कैलाली।कैलालीको टीकापुर नगरपालिका–५ स्थित गौशालास्तर सुधार हुँदै गए पनि चौपायालाई आहाराको अभाव हुन थालेको छ । टीकापुर नगरपालिकाको मातहतमा रहेको गौशाला सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुरले सञ्चालनको जिम्मा लिएपछि गौशाला व्यवस्थित हुँदै गए पनि सो क्षेत्रका चौपायालाई आहारा अभाव कायमै रहेको हो ।
जानकी गाउँपालिका र टीकापुर नगरपालिकाभित्रका सामुदायिक पशु चौपाया गौशालामा छन् । गौशालामा एक हजारभन्दा बढी चौपायालाई व्यवस्थापन गरिएको छ । विगतमा जानकी गाउँपालिका र टीकापुर नगरपालिकाले छुट्टाछुट्टै गौशाला सञ्चालन गर्दै आएका थिए । ‘दुई पालिकाको संयुक्त चौपाया व्यवस्थापन गर्दा चौपायाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । समितिसँग पर्याप्त स्रोत नहुँदा आहारा पु-याउन समस्या हुँदै आएको छ,’ समितिका अध्यक्ष लोकबहादुर बुढा क्षेत्रीले भने, ‘दाताहरूले गरेको सहयोग र गौशालाको केही आम्दानीले जसोतसो चौपायालाई खुवाउन पुगेको छ ।’
उनका अनुसार गौशालालाई विभिन्न व्यक्तिहरुले विशेष अवसरमा सहयोग गर्दै आएका छन् । त्यसैगरी गौशालाले प्रशोधित गौमूत्र, मलखाद, गाइको गोबरबाट बनाइएका पूजाका सामग्रीहरु समितिले आम्दानीको स्रोतमा राखेको छ । त्यहाँबाट थोरै भए पनि गौशालालाई आम्दानी हुन्छ ।
संरचनागत रूपमा व्यवस्थित बन्दै गए पनि चौपायाको आहाराको व्यवस्थापनमा चुनौती थपिँदै गएको उनको भनाइ छ । खासगरी पर्याप्त मात्रामा परालको व्यवस्थापन हुन नसक्दा आहारा खोज्दै हिँड्नुपरेको बुढाक्षेत्री बताउँछन् । ‘हामीसँग पराल धेरै थियो । एक वर्षलाई पुग्छ भनेको पराल छ महिनामै सकियो,’ उनी भन्छन्, ‘अझै समय धेरै छ । पराल कतै पाइँदैन । पाइएको ठाउँमा पनि महँगो छ । खरिद गर्नका लागि समितिसँग पैसा छैन ।’ चौपायाको आहारा बोक्नका लागि टीकापुरका उद्योगी टीकाराम जैसीले गौशालालाई एउटा ट्याक्टर सहयोग गरेका थिए ।