सुर्खेत । सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका चार जनाकै पहिचान खुलेको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटनामा परेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जिपमा छ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा कालिकोटका नरी विक र नरेन्द्र विष्ट रहेका छन् ।
मृत्यु हुनेमा कालिकोट गाउँपालिकाका ४० वर्षीय तन्त विक, १७ वर्षीय वीरेन्द्र विक, २७ वर्षीय नवराज विक र दैलेख भैरबी गाउँपालिका ४ का ३८ वर्षीय महेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
पानी ल्याएर बचादिनुहोस भन्दै प्रहरीलाई जानकारी गराएका थिए
विहानै सुर्खेतबाट भे १ च २५६० नम्बरको बोलेरो जीप कालिकोटका लागि छुट्यो । जीप कति बजे वीरेन्द्रनगरबाट छुटेकाे हाे भन्ने खुलेको छैन् ।
सुर्खेतका यातायात व्यवसायीले उज्यालो भएपछि बोलेरो जीपलाई सञ्चालन गर्न नदिने डरले एका विहानै जीप सुर्खेतबाट हिडेको प्रहरीको प्रारम्भीक अनुन्धानले देखाएको छ । वीरेन्द्रनगरबाट छुटेको जीपले कपासे र छेडा प्रहरी पोष्टमा अनिवार्य इन्ट्री गराउनु पर्ने थियो ।
दुवै ठाउँमा जीप ईन्ट्री नगराईको खुलेको छ । छेडा प्रहरीले जीपलाई रोक्न भनेको थियो । तर चालकले तिव्र गतिमा गाडी चलाएर प्रहरीलाई छलेको प्रहरी चौकी छेडाले जनाएको छ ।
‘छेडामा राती पनि प्रहरीको डिउटी थियो, गाडी इन्ट्री गराउन लाइटको इसारा गरिएको रहेछ,’ प्रहरी अधिकृतले भने, ‘तर चालकले प्रहरीलाई छल्दै अगाडी बढेछ ।’ छेडाबाट गाडी छुटेको करिव १५ मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
गाडी दुर्घटना लगत्तै घाइतेले फोन गरेर प्रहरीलाई जानकारी दिएका थिए । दुर्घटनामा घाइते भएका शुभकालिका गाउँपालिका–३ कालिकोटका ३८ वर्षीष नरे कामीले प्रहरीको १०० नम्बरमा फोन गरेका थिए ।
उनले सिद्धपाइलादेखि अगाडी गाडी दुर्घटना भएको र आफूलाई पानी ल्याएर बचादिनुहोस भन्दै प्रहरीलाई जानकारी गराएका थिए । जानकारी थाहा पाए लगत्तै प्रहरी चौकी छेडा र जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्र विर विश्वकर्मा साढे ३ बजेतिर घटनास्थलमा पुगेका थिए ।
प्रहरीलाई शुरुमा गाडी दुर्घटना भएको ठाउँ नै पत्ता लगाउन समस्या भएको घटनास्थलमा रहेका डिएसपी विश्वकर्माले बताए । ‘हामीले सिद्धपाइला क्षेत्रका भीरहरु नियाल्दै अगाडी बढौं तर कतै भेटिएन,’ विश्वकर्माले भने, ‘घाइतेसँग सम्बाद गर्दै पछि मात्रै टाकुरे मोडबाट हेर्दा दुर्घटनास्थल पत्ता लागेको हो ।’
गाडी दुर्घटना भएको स्थल सदरमुकाम वीरेन्द्रनगरदेखि करिव ११ किलोमिटरको दुरीमा छ । सुर्खेत दैलेख सडक खण्डको वीरेन्द्रनगर–१३ टाकुरी मोडबाट नल खाेलातर्फकाे भीरमा जीप झण्डै एक किलोमिटर तल खसेको छ ।
जीपको पछाडी राखिएको समान सडकदेखि १० मिटरको दुरीमै खसेका छन् । दुर्घटनास्थलमै मृत्यु भएका यात्रुहरुको शव भने सात सय मिटरदेखि तल खोचमा छरिएको अवस्थामा थिए ।