घण्टाभित्र कोकाकोलाले शरीरमा पुर्याउने असरबारे उल्लेख छ । यीमध्ये बेलायतका फर्मासिस्ट निरज नाइकको एउटा लेखलाई आधारका रूपमा समेटिएको छ । नाइकको तर्कचाहिँ सन् २०१५ मा स्वास्थ्यसम्बन्धी लेखक बेलायती वेड मेरिडिथ (Wade Meridith) को रिसर्चमा आधारित छ । वेडको अध्ययन रिपोर्ट बेलायतको प्रतिष्ठित अखबारले पनि छापेको थियो, जसमा कोकाकोलाले शरीरमा १ घण्टाभित्र के-के गर्न सक्छ भन्ने उल्लेख छ ।
अध्ययन ३ सय ३० मिलिलिटरको बोतल वा क्यान लिने गरेकाहरूमाथि गरिएको हो । तपाईंले साढे ३ सय एमएल कोकाकोला पिउनुभयो भने १० मिनेटमै तपाईंको शरीरमा दश चम्चा चिनी छिर्छ । यत्रो मात्रामा चिनी एकसाथ शरीरको प्रणालीमा जाँदा उल्टी हुनुपर्ने हो । तर, हुँदैन । किनकि, कोल्ड ड्रिङ्क्समा फोस्फोरस एसिड मिसाइएको हुन्छ, जसले हाम्रो जिब्रोले थाहा पाउने गुलियोलाई कम गराइदिन्छ । कोकाकोला पिएको २० मिनेटमा तपाईंको शरीरमा ब्लड सुगर बढ्छ । शरीरमा इन्सुलेनको गति तीव्र हुन थाल्छ । र, तपाईंको कलेजाेले यसलाई सम्हाल्ने कोसिस गर्छ । यसका लागि कलेजाेले अतिरिक्त सुगरलाई फ्याट (बाेसाे)मा बदल्न थाल्छ । कोल्ड ड्रिङ्क्समा क्याफिन पनि हुन्छ । पिएको ४० मिनेटपछि शरीरले यो क्याफिनलाई पूर्ण रूपमा ग्रहण गर्छ । अब तपाईं चंगा महसुस गर्न थाल्नुहुन्छ । निन्द्रा पनि हराउँछ । आलस्य गायब हुन्छ । यस क्रममा ब्लड प्रेसर लेभल पनि बढ्छ । यसलाई सम्हाल्न कलेजाेले अझै बढी सुगर शरीरमा छोड्न थाल्छ ।
४५ मिनेटपछि शरीरमा डोपामाइन (dopamine) नामक केमिकलको मात्रा बढ्न थाल्छ । डोपामाइनले दिमागमा खुसी जगाउने भागलाई सक्रिय बनाइदिन्छ । यसले तपाईंलाई आनन्द महसुस गराउँछ । हिरोइनजस्तो ड्रग्स सेवन गर्दा पनि यस्तै खाले महसुस हुन्छ ।
कोला पिएको ६० मिनेटपछि फाेस्फाेरिक एसिड, क्याल्सियम, म्याग्नेसियम र जिङ्कजस्ता मिनरल्स शरीरको स्मल इन्टेस्टाइनमा पुग्छन् । अब तपाईंलाई पिसाब लाग्छ । यसरी कोल्ड ड्रिङ्क्समार्फत तपाईंको शरीरमा पुगेको पानी बाहिर निस्कन्छ । यसका साथै क्याफिन र फाेस्फाेरिक एसिडका कारण क्याल्सियम, म्याग्नेसियम र जिङ्कजस्ता खनिज पदार्थ शरीरको हड्डीसम्म पुग्न पाउँदैनन् । यसो हुँदा हड्डीहरू कमजोर हुन्छन् । ६० मिनेटपछि तपाईंको शरीर थाकेको महसुस गर्न थाल्छ । र, शरीरमा रहेको पोसक तत्त्व पनि बाहिर निस्कन्छ । अब तपाईंको शरीर राम्रोसित हाइड्रेट हुँदैन । खासमा तिर्खा मेटाउन तपाईंले पिउने कोकाकोलाले अन्ततः तपाईंको शरीरमा भएको पानीसमेत सुकाइदिन्छ ।
कोकाकोला मात्रै हाेइन
प्रायः सफ्ट ड्रिङ्क्स सोडायुक्त हुन्छन्, जसमा गुलियो र अप्राकृतिक फ्लेभर हुन्छ । nielsen.com को अक्टुबर २०१६ को रिपोर्टअनुसार हाम्रो छिमेकी भारतमा २०१५ मा १ अर्बभन्दा बढी मानिसले ६ अर्ब लिटर सफ्ट ड्रिङ्क्स पिएका थिए । त्यो वर्ष भारतमा कोकाकोलाको बजार हिस्सा ३३.७ प्रतिशत थियो । नेपालमा यस्तो तथ्यांक छैन । तर, यहाँ पनि सफ्ट ड्रिङ्क्स पिउनेको जमात ठूलै छ ।
दही बेचेर डिउ
तिर्खा लाग्दा हाम्रो शरीरले पानी खोज्छ । पानीबाहेक सम्झिने हो भने अक्सर हामी कोकाकोला, डिउ, पेप्सीजस्ता पेय पदार्थ नै सम्झिन्छौँ । कतिपयलाई त यी पेय पदार्थ लिने बानी परेको हुन्छ भने कतिपयले ‘फेसन’का रूपमा पिउँछन् । केही वर्षअघिसम्म गाउँघरतिर पाहुना आउँदा दही, मोही, दूध अथवा घरमै बनाएको सर्वत दिएर स्वागत गरिन्थ्यो । तर, हिजोआज ग्रामीण भेगतिर समेत कोकाकोला, डिउजस्ता पेय पदार्थ अतिथि सत्कारमा बढी प्रयोग गरिन्छ ।
गाउँतिरका साना व्यापारिक स्थानहरूमा मात्रै होइन, समुदायको सानो एकाइ परिवारमा समेत कोकाकोला, डिउजस्ता झोलहरू प्रिय छन् । यस्ता वस्तु अहिले हाम्रो समाजका लागि स्वीकार्य मात्र होइन, शान, मान र सगुन सामग्री नै बनिसकेको देखिन्छ । गाउँतिर त कतिपयले जुस मानेरसमेत काेक, फेन्टा, डिउ पिउने गरेका छन् । यसरी हेर्दा कोक, पेप्सीजस्ता ग्यासयुक्त चिसो झोलहरू अहिले नेपालका दूरदराजसम्म पुगिसकेका छन्, जहाँ दूधका प्याकेट र औषधिहरूसमेत पुग्न सकेका छैनन् ।
जनस्वास्थ्यविद् डा. शरद वन्त सात वर्षअघिको एउटा घटना सम्झिन्छन् । उनको टोली मकवानपुरको राक्सिराङ चेपाङ बस्तीमा पुगेको थियो । त्यो बस्तीमा जताततै कोक, पेप्सी, डिउजस्ता पेय पदार्थका खाली बोतलहरू यत्रतत्र फालिएका थिए । ‘त्यो देखेर हामी छक्क पर्यौँ । गाउँलेले थाहा नपाएर आफ्नो स्वास्थ्यलाई जोखिमतिर धकेलिरहेका रहेछन्’, डा. वन्त सम्झिन्छन् ।
खासमा उनीहरू पोषणसम्बन्धी कार्यक्रममा भाग लिन त्यो गाउँ गएका थिए । तर, बस्तीवासीमा चिसो पेय पदार्थको लत देखेपछि वन्तसहितको टोलीले जनचेतना अभियान नै चलायो । ‘गाउँका व्यापारी साथीहरू रिसाउनुभयो । तर, नजानेर मान्छेले आफूलाई जोखिमउन्मुख गराइरहेकोमा हामी कसरी मुकदर्शक बन्न सक्थ्यौँ र ? पहाडमा मूलको पानी कलकल पिउन पाइन्छ’, उनले भने, ‘त्यो ठाउँमा बजारको पेय पदार्थ पिएर मानिसको स्वास्थ्य, जीवनशैली र आर्थिक पाटो बिग्रँदो थियो ।’ उक्त अभियानमा स्थानीयले पूराका पूरा साथ दिएको वन्त बताउँछन् । ‘दुई वर्षअघि फेरि राक्सिराङ पुग्दा पेय पदार्थका बोतलहरू नभेटिएको उनले बताए ।
चिसो पेय पदार्थले स्वास्थ्यसँगै आर्थिक रूपमा समेत नागरिकले क्षति बेहोर्नुपरेको वन्तको तर्क छ । ‘बजारको पेय पदार्थले कति आर्थिक शोषण भइरहेको छ, यो खोजीको विषय हो । पेय पदार्थ किनेर खानुको सट्टा दूध खायो भने स्वास्थ्य पनि राम्रो हुन्छ । अनि आर्थिक शोषणमा पनि परिँदैन’, उनको सुझाव छ ।
पश्चिमी जीवनशैली तथा संस्कृतिको ‘अन्ध अनुसरण’लाई हामीमध्ये धेरैले गर्वका रूपमा स्वीकारिरहेका छौँ । तर, यस्तो नक्कलबाट आफूले के पाइरहेको छु अथवा गुमाइरहेको छु भन्ने हेक्का हामीले विल्कुल राखिरहेका छैनौँ । आधुनिक जीवनशैलीको पपुलर ट्रेड मार्क बोकेर संसारभर फैलिरहेका पश्चिमी शैलीका खानपान अहिले नसर्ने रोगहरूको एउटा प्रमुख कारकका रूपमा देखापरेको पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् ।
डा. उप्रेतीका अनुसार यस्ता स्वास्थ्य समस्याबाट छुटकारा पाउन फेरि पश्चिमी शैलीकै औषधिको भर पर्नुपरेको छ । पश्चिमी शैलीका खानपानमध्ये कोक, पेप्सी र इनर्जी ड्रिङ्कजस्ता हल्का पेय पदार्थले मोही, सर्वतजस्ता नेपाली शैलीका कैयौँ पेय पदार्थलाई विस्थापन नै गरिसकेको उनको भनाइ छ । ‘स्वस्थकर यस्ता स्थानीय पेय पदार्थको विस्थापन गरेका पश्चिमी शैलीका पेय पदार्थहरू अहिले हाम्रा गाउँघरमा छ्यापछ्याप्ती पाइन थालेका छन् ।
ग्रामीणक्षेत्रका कतिपय मानिसहरूले दूध, दहीजस्ता पोसिला पेय पदार्थ बेचेर कोक, पेप्सी किनिरहेको देखिन्छ’, डा. उप्रेती भन्छिन्, ‘आधुनिक जीवनशैली अपनाउने लहडमा अहिले धेरै मानिस स्वस्थकर तथा पोसिला स्थानीय पेय पदार्थको सट्टा नाकमा ठुस्स पिरो धुवाँको मुस्लो छोड्ने र पेटलाई ढुस्स पार्ने यस्ता बजारिया पेय पदार्थको स्वादमा रमाइरहेका छन् । यसका कारण भविष्यमा उनीहरूको दाँत, पेट, हाड, जोर्नीलगायत शरीरका अन्य अङ्गहरूमा धेरै किसिमका रोगले घर बनाउँछ ।’
पोषणविद् डा. अरुणा र लक्ष्मण अधिकारीले नेपालका विभिन्न क्षेत्र डुलेर, त्यहाँको जीवनशैली, खानापानबारे अध्ययन गरेर ‘खाना खानुभयो ?’ नामक पुस्तक लेखेका छन् । पुस्तकमा लेखकद्वयले कोकाकोलाजस्ता हलुका पेय पदार्थ (सफ्ट ड्रिङ्क्स) ले शरीरमा पुर्याउने असरबारे चर्चा गरेका छन् ।
‘विज्ञापनलाई नपत्याइहाल्नू‘
रोनाल्डोले कोकाकोलाको बोतल हटाएर पानी पिउनुपर्छ भनेपछि धेरैले उनलाई नैतिक मानेका छन् । किनकि, एउटा असल सेलिब्रेटी वा खेलाडीले आफूलाई माया गर्ने शुभचिन्तक, फ्यानको स्वास्थ्यप्रति पनि संवेदनशील हुन जरुरी हुन्छ । खेलाडीले सफलतापछि घ्वाटघ्वाट कोक, पेप्सीजस्ता पेय पदार्थ पिएर आनन्द लिएको देखाउने टेलिभिजनको विज्ञापन वा अन्य माध्यममा आउने भिडियो, पोस्टरले युवायुवतीलाई हरेक खुसीमा यसै गर्न प्रेरित गरिरहेको हुन्छ । अर्धनग्न नर्तकीले पसिना पुछ्दै पिइरहेको देखेपछि यो पिउनैपर्ने पेय रहेछ भन्ने सन्देश युवाहरूमा गइरहेको हुन्छ । खप्नै नसकिने गर्मी र त्यसमाथि तिर्खा लागेको बेला यस्तै पेय पदार्थहरू पिउनु उत्तम हुन्छ भन्ने विज्ञापनका सन्देशले मानिसहरू पानी र अन्य स्थानीय पेय पदार्थ छोडेर कोक, डिउ खोज्न थालेका छन् ।
खाना खानुभयो ? पुस्तकमा डा. उप्रेती र अधिकारीले सेलिब्रेटी देखाएर कतिपय कम्पनीले ‘भ्रामक’ विज्ञापनबाट जनस्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेको उल्लेख गरेका छन् । पुस्तकका अनुसार यस्ता पेय पदार्थले स्वास्थ्यमा सकारात्मक परिवर्तनहरू ल्याएको भ्रम पार्ने विज्ञापनहरूका कारण हामी आफूलाई राम्रै गरिरहेको होला भन्ने विश्वासमा हुन्छौँ । यसरी पिउँदापिउँदै कतिपयलाई त नशालु पदार्थजस्तै लत नै लागिसकेको हुन्छ । ‘ठोस खाद्य वस्तुहरूको साटो पनि यस्ता वस्तु खाने र कुपोषणले ग्रस्त हुने गरेको पनि हामीले अध्ययनका क्रममा पायौँ’, डा. उप्रेतीले शिलापत्रसित भनिन् ।
पेय पदार्थ बिकाउन भड्किला विज्ञापनहरूको ठूलै असर औँल्याउँछन् जनस्वास्थ्यविद् वन्त । उनका अनुसार राक्सिराङमा कोक, डिउजस्ता पेय पदार्थका खाली बोतल त्यसै थुप्रिएका थिएनन् । त्यो विज्ञापनकै परिणाम थियो । आज त्यस्ता बोतल देखिँदैनन् । योचाहिँ हाम्रो अभियानको असर हो । ‘विज्ञापन गर्ने, मार्केट प्रवर्द्धन गर्ने तरिका कस्तो छ ? पेय पदार्थ पिएर बाइक गाडीमा उफ्रिएको देखाइन्छ । यसरी गलत सन्देश दिइँदै छ’, उनी भन्छन् ।
पिउँदा मजा, गाेजी र शरीरलाई घाटा
खाद्य वैज्ञानिक तथा प्राविधिक एसोसिएसन (नेफोस्टा)का महासचिव डा. आलोक श्रेष्ठका अनुसार कोक र पेप्सीजस्ता पेय पदार्थ रङ, बास्ना, गुलियो अमिलो स्वाद घोलेर फिँज उठ्ने बनाएर तयार गरिएको हुन्छ । यसले फाइदा होइन, हानि गर्छ । यी पेयहरू पानीको तुलनामा धेरै महँगा पनि छन् ।
खाना खानुभयो ? पुस्तकमा उल्लेख भएअनुसार हामीमध्ये धेरैले यसलाई जानेर वा नजानेर हार्दिकतापूर्वक स्वीकार गरिरहेका छौँ । ‘यस्ता चिसो झोललाई पत्रु खाना मानिन्छ । पत्रु खाना भनेको पोषणतत्त्वरहित खाना हो । चिसो झोलमा हुने एक मात्र काम लाग्ने तत्त्व भनेको चिनी हो, जुनचाहिँ मानिसहरूलाई अन्य खानाबाट नै प्राप्त हुने गर्दछ । झोलबाट प्राप्त हुने थप चिनी र यसमा हुने अन्य तत्त्वहरू आवश्यक नपर्ने मात्र होइन कि यी पदार्थहरू भविष्यमा विभिन्न स्वास्थ्य समस्याका कारण पनि बन्न सक्छन् । ती तत्त्वहरूले मानिसको हाड कमजोर हुने, शरीर मोटो पार्ने, दाँत खियाउने र क्यान्सरजस्ता रोगहरू निम्त्याउन पनि सक्छन् । त्यसैले यस्ता चिसो झोलको सेवन गर्दा स्वास्थ्यलाई नराम्रो असर मात्र गरिरहेको हुन्छ, फाइदा त केही देखिन्न’, पुस्तकमा उल्लेख छ ।
कोकाकोला, डिउ, पेप्सीजस्ता सफ्ट ड्रिङ्क्सले मानिसको शरीरमा पुर्याउने असरलाई मजाले बुझाउन जनस्वास्थ्यविदद्वयले आफ्नो पुस्तकमा विभिन्न उदाहरण र प्रसंग पनि समेटेका छन् ।
जस्तो कि, सन् १९६९ मा जाम्बियाको एउटा घटना । जम्बियाका थुप्रै आमाहरूले आफ्ना बालबच्चालाई स्तनपान गराउनुको सट्टा कोक र फेन्टा खुवाउँथे । त्यस बेला धेरै बालबच्चा कुपोषणका कारण अस्पताल भर्ना भएका थिए । तीमध्ये ५४ प्रतिशत बालबच्चालाई कोक फेन्टाजस्ता चिसो झोल खुवाइएको थियो । त्यसरी कुपोषित भएका बच्चाहरूलाई ‘फेन्टा बेबी’ नामकरण गरिएको थियो ।
।
पिउने बानी, हानि नै हानि
वेड मेरेडिथको रिसर्चमा कोकाकोलाले १ घण्टाभित्र शरीरमा पुर्याउने हानिबारे उल्लेख छ । तर, यसका दीर्घकालीन हानिहरू धेरै छन् । मुटुरोग विशषज्ञ डा. ओम मूर्ति अनिल भन्छन्, ‘दिनैपिच्छे एक गिलास कोल्ड ड्रिङ्क्स पिउँदा मेटाबोलिक सिन्ड्रोमको सम्भावना ५० प्रतिशत बढ्छ । यति नै बराबर स्याउ, केरा खायो भने पेटमा गएर, ब्रेक डाउन भएर इन्सुलिन नेचुरल प्रोसेसमा निस्कन्छ, जसले कुनै हानि गर्दैन । चिनी हालेर कृत्रिम पदार्थ खायो भने हानि गर्छ । प्राकृतिक गुलियो खायो भने हानि गर्दैन ।’
जति कोल्ड ड्रिङ्क्स पिइयो, त्यति अतिरिक्त शक्ति लगाउनुपर्ने र यसले स्वास्थ्यमा दीर्घकालीन असर गर्ने उनको चेतावनी छ । भन्छन्, ‘कोल्ड ड्रिङ्क्स पिएपछि ओभर पर्फर्मेन्स गर्नुपर्ने हुन्छ । ओभर पर्फर्मेन्स बारबार भयो भने एउटा यस्तो अवस्था आउँछ, जसलाई इन्सुलिन रेजिस्टेन्स सिन्ड्रोम भनिन्छ । शरीरमा जुन हिसाबले इन्सुलिन उत्पादन हुनुपर्ने हो, त्यो हुन पाउँदैन । यसले भविष्यमा ‘मेटाबोलिक सिन्ड्रोम’ र त्यसपछि प्रेसर, सुगर, कोलेस्टेरोल, मुटु, मस्तिकलगायतको रोग निम्त्याउँछ ।’ एक गिलास कोल्ड ड्रिङ्क पिएको ३० मिनेटभित्र रगतमा ग्लुकोजको मात्रा बढ्ने उनको भनाइ छ ।
कोकाकोलाले स्वास्थ्यमा पुर्याउने असरबारे सन्देश दिन डा. ओमले फेसबुकमा यस्ताे भिडियाे पाेस्ट गरेका छन्:
पोषणविद् उप्रेती र अधिकारीले पनि आफ्नो पुस्तकमा चिसो पेयका दीर्घकालीन असरबारे उल्लेख गरेका छन् । केही प्रसंग त यस्ता पनि छन्, जहाँ कोकाकोलाको लतले स्वास्थ्यमा असर मात्र होइन, मानिसको मृत्यु नै भएको छ ।
बजारमा पाइने सफ्ट ड्रिङ्क्समा स्वास्थ्यलाई हानि गर्ने विभिन्न तत्त्व मिसाइएका हुन्छन् । जस्तो कि, चिनी, क्याफिन, अम्लहरू, वाष्पित पानी, कार्बानडाइअक्साइड, कृत्रिम बास्ना । यी झोलमा स्फूर्तिदायक र लत बसाउने तत्त्वहरू पनि हुने डा. उप्रेती बताउँछिन् । यस्तो तत्त्वले हाम्रो स्वास्थ्यमा दीर्घकालीन असर गर्न सक्छ । केटाकेटीलाई यी झोलहरूमा हुने चिनीले मोटो बनाउँछ । चिसो झोलमा फोस्फोरिक अम्ल धेरै मात्रामा हुने हुँदा केटाकेटीको हाडलाई कमजोर पार्न सक्ने अनुमान पनि छ ।
चिनीले चिन्ता
कोकाकोलाजस्ता पेय पदार्थमा ४ देखि १५ चियाचम्चासम्म चिनी घोलिएको हुन्छ । अहिलेका केटाकेटीको दाँत बिगार्नेमध्ये चिनी मुख्य कारण हो । चिकित्सकहरू चिनीलाई मधुमेहको जोखिम बढाउने तत्त्व मान्छन् । खाना खानुभयो ? पुस्तकका अनुसार हृदय रोग, अपच, छालाका समस्या तथा अन्य घातक रोगहरूको वृद्धि गर्नमा पनि चिनीको भूमिका प्रधान हुन्छ ।
‘एक चियाचम्चा चिनीले १६ क्यालोरी शक्ति पैदा गर्दछ । १५ चम्चा चिनी भएको कुनै झोल पिएमा त्यसबाट २ सय ४० क्यालोरी अर्थात् ५ चम्चा नौनी खाएबराबरको क्यालोरी उत्पन्न हुन्छ’, उप्रेती-अधिकारी पुस्तकमा लेख्छन्, ‘वयस्क मानिसलाई दैनिक ४० देखि ५० ग्राम चिनी चाहिन्छ । यति चिनी हामी दैनिक भोजनबाट नै पाउन सक्छौँ । यसका लागि थप चिनी खान आवश्यक छैन । कोक, पेप्सीजस्ता चिसो झोल पिउँदा हाम्रो शरीरमा आवश्यकभन्दा बढी चिनी छिर्छ । यसले तौल बढाउनेलगायत अन्य विभिन्न समस्या उत्पन्न गर्छ ।’
सन् २०१२ मा न्युयोर्कका मेयर माइक ब्लूम्बर्गले एउटा निर्णय लिए, ‘कोकाकोला, पेप्सीलगायत चिनी भएका अन्य चिसो पेय पदार्थका ठूला बोतलको सट्टा साना बोतल (१८औंसको सट्टामा १६औंस अर्थात् ४७३ एमएल मात्र बेच्न पाउने । याे निर्णयपछाडि एउटा कारण थियो, आफ्ना नागरिकको बढ्दो तौल (मोटोपन) नियन्त्रण गर्नु । तर, कोल्ड ड्रिङ्क्सको लत लागिसकेका नागरिकले उक्त निर्णय मान्न इन्कार गरे । उनीहरूको तर्क थियो- यस्तो पेय पदार्थले दाँतमा नराम्रो असर त गर्छ तर के ३ घण्टासम्म सिनेमा हलमा बस्दा हामीलाई प्यास लाग्दैन ? खासमा प्यास लाग्दा कोक, पेप्सीजस्ता पेय वस्तु नै खान उनीहरू बानी परिसकेका छन । त्यसैले आज पनि अक्सर अमेरिकीहरूको तौल बढी हुन्छ ।
कोकाकोलाजस्ता पेयलाई रक्सीजस्तै लत लाग्ने पेय हो भन्ने बुझाउन उप्रेती-अधिकारीले आफ्नो पुस्तकमा एउटा प्रसंग थपेका छन् । सन् २०१० मा न्युजिल्याण्डकी ३१ वर्षीया महिला नताशा ह्यारिनको मुटुको चाल बिग्रिएर मृत्यु भयो । एबीसी न्युजका अनुसार उनको मृत्युको प्रमुख कारण अति धुमपान र अति बढी कोकाकोलाको सेवन थियाे । उनका नजिकका साथीहरूले सञ्चारमाध्यममा बताएअनुसार ‘नताशाले कोक पिउन नपाउँदा उनी काप्न थाल्थिन् । उनको टाउको दुख्न सुरु हुन्थ्यो । उनलाई रक्सीको जस्तै लत लागेको थियो । समस्याका कारण नताशाका सबै दाँत मृत्युभन्दा धेरै वर्षअगाडि नै झिकिसकिएको थियो । र, यसको मुख्य कारण नै कोकाकोलाको अत्यधिक सेवन थियो । कोकाकोलामा भएको अत्यधिक चिनी, क्याफिन र अन्य रसायनले उनको स्वास्थ्यमा गम्भीर असर पुर्याएको थियो ।
मीठाे बास्ना, तिखाे असर
कोल्ड ड्रिङ्क्समा पाइने अर्को असरदार तत्त्व हो क्याफिन, जसले झोललाई बास्नादार बनाउँछ । विशेषज्ञहरूका अनुसार क्याफिनले हाम्रो केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउँछ अनि लत बसाउँछ । ‘यसले कृत्रिम रूपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयगति बढाउँछ । यस्तो उत्तेजित अवस्थामा स्मरण शक्ति बढेको, स्फूर्ति बढेको र थकाइ मेटिएको अनुभव हुन्छ । तर, यस्तो अवस्था क्षणिक हुन्छ’, पोषणविद् डा. उप्रेती भन्छिन्, ‘शारीरिक कसरतपछि चिसो झोल पदार्थ पिउँदा शरीरमा क्याल्सियम र पोटासियमको कमी हुन्छ । फलतः मांसपेशीहरू सुन्निन सक्छन् र कसरतपछि यथास्थितिमा फर्कन धेरै समय लाग्छ ।’ यति मात्र होइन, कोला झोलहरूमा हुने क्याफिन र चिनी दुवैले क्याल्सियम नष्ट गर्ने र हाडहरू खियाउँछन् ।
वाष्पित पानी, जाेखिममा जिन्दगानी
कोकाकोला, पेप्सीजस्ता पेय पदार्थमा बास्ना, गुलियो स्वादलगायत फिँजहरू आउने ग्यासहरू राखिएको झोल हो । यो पिउनेको पिसाबबाट ठूलो परिमाणमा म्याग्नेसियम, क्याल्सियम र अन्य अदृश्य खनिजहरू निस्कासन हुने गरेको अध्ययनमा पाइएको छ । डा. उप्रेती र अधिकारीले गरेको अध्ययनअनुसार शरीरबाट जति बढी खनिजको निष्कासन हुन्छ, त्यति नै बढी हाड कमजोर हुने (Osteoporosis), हड्डी वाथ सुजन हुने (Osteoarthritis), थाइराइड ग्रन्थीका कमजोरी (Hypothyroidism) मुटुको धमनीका रोगहरू (Coroanary Artery Disease), उच्च रक्तचाप र सामान्यतया प्रौढावस्थामा देखिने गडबडीहरूजस्ता स्वास्थ्य समस्याको जोखिम सामना गर्नुपर्ने हुन्छ ।
ग्यासमा सास
कार्बनडाइअक्साइड हाम्रो शरीरले अक्सिजन लिएर सासबाट निष्कासित गर्ने ग्यास हो । यो ग्यास शरीरलाई आवश्यक पर्दैन । चिसो झोलमा फोकाहरू उठाउनका लागि यो ग्यास राखिएको हुन्छ ।
तिर्खा मेटिए–मेटिएजस्ताे, तर शरीरकै पानीमा हानि
योगगुरु रामदेवले कोकाकोला चर्पी सफा गर्नका लागि उपयुक्त छ भन्ने अभिव्यक्ति दिएका थिए । अरू बेला अन्टसन्ट बाेलेर चर्चामा रमाउने रामदेवकाे याे भनाइमा भने विज्ञहरू पनि तर्क देख्छन् । किनभने कोल्ड ड्रिङ्क्समा अम्लहरू हुन्छन् । जस्तो कि, ताजा राख्न र चखिलो बनाउन साइटिक एसिड, फोस्फरिक एसिड र कहिलेकाहीँ म्यालिक र टारटारिक अम्ल राखिएको हुन्छ । जनस्वास्थ्यविद् सुजन मरहट्ठाका अनुसार यस्ता अम्लले तरल पदार्थलाई सड्नबाट जोगाउँछन् भने स्वादलाई सन्तुलनमा राख्छन् । ‘यस्तै अम्लका कारण जब हामी चिसो पेय पदार्थ पिउँछौँ, तिर्खा मेटिएजस्तो हुन्छ ।
पोषणविद् डा. उप्रेती सबै प्रकारका सफ्ट ड्रिङ्क्स खासगरी कोलाहरू धेरै नै अम्लीय हुन्छन् । यसमा कडा अम्ल भएकै कारण रामदेवले यसलाई चर्पी सफा गर्न उपयुक्त मानेको हुन सक्ने उनको ठम्याइ छ । उप्रेती-अधिकारीले लेखेको पुस्तकका अनुसार चिसो झोलहरू पिउँदा माथि तैरिएका फोका तथा फिँजले नै आनन्द दिन्छन् । यी फोका र फिँज फोस्फोरिक अम्ल र कार्बनडाइअक्साइडबीचको प्रतिक्रिया भएर बन्छन् । यी तत्त्वहरूका कारणले पेट पोल्ने र घाउ हुने गर्दछ । फोस्फोरिक अम्ललाई क्रोम धातुको खिया र मोटरको ब्याट्री सफा गर्न प्रयोग गरिन्छ । यो कुराले नै यो अम्ल निकै पोल्ने खालको छ भन्ने स्पष्ट गरिहाल्छ । धातुको खिया पखाल्ने अम्लले हाम्रो शरीरको मासुलाई सजिलै पोल्न सक्छ ।
कृत्रिम बास्नामा बाधैबाधा
कोकाकोलाजस्ता चिसो पेय पदार्थबाट आउने बास्ना सबै कृत्रिम हुन् । खाना खानुभयो ? पुस्तकमा लेखिएको छ- टारटजिन नामक रङले सुन्तले पहेँलो रङ दिन्छ । यो रङले छालामा डाबर उठ्ने, नाकबाट पानी बग्ने र आँखा रातो हुनेजस्ता एलर्जी हुन सक्छ । यसलाई क्यान्सरको सम्भावित कारक पनि मानिएको छ । धेरैजसो चिसो झोलहरूमा सोडियम पनि राखिएको हुन्छ । डाइट सोडामा सोडियमको परिमाण ज्यादा हुन्छ । १८० मिलि डाइट सोडामा ३१ मिग्रा सोडियमको परिमाण भेटिएको छ ।
दाँतलाई असर
सन् १९९३ मा बेलायतमा गरिएको बाल दन्त स्वास्थ्य सर्वेक्षणमा नियमित रूपमा चिसो झोल सेवन गर्ने २० प्रतिशत बालबालिकाको दन्तपालिस पखालिएको देखियो । दन्तपालिस पाखालिनु भनेको दाँत सिरिङ्ग हुने या कुँडिने अवस्था हो । चिनी भएको अम्लीय चिसो झोल पिउनासाथ दाँत माझ्नाले दाँतको भित्री भाग पनि कोतरिन्छ । यसरी सफ्ट ड्रिङ्क्सको निरन्तर सेवनले दाँतमा गम्भीर असर पुग्ने दन्त चिकित्सक बताउँछन् ।
