काठमाडौँ। आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्गे काउन्टीमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खनिज तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु दिङ्गे काउन्टी आसपासमा रहेको थियो।
भूकम्पले तिब्बतको दक्षिणी क्षेत्रमा ठुलो धक्का दिएको छ, जसले आसपासका जिल्लामा समेत असर पारेको छ। उच्च म्याग्निच्युडका कारण ठुलो क्षतिको सम्भावना रहेकोले स्थानीय प्रशासनले प्रभावित क्षेत्रका नागरिकहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
हालसम्म ठुला क्षति वा घाइतेको विस्तृत विवरण उपलब्ध भएको छैन। अधिकारीहरूले थप पराकम्पहरू आउन सक्ने चेतावनी दिएका छन् र नागरिकलाई आपत्कालीन तयारी गर्न सल्लाह दिएका छन्। स्थानीय राहत टोलीहरू परिचालन भई क्षतिको आकलन गरिरहेको छ।
नेपालमा कडा धक्का दिएको भूकम्पले क्षति पुर्याए/नपुर्याएकोबारे विवरण संकलनको काम भइरहेको अधिकारीहरुले बताएका छन् ।
नेपालका भूगर्भविदहरुका अनुसार लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर दुरीमा भूकम्पको इपिसेन्टर छ ।
यससँग नेपालका नजिकका जिल्ला सोलुखुम्बु, संखुवासभा, दोलखा र ताप्लेजुङ पर्दछन् । ती जिल्लाका अधिकारीहरुले भूकम्पको कडा धक्का महसुस भएको र क्षति भए/नभएकोबारे बुझ्ने काम भइरहेको जनाएका छन् । स्थानीय तह र प्रहरी फौज रहेको स्थानहरुमा बुझ्दा अहिलेसम्म क्षतिको विवरण भने नआएको उनीहरुले बताएका छन् ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भूकम्पले क्षति भयो कि भएन भनेर सबै स्थानीय तह र प्रहरी इकाइमा सम्पर्क गर्ने काम जारी रहेको बताए । सम्पर्क भएका स्थानमा भने अहिलेसम्म क्षतिको जानकारी नभएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी शर्माले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म प्राप्त सूचनामा ताप्लेजुङमा कुनै पनि प्रकारको मानवीय र भौतिक क्षति छैन भन्ने छ । यद्यपि थप भेरिफाइ पनि गर्दैछौं ।’ उनले घुन्सा लगायतका क्षेत्रमा पनि बुझ्ने काम भइरहेको जानकारी दिए ।
राजधानी काठमाडौंमा पनि कडा धक्का महसुस भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौंबासी घर बाहिर निस्किएर खुला ठाउँमा गएका थिए ।
संखुवासभाका प्रहरी प्रमुख दक्ष कुमार बस्नेतले पनि जिल्लामा क्षतिको विवरण प्राप्त नभएको बताए । सूचनाको पहुँच भएको क्षेत्रसम्म बुझ्दा क्षतिको जानकारी नभएको उनले बताए । ‘जिल्लामा सञ्चार सम्पर्क नहुने क्षेत्र पनि छन्, ती क्षेत्रको अवस्थाको जानकारी त छैन, तर जहाँ–जहाँ सम्पर्क भएको छ, त्यहाँ भने क्षतिको जानकारी छैन,’ डिएसपी बस्नेतले बताए ।
यसैगरी दोलखा प्रहरीका प्रवक्ता दाताराम अधिकारीले पनि क्षतिको विवरण प्राप्त नभएको बताए । उनका अनुसार दोलखामा च्छोरोल्पा हिमताल र लामाबगर अति जोखिमयुक्त क्षेत्र मानिन्छन् । ती स्थानमा अहिलेसम्म भूकम्पले क्षति भएको जानकारी नआएको अधिकारीले बताए । ‘च्छोरोल्पा हिमताल फुट्ने र लामाबगर क्षेत्रमा सुक्खा पहिरो खस्ने जोखिम रहन्छ । तर प्रहरी फौज भएको स्थानसम्म बुझ्दा अहिलेसम्म क्षतिको जानकारी छैन,’ अधिकारीले भने ।
नेपाल–चीन सीमा क्षेत्रमा रहेका हिमतालहरु जोखिमयुक्त मानिन्छन् । यदि ती विष्फोट भएमा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्ने विज्ञहरु बताउँछन् । त्यस्ता सम्भावित जोखिमका क्षेत्रमा थप सूचना संकलन र अलर्ट रहन मातहतका प्रहरीलाई भनिएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।
सोलुखुम्बुका प्रहरीका प्रवक्ता लक्ष्मण गिरीले अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको अनलाइनखबरलाई बताए । ‘बुझ्ने काम जारी छ, तर अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन,’ उनले भने ।
भूकम्पले राजधानी काठमाडौंमा पनि कडा धक्का महसुस भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौंबासी घर बाहिर निस्किएर खुला ठाउँमा गएका थिए । काठमाडौंमा पनि क्षतिको विवरण प्राप्त नभएको नेपाल प्रहरीको कन्ट्रोल रुमका कर्मचारीहरुको भनाइ छ ।