काठमाडौं । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयका दीपेश भट्टराई (१५ वर्ष) र दीपिका भट्टराई (१५ वर्ष) जुम्ल्याहा दाजु-बहिनी थिए ।
अहिले कक्षा १० मा अध्ययनरत उनीहरूको सपना एकअर्कालाई साथ दिँदै ठूला अवसरहरू समात्ने थियो ।
गल्याङ नगरपालिका ३, स्याङ्जाका उनीहरु बुटवल बसेर पढ्दै आएका थिए । विद्यालयमा सधैँ उत्कृष्ट नतिजा ल्याउने यी दाजु–बहिनी नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा पहिलो चरणमा छनोट भइसकेका थिए ।
दोस्रो चरणको लागि उनीहरू बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरूलाई ३२ राष्ट्रका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो, जुन उनीहरूको जीवनकै महत्त्वपूर्ण क्षण बन्ने थियो ।
शुक्रबार उनीहरू आफ्नो सपना पूरा गर्न काठमाडौंतिर हिँडे । बुटवलबाट छुटेको माइक्रोबस (लु १ ज ४५७८) मा टिकट लिई दिपेश, दीपिका, र आमा सीता भट्टराईले यात्रा थालेका थिए ।
उनीहरूको यात्रा काठमाडौंका हुँदै बंगलादेशसम्मको थियो । तर, यो यात्रा कहिल्यै पूरा भएन । झ्याप्ले खोलामै विलाए उनीहरुका सपना ।
काठमाडौं पुग्न दुई–तीन किलोमिटर मात्र बाँकी थियो, धादिङको झ्याप्ले खोलामा पहिरोले माइक्रोलाई पुरिदियो । यो त्रासदीले न केवल उनीहरूको जीवन, तर भविष्यका सारा सम्भावना पनि सँगै पुरेर लग्यो ।
गाडीमा रहेका दिपेश–दीपिकासहित ९ जनाको ज्यान गयो । यो समाचार तयार पर्दासम्म अरू गाडीसहित त्यहाँ पुरिएका ३५ भन्दा बढीको शव निकालिएको छ ।
दिपेश–दीपिकाका बाबु होमनाथ भट्टराई कोरियामा काम गर्दै छन् । शुक्रबार बिहान श्रीमती सीता र छोराछोरीसँग उनको कुरा भएको थियो ।
उनीहरू बङ्गलादेशको सम्मेलनका लागि निकै उत्साहित थिए, तर होमनाथलाई कल्पना थिएन कि आफ्नो परिवार सधैँको लागि गुमाएको खबर सुन्नुपर्छ । कामबाट फर्किँदै गर्दा उनले यो हृदयविदारक समाचार सुने । परिवारका सबै सदस्यको जीवन एकै साथ पहिरोमा विलायो ।
अब होमनाथ भट्टराई कोरियाबाट फर्किए पनि, स्वागतमा उत्साहित अनुहार होइन, शोकमा डुबेको आफन्त र छरछिमेकको भीड मात्रै हुनेछ ।
होमनाथका १५ वर्षका छोराछोरी दिपेश र दीपिकाले बुटवलको कालिका माविमा भविष्य निर्माणको यात्रा थालेका थिए । उनीहरूको लक्ष्य थियो एसईईमा उत्कृष्ट प्रदर्शन गरेर उच्च शिक्षा तर्फ अग्रसर हुने ।
विद्यालयका प्रचार्य दिनेश थापाका अनुसार, दिपेश र दीपिका आउँदो एसईईमा ४ जीपीए ल्याउने मुख्य दाबेदार विद्यार्थी थिए ।
उनी भन्छन्, ‘विद्यालयले उनीहरूको प्रगतिको लागि सिफारिससहित छुट्टी दिएको थियो । तर, उनीहरू कहिल्यै फर्केर नआउने भए ।’ नेपालभ्यूज