खिमराज चालीसे
चंडिगढ । भारतको हिमांचल राज्यमा सतलज नदीमा खसेर एक नेपाली युवकको मृत्यु भएको छ ।
रिकान्पियो नजिक पोवारी एनएच५ मा आफैँले चलाएको एचपी २७ बी ४४०० पिकअप गाडीसहित नदीमा खसेर २२ वर्षीय सर्फराजको मृत्यु भएको हो ।
बुधबार (१४ सेप्टेम्वर) बिहान करिव आठ बजे हिमांचलको रिकान्पियो एन एच५ सडक खण्डबाट सर्फराजले चलाइ रहेको महेन्द्रा पिकअप गाडी सडकबाट करिब २० फुट तल सतलज नदीमा खसेपछि उनको निधन भएको परिवारले जनाएका छन् ।
घटनापछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रिकान्पियो नगर समितिले नदीमा खसेको गाडीसहित शवको खोजीका लागि हिमांचल प्रशासनलाई सहयोग गरी रहेको हिमांचलबाट मूल प्रवाहका नेता मिथुन सिंहले जानकारी दिए।
मृतक सर्फराज कर्णाली प्रदेशको दैलेख जिल्ला मेहलतोलीका मान बहादुरका छोरा भएको जानकारी आएको छ । उनी आमा बुबा दाजु श्रीमती तथा डेढ वर्षीय छोरीसहित हिमांचलमा बस्दै आएका थिए ।