सुर्खेत।आन्तरिक राजस्व कार्यालय सुर्खेतले चालु आर्थिक वर्षको ६ महिनामा ९० करोड ६६ हजार ७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कोरोना महामारीबीच पनि लक्ष्यभन्दा बढी राजस्व संकलन भएको हो । आन्तरिक राजस्व विभागले दिएको लक्ष्यभन्दा २८ करोड ३७ लाख ६ हजार रुपैयाँ बढी राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय सुर्खेतका निमित्त प्रमुख खडानन्द खत्रीले बताए ।
‘विभाग दिएको लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ,’ उनले भने, ‘महामारीबीचमा यति राजस्व उठ्ला भन्ने कार्यालयले सोचेको नै थिएन ।’
चालु आर्थिक वर्षमा आयकरतर्फ ५३ करोड ८८ लाख ८९ हजार रुपैयाँ, घर बहाल कर ३ करोड १ लाख ६० हजार रुपैयाँ, ब्याज कर २ करोड ३२ लाख ७७ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ २९ करोड ५४ लाख ९७ हजार रुपैयाँ र अन्तःशुल्कतर्फ १ करोड ८७ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय सुर्खेतले जनाएको छ ।
आर्थिक वर्षमा कर्णाली प्रदेशबाट विभिन्न शीर्षकमा १ अर्ब ५१ करोड ३५ लाख ३१ हजार रुपैयाँ राजस्व असुली भएको थियो । चालु आर्थिक वर्षमा गत आर्थिक वर्षभन्दा बढी राजस्व संकलन हुने कार्यालयले जनाएको छ ।