दन्तरोग विशेषज्ञ डा. सुशील कोइरालाका अनुसार सफ्ट ड्रिङ्क्समा गुलियो र अम्लीय तत्त्वको मात्रा हुनाले दाँतमा कीरा लाग्ने, प्वाल पार्ने समस्या हुन्छ । यसले इनामेल बिगार्छ’, डा. कोइराला भन्छन्, ‘गुलियो चीज मुखमा लामो समय बस्दा अम्लीयपन बढ्छ । गुलियोले नचाहिने ब्याक्टेरिया बढाउँछ । गिजालाई पनि असर गर्छ ।’
बच्चालाई सानैदेखि गुलियोमा लत बसाउन अभिभावकले नै भूमिका खेलिरहेको उनी ठान्छन् । ‘चाहे चकलेट होस् वा कोकाकोला, बच्चालाई गुलियो खाने बानी हामी आफैँले लगाइदिइरहेका छौँ’, उनी भन्छन्, ‘स्वास्थ्यलाई गुलियोले कति फरक पारेको छ, थाहा पाउन आफ्नो छोरोछोरीको मुख खोलेर हेरे पुग्छ । दाँतमा कीरा लागेको रहेछ भने पूरै स्वास्थ्य बिग्रन थाल्यो भनेर सोच्नुपर्छ । खराब पक्ष भनेकै गुलियोको लत हो । यसले मस्तिष्कमा पनि असर गर्छ ।’ खासगरी कोल्ड ड्रिङ्क्समा भएका अम्लीय तत्त्वहरू नै दन्तक्षयको कारक रहेको उनको भनाइ छ ।
‘अम्लीय तत्त्वका कारण सुरुमा दाँतको बाहिरी पालिसको पत्र खिइन्छ । पछि दाँतको बीच पत्र (Dentine) मा पुग्छ र अन्ततः दाँतको सबैभन्दा भित्री पत्र (Inner Pulp) मा नोक्सान पुग्छ । दाँतको पालिस खिइएपछि दाँतमा तातो, चिसो वा हावा पर्दा पनि सिरिङ्ग हुने गर्छ’, दन्तरोग विशेषज्ञ डा. कोइराला भन्छन् ।
अभिनेत्रीको अपिल
अमेरिका छँदा सोडायुक्त पेय पदार्थ उत्पादन गर्ने कम्पनीमा काम गरेको बताउँदै अभिनेत्री करिश्मा मानन्धरले पानी पिउनमै जोड दिएकी छन् । ‘म अमेरिका हुँदा हेल्थ फुड भनिएको ‘सब वे’ भन्ने फास्टफुडमा निकै वर्ष काम गरेँ । ‘त्यो कार्बनको सिलिन्डर जोड्दा र त्यो सिरपको प्याक हेर्दा म सोडायुक्त पेय पदार्थ खान्नँ भन्ने भयो । अनि अरुलाई विष बाँडिरहेको छुजस्तो लाग्थ्यो । थाहा पाउँदापाउँदै गरेको गल्ती भनूँ !’, कोकाकोलाको बोतल पन्छाएका रोनाल्डोको समर्थनमा फेसबुकमा करिश्माले लेखेकी छन् .
तिर्खा मेटिने आस, पैसाको नाश
चिकित्सक अनि खाद्य वैज्ञानिकहरूले कोकाकोला, डिउ, पेप्सीजस्ता पेय मानव स्वास्थ्यका लागि प्रतिकूल रहेको बताइरहँदा यो मानिसको आर्थिक पाटोसँग पनि जोडिएको छ । शरीरलाई फाइदा हुँदै नहुने कुरामा पैसा खेर फाल्नुलाई जनस्वास्थ्यविद् डा. शरद वन्त चिन्ताको विषय ठान्छन् । भन्छन्, ‘जे कुराले शरीरमा हानि मात्रै गर्छ, त्यसैका लागि पैसा फाल्नु मूर्खता नै हो ।’ सँगै व्यापारका लागि भ्रामक विज्ञापनहरू देखाएर कोल्ड ड्रिङ्क्स उत्पादन गर्ने कम्पनीहरूले उपभोक्तामाथि आर्थिक शोषण गरिरहेको पनि उनी बताउँछन् ।
खाद्य वैज्ञानिक डा. आलोक श्रेष्ठ पनि जनस्वास्थ्यविद् डा. वन्तको भनाइमा सहमत छन् । श्रेष्ठ भन्छन्, ‘कोकाकोला, डिउलगायत पेय पदार्थ पिउँदा सुरुमा त यसकाे असर हामीलाई थाहा नहोला, अझ आनन्द आउला । यसको निरन्तर सेवनले कालान्तरमा पछुताउने अवस्था बनाउँछ । बेलैमा होस पुर्याउन जरुरी छ ।’शिलापत्रकर्मी नवराज कुँवर र दिनेश गाैतम ले तयार पारेकाे रिपाेर्ट शिलापत्रबाट सभार गरिएकाे हाे ।