काठमाडौँ । काठमाडौँको थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएकी बालिका फेला परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २६ दिने बालिकालाई काठमाडौँको काँडाघारीबाट बिहिबा्र राति ११:४५ मा उद्धार गरेको हो ।
बच्चा चोरीमा संलग्न आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । बच्चा चोर्ने महिला दैलेखकी मनकुमारी सिंह रहेको खुलेको छ । उनीसँगै उनकी दिदीलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ । काँडाघारी स्थित डेराबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ । बालिकालाई उद्धार गरेर उपचारको लागि अस्पतालमा राखिएको छ ।
प्रहरीले पक्राउ गरेपछि सुरुमा सिंहले आरोप अस्वीकार गरिन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनिन्, ‘जंगलमा भेटेर ल्याएको हुँ ।’ तर, चोरी गर्दाको हुलिया र कपडा म्याच भएपछि प्रहरीले मनकुमारीलाई पक्राउ गरेको छ । मनकुमारीका पतिलाई पनि सोधपुछका लागी बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । उनले भने–‘चोरीमा अहिलेसम्म श्रीमानको भूमिका देखिँदैन ।’
बच्चा नभएकाले चोरी गरेको ती महिलाले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । प्रहरी स्रोत भन्छ, ‘ती महिलाले आफू सुत्केरी भएको भनेर घर परिवारलाई भनेकी रहेछिन् ।’ आरोपीहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
चोरीमा संलग्न आरोपमा मनकुमारी र अर्की एक जना महिला अहिले टेकुस्थित काठमाडौँ प्रहरीको कस्टडीमा छन् । प्रारम्भिक अनुसन्धानबाट लामो समय बच्चा नभएपछि मनकुमारीले बच्चा चोरेको थाहा भएको छ । यसअघि ३ पटक सम्म बच्चा खेर गरेको उनीहरूले प्रहरीसँग स्वीकार गरेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘लामो समय बच्चा नभएपछि चोरी गरेको देखिन्छ ।’
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् । ‘सहयोग’को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी छन् । अस्पतालमा अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो ।
बच्चा हराएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खोजीमा खटिएको थियो । सिसिटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिएको थियो ।