काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएकी बालिकाको खोजी तीव्र पारिएको छ । २६ दिनकी बालिका चोरीमा संलग्न आरोपीको हुलिया थाहा भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
अनुसन्धान अधिकृतहरूले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा देखिए अनुसार मास्क लगाएकी महिलाले शिशु लगेको देखिन्छ ।
रातो कपडा लगाएकी महिलाले टाउको समेत रातो सलले छोपेकी छिन् । साढे १२ बजेतिर शिशु हराएको भन्दै प्रहरीमा खबर आएको थियो । सीसीटीभीबाट फुटेज पाएलगतै प्रहरीले खोजी तीव्र बनाएको छ ।
काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु अस्पतालबाटै चोरी भएको हो । बिहान ११ बजे काभ्रेकी सुत्केरी ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आएकी थिइन् ।
चोरीमा संलग्न आरोपीको खोजीमा जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपीको नेतृत्वमा टिम परिचालन गरिएको छ । काभ्रेको चौर देउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा अपरिचित महिलाले चोरेर भागेकी हुन् । ‘सहयोग’ को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी छन्।
उनले परीक्षण गर्ने बेलामा एकछिन बच्चा समाइदिने भन्दै एक अपरिचितले बच्चा लिइन् । सुत्केरीले पनि सहजै दिइन् । तर, सुत्केरी स्वास्थ्य परीक्षणबाट फर्केर बाहिर आउँदा शिशु समाउने महिला गायब भइसकेकी थिइन् ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आएकी महिलाको हातबाट शिशु चोरी भएको जानकारी दिए ।
शिशु हराएपछि सबैतिर खोजी भयो । नभेटिएपछि प्रहरीमा खबर गरिएको थियो । चोरिएको शिशुको खोजी कार्य तीव्र पारिएको छ ।
‘काखमा बच्चा च्यापेकी महिलाले मास्क लगाएर मुख छोपेकी छिन् । सीसीटीभी क्यामरामा देखिएको छ,’ काठमाडौं प्रहरी परिसरका एसपी प्रवक्ता नवराज अधिकारीले भने, ‘काठमाडौंका सबै प्रहरी युनिटबाट बच्चाको खोजी कार्य जारी छ ।’