काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद प्रदेशतर्फ पनि विस्तार हुन थालेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध आफ्नै पार्टीका प्रदेश सभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि केन्द्रमा पनि त्यसको असर परेको छ ।
कर्णाली प्रदेशका संसदीय दलका नेता एवं मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि भोलि बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल गर्ने तयारी छ ।
खुमलटारले बालुवाटारबाटै दिइएको निर्देशन अनुसार अविश्वासको प्रस्ताव दर्ता भएको निष्कर्ष निकालेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले ६ वटामध्ये ४ वटामा पूर्वएमाले र २ वटामा पूर्वमाओवादी केन्द्रलाई मुख्यमन्त्री भागबण्डा गरेका थिए ।
नेकपाका कर्णाली प्रदेशका सहइन्चार्ज यमलाल कँडेलले सांसदलाई घरमै बोलाएर हस्ताक्षर गर्न लगाएका थिए । १८ जनाले शाहीविरुद्ध अविश्वासको प्रस्ताव आफ्नो संसदीय दलमा दर्ता गरेका छन् ।