काठमाडौं । कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा भएको आगलागीमा तीन जना नेपाली श्रमिक घाइते भएका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार सो क्याम्पमा पाँच जना नेपाली रहेकोमा तीन जना सामान्य घाइते भएका हुन् ।
दुईजना सुरक्षित रहेको दूतावासले जनाएको छ । आगलागीमा परी शिवशंकर पासवान, दोर्जे लामा र दिनेश कुमार मण्डल घाइते भएका हुन् ।
सामान्य घाइते भएका शिवशंकर र दोर्जेको अदान अस्पतालमा उपचार भै रहेको छ। उपचारत पासवान र लामाको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमा नै पुगेर दूतावासले जानकारी लिएको जनाएको छ।
यस्तै, दिनेश कुमार मण्डल भने फरवानिया अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भै सकेका छन् ।
त्यस्तै, जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेको कम्पनीले जानकारी दिएको दूतावासको भनाई छ।
उक्त आगलागीको घटनामा परेर हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ।
आवासगृहमा रहेका मानिसहरूमा प्रायः सबैजसो आप्रवासी कामदार थिए।
आगलागीको कारण के थियो भन्नेबारे आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन।