काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनको नेतृत्वमा १२ संगठन बीच गठबन्धन गर्ने सैद्धान्तिक सहमति भएको छ । शुक्रबार १२ संगठनबीच भएको बैठकबाट गठनबन्धन गर्ने निर्णय भएको हो । महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले जनाएका छन् ।
बैठकपछि जारी विज्ञप्तिमा सरकारी सञ्चारमाध्यमलाई एकलौटी ढंगमा प्रस्तुत गर्न र अन्य राजनीतिक दलका समाचारप्रति दूर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारी त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूमाथि मनोवैज्ञानिक दबाब दिने हर्कप्रति आपत्ति समेत जनाइएको छ । विज्ञप्तिमा मिडिया काउन्सिल विद्येयक, सार्वजनिक सेवा प्रसारण विद्येयक, सामाजिक सञ्जाल निर्देशिका (अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने किसिमका सरकारले अघि बढाएका विद्येयकहरु फिर्ता गराउन थप संघर्ष गर्ने प्रतिबद्धता पनि व्यक्ति गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण संकटमा परेका साना तथा ठूला मिडिया उद्योगको पुनरुत्थानका कार्य अघि बढाउने प्रतिबद्धता समेत १२ संगठनको साझा विज्ञप्तिमा जनाइएको छ । गठबन्धनमा प्रेस युनियनका अतिरिक्त प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जन पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल,प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ , लोकतान्त्रिक छापा माध्याम राष्ट्रिय समाज र मधेशी पत्रकार समाज रहेका छन् ।
यस्ताे छ साझा प्रतिवद्धता
मिति- २०७७।१२।१३
१. पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवि पत्रकारको हक–हित एवं मिडियाको विकास, प्रवद्र्धन तथा नागरिक अधिकार, लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघको गौरवपूर्ण ऐतिहासिक भूमिकालाई थप सबल र सुदृढ गर्न नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई प्रतिगामी कदमविरुद्ध स्पष्ट सन्देश दिने गरी सम्पूर्ण व्यावसायिक पत्रकारहरुबीच बृहत्तर एकता कायम गरी अगाडि बढ्न नेपाल प्रेस युनियन तपसिलका संगठनबीच आपसी समझदारी एवं एकता गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
२. नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खवरदारी गर्न प्रतिवद्ध छौं ।
३. मिडिया काउन्सिल विधेयक, सार्वजनिक सेवा प्रशारण विधेयक, सामाजिक सञ्जाल निर्देशिका (अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने किसिमका (संघ, प्रदेश र स्थानीय समेत) सरकारले अघि बढाएका विधेयकहरु फिर्ता गराउन थप संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
४. श्रमजिवि पत्रकारहरुको पेशागत र व्यावसायिक हक हितका पक्षमा निरन्तर खवरदारी गर्न प्रतिवद्ध छौं ।
५. विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण संकटमा परेका साना तथा ठूला मिडिया उद्योगको पुनरुत्थानका कार्य अघि बढाउन प्रतिवद्ध छौं ।
६. सरकारी सञ्चार माध्यमलाई एकलौटी ढंगमा प्रस्तुत गर्न र अन्य राजनीतिक दलका समाचारप्रति दुर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारी त्यहाँ कार्यरत श्रमजीवि पत्रकारहरुमाथि मनोवैज्ञानिक दबाब दिने हर्कतप्रति आपत्ति जनाउँछौं । साथै, दबाबमा काम गर्न बाध्य पत्रकाहरुले पेशागत मर्यादामा रहेर गर्नुभएका कामप्रति ऐक्यवद्धता व्यक्त गर्दछौं ।
तपसिल
१. नेपाल प्रेस युनियन– बद्री सिग्देल, अध्यक्ष
२. प्रेस संगठन नेपाल– महेश्वर दाहाल, अध्यक्ष
३. प्रेस चौतारी नेपाल– विश्वमणि सुवेदी, उपाध्यक्ष
४. प्रगतिशील पत्रकार संघ नेपाल– उदय जिएम, अध्यक्ष
५. क्रान्तिकारी पत्रकार महासंघ– नारायण पंगेनी, कावा अध्यक्ष
६. जनपत्रकार संगठन नेपाल– शेरबहादुर विक, संयोजक
७. क्रान्तिकारी पत्रकार संगठन नेपाल– बाबुराम भुषाल, महासचिव
८. मिडिया नेपाल – गोपाल पौडेल, अध्यक्ष
९. प्रेस सेन्टर नेपाल– लोकराज जैसी, अध्यक्ष
१०. देशभक्त पत्रकार संघ– तेजेन्द्र प्रसाईं
११. लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाज – दामोदरप्रसाद दवाडी, अध्यक्ष
१२.मधेशी पत्रकार समाज (सहित विभिन्न १२ संगठन)– माेहन सिंह, अध्यक्ष