सेतै हिमालले घेरिएको रमणीय घलेगाउँ एकचोटी पुग्ने इच्छा थियो । ग्रामीण पर्यटनबाट आर्थिक उन्नति गर्न सक्ने नेपालका केही सीमित गाउँमध्ये घलेगाउँ पनि एक हो । घलेगाउँको सुन्दरता, ग्रामीण पर्यटन, घलेजातिको कला, संस्कृति तथा इतिहास आदिको बारेमा थुप्रै उत्सुकता थिए । ती उत्सुकता मेटाउन पनि एकचोटी घलेगाउँ पुग्नैपर्छ भन्ने इच्छा तथा चाहना थियो । अन्ततः त्यो इच्छा पूरा भयो । अक्सफोर्ड स्कुलका कक्षा १२ का समाजशास्त्र समूहका विद्यार्थीलाई लिएर घलेगाउँ पुगेरै छाडियो ।
मेरो पेशा भनेको विद्यार्थीलाई पढाउनु पनि हो । कक्षा १२ मा समाजशास्त्रको पढाइ अन्तिम अन्तिम भइरहेको थियो । प्रयोगात्मक पाठ्यभार पूरा गर्नका लागि छलफल भइरहेको थियो । त्यो पाठ्यभार पूरा गर्नका लागि कुनै विशिष्ट ठाउँको सामाजिक अध्ययन–अनुसन्धान गर्नुपर्ने हुन्छ । समाजशास्त्रलाई अनुसन्धानसित कसरी जोड्ने ? सामाजिक जटिलताको कसरी चिरफार गर्ने तथा सामाजिक विश्लेषणका आधारमा नयाँ सोचको कसरी निर्माण गर्नेलगायतका प्रश्न हल गर्न पनि प्रयोगात्मक पाठ्यभारको क्रमबाट अगाडि बढ्नैपर्ने हुन्छ । त्यही उद्देश्य पूरा गर्न घलेगाउँको अध्ययन भ्रमणको योजना बनाइयो र हामी त्यसको तयारीमा लाग्यौँ ।

समाजशास्त्र विषयमा पढेका सैद्धान्तिक कुराले मात्र पर्याप्त ज्ञान प्राप्त हुन सक्दैन । समाजमा राम्रा कुरा के हुन् ? नराम्रा कुरा के के हुन् ? समाजभित्रका विकृति र विसङ्गति के के हुन् ? यी विसङ्गति क्रमशः हटाउँदै कसरी समाज परिवर्तनको दिशातर्फ अगाडि बढ्न सकिन्छ ? यस्ता थुप्रै व्यावहारिक प्रश्नप्रति पनि विद्यार्थी जानकार हुनुपर्दछ । समाजमा कायम रहेका परम्परागत मूल्य र मान्यतामा मात्र सीमित हुनु सही कुरा होइन । अझ सचेत विद्यार्थीले त समाजलाई वैज्ञानिक अध्ययन–अनुसन्धानसित जोड्दै अगाडि बढ्नुपर्ने हुन्छ । समाजको तेजिलो आँखाको रूपमा उनीहरूले आफूलाई स्थापित गर्नुपर्दछ । अहिलेको नेपालको सामाजिक परिस्थितिको विश्लेषण गर्दा पनि यस्ता प्रश्न हल गर्नसक्ने तथा स्पष्ट दृष्टिकोण भएका विद्यार्थीको खाँचो छ । ती विद्यार्थी आफ्नो व्यक्तिगत जीवनमा मात्र सीमित नभएर समाजलाई नयाँ बाटोमा डोराउन सक्ने हुनुपर्दछ । त्यस प्रकारको सामाजिक तथा व्यावहारिक शिक्षाले नै युवा तथा बौद्धिक शक्तिको विदेश पलायनलाई रोक्न केही न केही भए पनि सहयोग पुग्ने छ ।
कोरोना भाइरसको विस्तारै हल्ला चल्न थालेको थियो । काठमाडौँबाहिर कुनै गाउँ जान हुन्छ कि हुँदैन ? प्रश्न उठ्न थालिसकेको थियो । तर विद्यार्थीहरू कुनै गाउँमा गएर सामाजिक अनुसन्धान गर्न अत्यन्तै उत्सुक हुँदै गइरहेका थिए । एक जना विद्यार्थी अस्मिता नेपालले ‘हाम्रो प्रयोगात्मक कार्यभारका लागि घलेगाउँ गए हुँदैन सर ?’ भनेर प्रश्न गरिन् । सबै विद्यार्थीले सहमति प्रकट गरे । यसरी स्कुल प्रशासनसित समेत अनुमति लिएर फागुन २४ गते घलेगाउँका लागि निस्कने योजना बनेरै छोड्यो ।
