म सानो छँदा
दिन ढलेपछिको
त्यो स्वप्निल सन्ध्यामा
सोचिरहन्थेँ त्यो सहर कसरी बन्यो होला?
अनौठो लाग्थ्यो देखेर
मान्छेका पंक्तिझैँ लामबद्ध घरहरू
कसरी अग्लिदा हुन् ती आलिसान बङ्गलाहरू?
चौडा सडकहरूमा
हुइँअहुइँअ हुइँकिने मोटरगाडीहरू
चराको स्वच्छन्द उडानझैँ
स्निग्ध आकाशमा उडेका चङ्गाहरू
तारा सगरमा चम्किएझैँ
राताहरिया बत्तीहरूको झिलिमिली
पवनले पात हल्लिएझैँ
जोवनका धनीहरूको बैँसालु ढलिमली
सान्ने भीर आकाशिएर बनेको तिखिलो पहाडझैँ
गगनचुम्बी धरहरा
पोखिनै आँटेकी षोडसीझैँ
सोह्र शृङ्गारमा सजिएर बनेकी मनोहरा
ठेलमठेल मान्छेहरूको भीँड
कसरी चल्दो हो जीवनको धारा?
चोकबजारको मिठाइपसल
जिलेबी,रसभरि,आइसक्रिम सम्झदै मुख रसाउने
नागरी रसधारा
दिनमा मच्चिने र रातमा ब्युँझने सहर
गुलावी रङ्गहरूमा लतपताएर गाउँवस्तीहरूलाई
आफ्ना मोहकताले तानिरहने सहर
मान्छे फरक पहिरन फरक हाउभाउ कटाक्ष फरक
सुदूर मेरो गाउँभन्दा असाध्यै अलग्ग
वैविध्यमा बाँचेको धरा
लाग्थ्यो,अनौठो दुनियाँ जादूयी संसार
बनेझैँ बेहुली अप्सरा
सर्वदा खुसी ओछ्याएर निदाउलाझैँ
वैशाखहरूमा बिउँझाउलाझैँ
हजुरबाले सुनाउने दन्त्यकथाको
बाइपंखी घोडामा सवार
राजकुमारको अलौकिक कालिगढीझैँ
अनुभूति एउटा प्रहरको
भित्र अन्तरमा कतै
एउटा मीठो सम्मोहन त्यो सहरको
त्यो सुख र वैभव पछ्याउने
त्यो रमझम र आनन्द अँगाल्ने
कथा एउटा स्वैर अठोट र रहरको।
म भीरहरूबाट भाग्न चाहन्थेँ
टेकेर टाकुरामै समय
त्यही सहरमा साट्न चाहन्थेँ
भेरी नदी
रातभर रोइरहने बिरालोको कर्कस आवाज बनेर
नमीठो सुसाएझैँ लाग्न थालेपछि
पात झरेर नाङ्गा बनेका वनपाखाझैँ
आफ्नै गाउँघर
आफ्नै आँखाहरूमा उजाडिन थालेपछि
एक रूपवतीको एकतर्फी प्रेममा
एकोहोरिएको युवकझैँ
लगातार सहरले मलाई तान्न थालेपछि
सिताराजडित झिलमिल आकाङ्क्षाहरूलाई
झोलाभरि पोको पारेर
मन गह्रौँ भए पनि
कदम सारेर
रात्रिवस चढेको हो
ठूलो भएर सहर पसेको हो।
चाहतको रानीमहल रम्न हिँडेको
एउटा जिन्दगी
सानो कोठा अनि छिँडीको बास बनेपछि
सहरको उज्यालो कहाँ देखिनु
वैभवको सपना सजाउने
पेन्डोरा बाकसको सहर पनि
भोक बनिदिँदा
गाउँको गुन्द्रुक र भातले जिस्क्याउन थालेपछि
सहर सुनका अक्षरहरूले कहाँ लेखिनु
मुसलधारे वर्षाबाट बच्नलाई चपक्क टाँसिदा पनि धरहरा
ओत बन्न सकेन
ज्वरोमा जलेर ओछ्यानमा थलिँदा पनि छिमेकी
संवेदना बन्न सकेन
खल्ती टक्टक्याउँदा पनि मिनीबसको भाडा नभेटेर
फुटपाथ नै यात्राको अभिन्न मित्र बनेपछि
मेरो बालमस्तिष्कमा आउँदै र जाँदै गरेका
तीँ कलिला प्राककल्पनाहरू
गलत थिए पनि भन्न सकिन
आमा भन्नुहुन्थ्यो-
‘बाबु आकाशका नौ लाख तारा ठूलो भएपछि गने है’
तर आज आफ्नै पाइतालाका पदचाप गन्न सकिन
योग्यता प्रभावको प्रमाणपत्रमा अनुवाद भएपछि
काव्यिक सपनाहरू सिसिफसमा विलीन भएपछि
रेस्ट्रोरेन्टका कपहरूमै आत्मकथा लेखिने भयो
‘वर्मा गए कर्मसँगै’ हाताहाती जीवनमा देखिने भयो
बादल जल बनेर वर्षिरहेको एक साँझ
ओर्लदैँ सिँढीबाट जे देखियो मनमुटु छोइदियो
वृद्धाको सुखका लागि भनेर छोराले
आमालाई वृद्धाश्रम छोडेको दृश्यले
मानवता खुब रोइदियो
भित्रभित्रै मलाई साांसारिक तत्त्वबोध भएछ
गुलावी बगैँचा भनेको त सहर
सुगन्धहीन कागजको फूल मात्र रहेछ
त्यसपछि
जुनेली रातको रानीवन सम्झदै
क्षितिजको रक्तिम सूर्यास्त कल्पदै
सहर छोडेको हो,गाउँ फर्केको हो।