हुम्ला।ताँजाकोट गाउँपालिकाका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट वञ्चित भएका छन् । देशभर नाै महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चालन भएपनि ताँजाकोट गाउँपालिका–१ देखि ५ नम्बर वडाका ६ सय ४० जना बालबालिका मध्ये ३ सय ६५ जना बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाउन नपाएका हुन् ।
जिल्ला अस्पतालले जम्मा २ सय ७५ भाइल खोप पठाएका कारण ताँजाकोट गाउँपालिकाका बालबालिकाहरू खोप लगाउनबाट वञ्चित भएको प्रमुख प्रशासकीय अधिकृत धनराज ढकालले बताए।
जिल्ला अस्पतालले न्यून रुपमा खोप पठाएका कारण आफ्ना बालबालिका खोप लगाउनबाट वञ्चित भएको स्थानीय मन्जु बुढाले गुनासो गरिन् । गाउँमा रहेका केही बालबालिकाले खोप लगाउन पाउनु र केहीले उक्त सेवाबाट प्रभावित हुनु भनेको सरकारकाे चरम लापरबाही रहेको उनकाे भनाइ छ।
प्रमुख समस्या भनेकै जिल्ला बाहिर केन्द्रबाट पर्याप्त खोप नपठाएका कारण ठूलो सङ्ख्यामा बालबालिका खोप लगाउनबाट वञ्चित भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । उनले उक्त समस्यालाई तत्काल समधान गर्न पनि नसक्ने जानकारी दिए।