काठमाडाैं।सहकारीबाट ३० लाख रुपैयाँ ऋण मिलाई दिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ५६ वर्षीय मणिकुमार थापा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनलाई सोमबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
उनका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने थापाले अछामको चौरपाटी गाउँपालिका-४ घर भई ललितपुरको कुशुन्ती बस्ने नरेन्द्रकुमार भुललाई ठगेका थिए।
आफू काठमाडौंको चण्डोलस्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक हुँ भन्दै सो सहकारीबाट ३० लाख रुपैयाँ ऋण मिलाई दिन्छु भनेर सहकारी संस्थाको खाता खोल्ने फारम, सदस्य पहिचान फारम, सेयर दरखास्त फारमसमेत भर्न लगाएर विश्वासमा पारेका दिए।
त्यसबाहेक उक्त ऋण रकमको १० प्रतिशतको दरले हुन आउने तीन लाख रुपैयाँ र सेवा शुल्कबापत १२ हजार रुपैयाँसमेत गरी तीन लाख १२ हजार रुपैयाँ रकम लिई ऋण नदिलाई, झुक्याई ठगी गरी सम्पर्कविहीन भएका थिए।