सामाजिक अनुसन्धानका लागि सम्बन्धित क्षेत्रमा जानुभन्दा पहिले विभिन्न तयारी गर्नुपर्ने हुन्छ । त्यसका लागि स्कुलको ई–क्लासको हलमा हामीले घलेगाउँका विभिन्न पक्षको अध्ययन गर्यौं । घलेगाउँसित सम्बन्धित डकुमेन्ट्रीको अध्ययन गर्ने, अहिलेसम्म भएका अध्ययन–अनुसन्धानको अध्ययन, अन्तरवार्ताको लागि चाहिने प्रश्नावलीको निर्माणलगायत विभिन्न योजनालाई लिएर दिनहुँजसो शिक्षक र विद्यार्थीबिचको अन्तरक्रिया जारी रह्यो र हामीले निश्चित योजना बनायौँ ।
फागुन २४ गते बिहानैबाट पानी परिरहेको थियो । पानी परेर विद्यार्थीको सङ्ख्या घट्ने हो कि जस्तो पानी लागिरहेको थियो । शिक्षक र विद्यार्थी गरेर ३० जनाको सङ्ख्यामा जाने निर्धारित गरिएको थियो । तर जाने बेलासम्म हामी सबै गरेर ४० जना भयौँ । ट्राभलसित एउटा बसको मात्र कुरा गरिएको थियो । अब ४० जना एउटा बसमा कसरी अटाउने ? ४० जनालाई दुई बस लग्न पनि नमिल्ने । सङ्ख्या धेरै देखेर तथा चिसो भएको अनुभूति गरेर चूडा सर भ्रमणमा नजाने निर्णय गर्नुभयो । तर म, रमेश सर, चपला मेम, विष्णु सर र ट्राभलका रमेश सिलवाल सर र अन्य विद्यार्थी एउटै बसमा ठेलाठेल गर्दै घलेगाउँका लागि हुइँकियौँ । विद्यार्थीलाई पहिला सिटमा बसाल्यौँ । अनि, हामी कोही बेन्च, कोही बसको हुटमा बस्दै गन्तव्यतीर अगाडि बढ्यौँ । बाटोभरि विद्यार्थीको गीत, नाँच तथा विभिन्न गतिविधिले कुनै अप्ठ्यारोको अनुभुति नै भएन । हामी मुग्लिन, डुम्रे, बेशीशहर हुँदै घलेगाउँतिर अगाडि बढ्दै गयौँ ।
लमजुङको सदरमुकाम बेशीशहरबाट घलेगाउँको दुरी २७ किमि हो । यहाँबाट पैदल छोटो बाटो पनि रहेछ र ५ घण्टामा पुगिँदो रहेछ । तर हाम्रो बस यात्रा जारी रह्यो । बाटो एकदमै डरलाग्दो । कच्ची बाटो, साँघुरो र अग्ला–अग्ला भीरको बिचबाट बस कुदाउनुपर्ने । अर्कोतिरबाट कुनै बस वा गाडी आयो भने त पार गर्न नै गाह्रो हुने । तर पनि हामी अगाडि बढ्दै गयौँ । वरिपरि लाँलीगुरासका फूलसित रमाउँदै अगाडि बढ्दा डर, अप्ठ्यारोजस्ता चिजको अनुभूति हुनै पाएन । जब हामी बागलुङपानीबाट अगाडि बढ्यौँ, गाडी अगाडि बढ्नै सकेन । बिहान आएको पानीले बाटो चिप्लो भएको रहेछ, जसले गर्दा हाम्रो बस यात्रा त्यहीँ समाप्त भयो ।
साँझको ६ बजिसकेको थियो । अब फर्किने या पैदल भए पनि अगाडि बढ्ने । दुईमध्ये एउटा विकल्प रोज्नुपर्ने थियो । कुनै पनि कठिन परिस्थिति भए पनि हामी घलेगाउँ पुग्न निकै उत्साहित थियौँ । केही विद्यार्थी अगाडि बढिहाले, म केही विद्यार्थीसहित बिचको पङ्क्ति सम्हाले । विष्णु सर र चपला म्याडम बाँकी विद्यार्थीसहित पछिल्लो पङ्क्तिको नेतृत्व गर्नुभयो ।
मभन्दा अगाडिको टोलीले बाटोमा डोजर पाएछन् र त्यसैमा चढेर छिटै घलेगाउँ पुगेछन् । तर हामी केही अगाडि बढेपछि पूरै अन्धकार भयो, दाया–बाया घनघोर जङ्गल थियो । घलेगाउँ पुग्ने बाटोको बारेमा कसैलाई पनि जानाकारी थिएन । तर हामी गीत र नाँचमा यति मस्त भयौँ कि जति थाके पनि, जति अन्धकार भए पनि कुनै अप्ठ्यारोको अनुभूति नै भएन । अमृत, मनिषा, मन्जुलगायत विभिन्न विद्यार्थीले सुरुदेखि अन्तसम्म गीत गाउन छाडेनन् । मैले पनि बिचबिचमा थप्दै गएँ । यसरी हामीले त्यो रातको यात्रालाई अत्यन्तै रोमान्चक बनायौँ । केहीबेरको यात्रापछि ठाडो उकालो चढ्नुपर्ने थियो । चपला म्याडमलगायत केही विद्यार्थी निकै थकित भइसकेका थिए तर हामी उनीहरूलाई हौसला दिँदै केहीबेर थकान मेट्दै, केहीबेर गीत गाउँदै अगाडि बढ्दै गयौँ । अन्ततः २ः३० घण्टाको पैदल यात्रामा समुद्री तहबाट २१०० मिटर उचाइमा रहेको घलेगाउँ पुगेरै छाडियो ।

घलेगाउँका स्थानीय दीर्घ घले हामीलाई स्वागत गर्न आउनुभएको थियो । घलेगाउँका बारेमा उहाँले हामीलाई सामान्य परिचय गराउनुभयो । २ दिन त्यहाँ बस्दा हामीले पालना गर्नुपर्ने नियम तथा अर्को दिनसम्मको कार्यतालिकाको बारेमा जानकारी गराउनुभयो । बेलुका घलेगाउँ हुने स्थानीय सांस्कृतिक कार्यक्रम अर्को दिनको बिहान मात्र हुने जानकारीसमेत गराउनुभयो । त्यसपछि हामी पाँच वटा होमस्टेमा विभाजित भयौँ । छात्रा र म्याडम दुईवटा घरमा, छात्र दुई घरमा तथा हामी शिक्षक एउटा घरमा विभाजित भएर लाग्यौँ । सुरुमा चिया र त्यसपछि बेलुकाको खानाबाट हामीलाई स्वागत गरियो । एकदम पारिवारिक वातावरण तथा “अतिथि देवो भवः” को भावनाबाट हामीलाई सत्कार गरियो । जति थकान भए पनि तुरुन्तै के निद्रा लाग्थ्यो र ? सबै होमस्टेबाट हामी फेरि एक ठाउँमा जमा भयौँ । राती ११ बजेसम्म आगो ताप्दै, गीत गाउँदै हामीले रमाइलो गरिरह्यौँ । कति बेला बिहान होला र सुनौला हिमालसित रमाउन पाइएला ? त्यही आशामा पहिलो दिनको दिनचर्या समाप्त भएरै छाड्यो ।
बिहान आँखा खुल्नेबित्तिकै कोठा बाहिर निस्किएको त, चारैतिर सेता हिमालले स्वागत गरिरहेको थियो । कालो चिया लिएर विष्णु सर र म, गाउँ घुम्न दौडिहाल्यौँ । सुन्दर घरको अवलोकन गर्दै माथि भ्यू टावरसम्म पुग्यौँ । आज बादल लागेको थिएन । त्यसैले प्रष्ट रूपमा हिमालको अवलोकन गर्न पाइयो । त्यहाँबाट हामीले लमजुङ, अन्नपूर्ण, माछापुछ्रे, डा. हर्क गुरुङ, बौद्ध, हिमचुली, मनास्लु हिमालको सुन्दरताको अवलोकन गयौँं । लमजुङ हिमाल त नजिकै १–२ घण्टामै पुगिन्छ कि जस्तो पनि लाग्ने । तर वास्तविकता त्यस्तो रहेन छ ।
आजको कार्यक्रमबारे विद्यार्थीलाई निर्देशन गर्नु थियो । फेरि हतार–हतार तल झरी कोदोको सेल, अन्डा, मिठो तरकारीको खाजा लिँदै विद्यार्थीका साथ पहिलो कार्यक्रमतर्फ अग्रसर भयौँ ।
हाम्रो पहिलो कार्यक्रम भनेको घलेजातिको कला र संस्कृतिको अवलोकन गर्नु थियो । पर्यटन हलको बाहिर घलेजातिका महिला र पुरुष आफ्नो जातिगत पहिरनमा सजिएर बसेका थिए । अन्य आन्तरिक र बाह्य पर्यटकसहित हामी घलेजातिको सांस्कृतिक कार्यक्रम हेर्न सहभागी भयौँ । घाँटुनाच एकैछिनमा सुरु भयो । भाषा नबुभिए पनि मिठो स्वर र आकर्षक नृत्यका साथ उनीहरूले आफ्नो कला प्रस्तुत गरे ।

घाँटुनाँच हेर्दै हामी एकैछिन त्यसैमा रमायौँ । अन्तमा नृत्य गर्ने नानीहरूले टीका लगाई आर्शीवाद दिने चलन रहेछ र हामीले पनि उनीहरूलाई दक्षिणा दिँदै उनीहरूबाट बिदा भयौँ ।
अब हामी हाम्रो प्रमुख कार्यमा केन्द्रित भयौँ । विद्यार्थीलाई प्रयोगात्मक पाठ्यभारको लागि केन्द्रित गर्नु थियो । अनुसन्धानका लागि प्रश्नावलीलगायतका सामग्री तयार भइसकेको थियो । सबैलाई चार–चार जनाको समूहमा विभाजित गरी अनुसन्धानसित सम्बन्धित विषयमा निर्देशन गराइयो । रमेशजीले आमसञ्चारसित सम्बन्धित विषयमा निर्देशन गर्नुभयो । त्यसपछि विद्यार्थीहरू प्राथमिक तथ्य सङ्कलन गर्न विभिन्न घरमा विभाजित भए । हामी पनि विभाजित भएर उनीहरूको अनुसन्धान कार्यको अवलोकन गरिरह्यौ । उनीहरूले घलेजातिको इतिहास, संस्कृति, कला, साहित्य, ग्रामीण पर्यटन, कृषिलगायत आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रका विभिन्न पक्षको बारेका तथ्याङ्क सङ्कलन गर्दै गए । स्थानीय जातिसित सहज रूपमा घुलमिल हुँदै उनीहरूले आफ्नो जिम्मेवारी पूरा गरे । प्रायः एकै प्रकारका घर, घरको अगाडि पाहुनाका लागि बनाइएका होमस्टेलगायतको अवलोकन गर्दै उनीहरूले घलेगाउँको राम्रो अवलोकन गर्दै गए । यसरी प्रतिवदेन लेखनका चाहिने आवश्यक सामग्री पूरा गरियो ।
घलेगाउँको स्थानीय पहिरन भाडामा पाउँदो रहेछ । त्यस प्रकारको पहिरनमा सजिँदै भ्यू टावरबाट सुन्दर तस्बिर लिने कार्य पनि जारी राखियो । घलेगाउँको आकर्षक केन्द्र चियाबगैँचा पनि रहेछ । परम्परागत कृषिमा मात्र सीमित नरही चियाखेती पनि उनीहरूले सुरु गरेका रहेछन् । १० मिनेटको पैदल यात्रामा हामी त्यहाँ पनि पुग्यौँ । चियाबगैँचामा पुगी फरक–फरक कोणबाट तस्बिर लिने कार्य पनि जारी राखियो । १२०० भेडा पाल्ने भेडीगोठ अहिले केही टाढा सारिएको रहेछ । २–३ घण्टा हिडेर जानुपर्ने । तर समय अभावले त्यो ठाउँ हेर्ने अनुकूलता भने मिलेन ।
आफै उत्पादन गरेका सामग्रीबाट पाहुनाको सत्कार गर्ने त्यहाँको अर्को विशेषता रहेछ । त्यसैले होला, बेलुकाको खाना, बिहानको खाना, खाजाको स्वाद बेग्लै प्रकारको थियो । बुढीआमाले पस्केर दिएको खानेकुराले आफ्नै घरमा बसेर खाएजस्तो एकदम स्वादिलो प्रकारले पूर्ण आनन्द लिइयो ।

‘अझ केही दिन घलेगाउँमा बसिरहन पाए हुन्थ्यो’ सबैमा त्यस्तै सोचाइ आइरहेको थियो । ‘सर, हामीलाई जस्तो खान दिए पनि हुन्छ, जहाँ बसे पनि हुन्छ तर अझ १–२ दिन यतै बसौँ न’ विद्यार्थीले यस्तो चाहना व्यक्त गरिरहेका थिए । तर इच्छा र चाहना भएर मात्र त भएन । हामीलाई आजै काठमाडौँ पुग्नु थियो । सबै होमस्टेका आमाले हामीलाई आफैले बुनेको माला, सेता टीका लगाइदिएर बिदाबारी गर्नुभयो । बिहानैदेखि घाम लागेकाले चिप्लो बाटो पनि ठिक भएछ र हाम्रो बस घलेगाउँसम्म नै आइपुगेको रहेछ । हिड्दै ओरालो झर्ने तनावबाट पनि हामी मुक्त भयौँ र घलेगाउँलाई बाई बाई गर्दै हामी काठमाडौँका लागि हुइँकियौँ ।
घलेगाउँको रमणीय प्रकृतिसित रमाउन पाउँदा हामी सबैमा थप उर्जा आएको थियो । बाटो जति घुमाउरो तथा अप्ठ्यारो भए पनि हामीलाई कहाँ कमजोर बनाउँथ्यो र ? बाटोभरि नाच्दै, गीत गाउँदै हाम्रो यात्रा जारी रह्यो । बिचबिचमा लालीगुँरासको फूलको अगाडि सेल्फी खिच्ने क्रम पनि चलिरह्यो । काठमाडौँको दुरी अझ लामो भइदिएको भए हुन्थ्यो भन्ने अभिव्यक्ति पनि आइरहेको थियो । तर यात्रा सुरु गरेपछि त गन्तव्यमा त पुगिन्छ नै । अन्ततः रातीको ११ बजे हामी अक्सफोर्ड ग्राउन्डमा पुगेरै छोड्यौँ ।
यसरी ७०० वर्षको इतिहास बोकेको अन्नपूर्ण संरक्षण केन्द्रको घलेगाउँको हाम्रो अनुसन्धान भ्रमण पूरा भयो । घलेगाउँको बारेमा हामीले थुप्रै कुरा सुनेका थियौँ । तर प्रत्यक्ष रूपमा त्यहाँ पुग्दा थुप्रै नयाँ कुरा सिक्न र जान्न पायौँ । घलेगाउँजस्ता नेपालका थुप्रै गाउँ छन् । गाउँका युवाहरू केही काम र सिप नहँुदा विदेशिने क्रम बढ्दो छ । तर हाम्रा सुन्दर गाउँमा केही गर्न खोजियो भने केही गर्नै नसकिने होइन । स्याङजाको सिरुबारी होमस्टेको सिको गर्दै २०५७ सालमा १२ वटा होमस्टेबाट उनीहरूले आफ्नो अभियान सुरु गरेका हुन । तर आज प्रायः सबै घरमा होमस्टे सञ्चालित छ । प्रशस्त मात्रामा आन्तरिक तथा बाह्य पर्यटनको घुइँचो लाग्ने गर्दछ । बेशीशहरदेखि घलेगाउँसम्मको २७ किमि बाटोको मर्मत कार्य जारी छ । त्यो कार्य पूरा हुनासाथ घलेगाउँ विश्वकै उदाहरणीय गाउँ बन्नेमा कुनै शङ्का नहोला ।

बाइसे\चौबिसे राज्य हुँदा घलेराजाको यहाँ शासन हुँदो रहेछ । त्यसका केही भग्नावशेष अहिले पनि पाइन्छ । त्यसपछि शाहवंशीय शासन हुँदै अहिले गणतान्त्रिक मुलकको एउटा गाउँको रूपमा यो गाउँ परिचित छ । सार्क राष्ट्रकै एउटा नमुना गाउँको रूपमा यो गाउँ स्थापित भइसकेको छ । घलेगाउँजस्तै यो गाउँसित नजिकै रहेका भुजुङ र घनपोखरामा पनि ग्रामीण पर्यटनको दृष्टिले प्रगति हुँदै गइरहेको छ ।
द्यपि हामी भने त्यहाँ पुग्न सकेनौँ । घलेगाउँमा घले, गुरुङ र केही दलितजातिको बसोबास रहेछ । उनबाट राडीपाखी, अल्लोबाट हस्तकला निर्माण, चिया खेती, पशुपालन, ग्रामीण पर्यटन तथा भारतीय तथा गोर्खा सेनामा भर्ती हुनेलगायत यो गाउँको आयश्रोत रहेछ । घनपोखरा, नामुन हुँदै मनाङ जानका लागि समेत घलेगाउँ एउटा पर्यटकीय मार्ग भएकाले यसको महत्त्व बढेको हो ।
देशको समृद्धिका लागि ग्रामीण पर्यटन पनि एउटा महत्त्वपूर्ण पक्ष हो । त्यसका लागि हामीले घलेगाउँबाट महत्त्वपूर्ण शिक्षा लिनैपर्दछ र एकचोटी प्रत्यक्ष रूपमा त्यहाँ पुगेर घलेगाउँबाट परिचित हुनैपर्दछ ।