काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।
प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताए। ती अधिकारीले भने, ‘प्रधानमन्त्रीद्वयबीच सङ्क्षिप्त भेटवार्ता हुनेछ।’
प्रधानमन्त्री दाहालका साथ उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्ती पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन्। उनी यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो। प्रधानमन्त्री दाहालले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए।
यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका थिए।
गत बुधबार प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो। त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श हुनका साथै भएको थियो। प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए।
सात चरणमा भारतमा सम्पन्न लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४० सिट जितेको छ।
एनडिएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराह्न तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ।