काठमाडौँ।अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषक संघलगायत कृषकहरुसँगको सामूहिक भेटका क्रममा अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्ने र कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा कर लगाइएको बताएका हुन् ।
उनले यस्तो करले स्वदेशी उत्पादन नभई आयातित वस्तुमात्रै महङ्गो हुने र स्थानीय उत्पादनलाई असर नपर्ने जिकिर गरे । अर्थमन्त्री महतले करको दर लागू नहुँदै सुनियोजित रुपमा केही संगठित व्यक्तिहरुले मूल्यवृद्धि गरेको बताए ।
उनले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रम लगाएतका बिषयहरुलाई बजेटले प्राथमिकतामा राखिएको जानकारी दिए ।
भेट क्रममा प्रतिनिधिहरुले आन्तरिक उत्पादनको संरक्षणको लागि सरकारको कदम स्वागतयोग्य भएको भन्दै यस क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।