सुर्खेत । कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगरमा आजदेखि नगर बस सेवा सुरु भएको छ । सुर्खेतका यातायात व्यवसायीहरुको साझा पहल र नगरपालिकाको समन्वयमा नगर बस सेवा सुरु भएको हो ।
नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले नगर बस सेवाको आरम्भ गरेकी हुन् । उनले नागरिकको आवश्यकताअनुसार नगर माइक्रो सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गरिनेमा विश्वास व्यक्त गरिन् । आजदेखि सुरु भएको नगर बसको भाडादार रु.२० मात्रै तोकिएको छ । यो भाडादार धुलियाविटदेखि बाँगे सिमलसम्मको हो ।
मुख्यगरी फोरलेन सडकको धुलियाविटबाट मंगलगढी चोक, एरिचोक हुँदै मुलपानीदेखि प्रदेश अस्पताल भएर बाँगेसिमल पुग्ने गरी नगर बस सञ्चालन गरिएको छ । यही रुट भएर गाडीहरू पुनः धुलियाविट पुग्नेछन् । १० वटा माइक्रो गाडी १०–१० मिनेटको फरकमा छुट्ने कार्य तालिका बनाइएको छ ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेश संयाेजक रमेश सापकोटाले यात्रुलाई सहज सेवाका लागि भाडादार रु.२० मात्र कायम गरिएको बताए ।उनले भाेलीका दिनमा बिद्युतीय सवारी साधन संचालनका लागि आधार तयार पार्न १० वटा नगर बस संचालन्मा ल्याएकाे बताए । विद्युतीय सवारी साधान वीरेन्द्नगरमा संचालन गनर्का निजी क्षेत्र सँग सहकार्यका लागि आवश्यक पहल सहित तयार रहन पनि संयाेजक सापकाेटाल्र आग्रह गरेकाछन् ।
धुलियाविटदेखि बाँगेसिमलसम्मको भाडा २० रुपैयाँ कायम गरिएको छ भने बाँकी एक चोकबाट अर्को चोकसम्म पुग्न पनि भाडादार २० रुपैयाँ नै कायम गरिएको छ । अब मंगलगढी–काँक्रेविहार, मंगलगढी–एयरपोर्ट, बामेखोला, गणेशचोक–आँखा अस्पताल चोक हुँदै कालिन्चोक, नेवारे लगायतका भित्री रुटहरूमा पनि माइक्रो बस थप गरिने बताइएको छ ।