काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको बताएका हुन् ।
उनले लेखेका छन्– ‘हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन। म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। ‘
उनले आगामी दिनमा देश र समाजको हितका लागि आफ्नो समय व्यतीत गर्ने पनि उल्लेख गरेका छन् । खनाल औपचारिक रूपमा ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका थिए ।
गत आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका उनी उपनिर्वाचनमा तनहुँबाट समेत पराजय बेहोरेका थिए ।
यसैबीच नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले छाड्नेहरुप्रति कटाक्ष गर्दै खाएको थालमा चुठ्नु राम्रो नहुने बताएका छन् । झन् गएपछि सराप्ने संस्कार वाहियात भएको उनको भनाइ छ ।
आज बिहान सामाजिक सन्जालमा बास्कोटाले लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए ।’
पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छाडेको स्टाटस फेसबुकमा लेखेपछि पूर्वमन्त्री बास्कोटाले पनि फेसबुकमार्फत् नै सो टिप्पणी गरेका हुन् ।
उनले मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, सङ्कट, त्याग र सङ्घर्षको समयमा हुने स्मरण गराएका छन् । उनी लेख्छन्, ‘खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो ।