सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही बिरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव प्रस्ताव ल्याएका छन् । मुख्यमन्त्री शाहीले संसदीय दल तथा सरकारमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएका हुन् ।
नेकपाका १८ जना सांसदले आइतबार दिउँसो १ बजे मुख्यमन्त्री शाहीविरुद्ध प्रदेशसभा संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहमार्फत उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
प्रदेशसभा सदस्य तथा नेकपा कर्णालीका सहइन्चार्ज यामलाल कंडेलको नेतृत्वमा नेकपाका १८ जना सांसदहरुले हस्ताक्षर गरी संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई अविश्वासको प्रस्ताव बुझाएका हुन् ।
नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) बमोजिम अविश्वासको प्रस्ताव दर्ता गरिएको र नियम २४ को (१, २, ३, ४) बमोजिम यथाशक्य बैठक बोलाएर मार्ग प्रसस्त गर्न आग्रह पनि गरेका छन् ।
सरकार विरुद्ध हस्ताक्षर गर्नेमा पूर्व एमालेका १४ र पूर्व नेकपाका ४ जना गरी १८ जना छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।
संसदीय दलमा अविश्वासको प्रस्ताव लैजाने बिषयमा नेपालमा नै पहिलो पटक गरिएको सांसद यमलाल कँडेलले जानकारी दिए । ‘नेपालमा नै पहिलो पटक हामीले अभ्यास हामीले कर्णालीबाट गरेका छौं ।’ अविश्वासको प्रस्ताव पेश गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने,‘३३ जना सांसदमध्ये हामी १८ जना सांसदले यो अविश्वासको प्रस्ताव ल्याएका छौं ।’
कसैको प्रभाव र प्रभोलनमा नपरेर मुख्यमन्त्री शाहीले संसद र सरकारमा प्रभावकारी भूमिका खेल्न नसकेका कारणले यो प्रस्ताव ल्याएको सांसद कँडेलले जानकारी दिए ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीले सरकारका काम कारवाही र गतिबिधिमा प्रभावकारी भूमिका खेल्न नसकेका कारणले अविश्वासको प्रस्ताव पेश गरिएको सांसद अमरबहादुर थापाले बताए । ‘सरकारका कुनै काम कारवाहीमा प्रभावकारी भूमिका खेल्न सक्नु भएन् ।’ उनले भने,‘वहाँलाई सरकारबाट नहटाएर कर्णालीका विकास संम्भव भएन् ।’
सुरूवात देखिनै कँडेल आकांक्षी
तत्कालिन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र प्रदेश र संघीय तालमेल चुनाव लडे । त्यसबेला कर्णालीमा ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका मात्रै ३३ सांसद विजयी भए । त्यसमध्ये २० जना पूर्वएमाले र १३ जना पूर्वमाओवादीबाट सांसद भएका हुन् ।
प्रदेशसभामा २० जना सांसद तत्कालिन एमालेका विजयी भएपछि यमलाल कँडेलले कर्णालीको मुख्यमन्त्री हुने चाहना राखेका थिए । तत्कालिन एमाले र माओवादीको भागबण्डाका आधारमा कर्णालीम प्रदेशमा मुख्यमन्त्री माओवादीको भागमा परेका कारणले महेन्द्रबहादुर शाही बने । त्यसयता बिभिन्न बेला मुख्यमन्त्री शाहीलाई असहयोग गर्दै आएका कँडेलले अहिले पूर्व माओवादी निकट ३ जना सांसदलाई साथमा लिएर अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।
हस्ताक्षर गर्ने को-को हुन् पूर्व एमाले
यामलाल कँडेल सुर्खेत २(ख), चन्द्रबहादुर शाही मुगु १(ख), करबिर शाही जाजरकोट १(ख), कुर्मराज शाही कालिकोट १ (क), अमरबहादुर थापा दैलेख १(ख) सुशीलकुमार थापा २ दैलेख (क), मिना रखाल दैलेख दानबहादुर परियार मुगु १ (क), पदम रोकाया जुम्ला १ (ख), पद्मा खड्का सुर्खेत, कौसिलावती खत्री जाजरकोट, खड्कबहादुर खत्री सुर्खेत १ (ख), बहमीक्यादी बोहोरा डोल्पा र देवी ओली रुकुमपश्चिम रहेका छन् ।
पूर्व माओवादी केन्द्र
पुष्पा घर्ती सुर्खेत, राजु नेपाली सुर्खेत, धर्मराज रेग्मी दैलेख र डम्बरबहादुर बिष्ट सुर्खेत रहेका छन् ।
२८ गते संसदीय दलको बैठक बस्दै
अविश्वास पेश गर्ने सांसदहरुले असोज २८ गते संसदीय दलको बैठक बोलाइएको जानकारी दिएका छन् ।
असोज २८ गतेका दिन संसदीय दलको नेताका रुपमा मुख्यमन्त्री शाहीले संसदीय दलको बैठक बोलाउन नपाउने र अब संसदीय दलको सचेतकका रुपमा गुलाजंग शाहीले संसदीय दलको बैठक आह्वान गर्ने प्रदेशसभा सदस्य कँडेलले जानकारी दिए ।
उप–सभामुखद्वारा पनि हस्ताक्षर
तत्कालिन नेकपा माओवादीको कोटाबाट कर्णाली प्रदेशसभाको उपसभामुखमा निर्वाचित भएकी पुष्पा घर्तिले पनि मुख्यमन्त्री शाही बिरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी छन् ।
सरकारका संग्लन मन्त्रीहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छैनन् ।
सभामुख र मन्त्रीबाहेक अन्य सांसदहरुले हस्ताक्षर गरेको प्रदेशसभा सदस्य कँडेलले जानकारी दिए ।
विगतदेखि नै असहयोग
कँडेल पक्षले विगत प्रदेश सरकार गठन भएदेखि नै विपक्षी दलभन्दा सत्तापक्ष दल नेकपाभित्रबाट नै असहयोग भइरहेको प्रदेशसभा सदस्य विन्दमान बिष्टले बताए । ‘सदनमा पनि विपक्षी दलका भन्दा चर्को आलोचना सत्तापक्षकै सांसदले गर्दै आएको थियो ।’ उनले भने,‘अविश्वासको प्रस्ताव आउनु यो कुनै नौलो कुरा हैन् ।’
पटकपटक खोचे थाप्ने, सरकार परिवर्तनको हल्ला चलाउने जस्ता काम नेकपाकै संसदीय दलभित्रबाट हुने गरेका कारण पनि सरकारका काम कार्वाहीमा अवरोध सिर्जना हुने गरेको मुख्यमन्त्री शाही निकटका सांसदहरुको आरोप छ ।
अविश्वासको प्रस्ताव फेस गर्ने मुख्यमन्त्री
पटकपटक सरकार परिवर्तन हुने हल्ला गर्ने गरेको विगत लामो समयदेखि नै अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको आफु त्यसको फेस गर्न तयार रहेको मुख्यमन्त्री शाहीले जानकारी दिए । ‘सरकारका राम्रा काम प्रचार गर्ने कुरा त परै जावस कानून बनाउने कुरामा पनि चासो दिएको देखिँदैन, खाली सरकार परिवर्तनको हल्ला गर्ने र खोचे थाप्ने काम भइरहेको छ । यसरी कर्णालीको विकास सम्भव छैन् ।’ उनले भने,‘अहिले अविश्वासको प्रस्ताव ल्याए त्यसको सामाना गर्न तयार छु ।’
संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीले पार्टीभित्रको आन्तरिक समस्या छलफलबाटै हल हुने बताए । ‘प्रधानमन्त्री ओलीविरुद्ध पनि यस्ता कुरा आएकै हुन् । दलको आन्तरिक कुरा हो यो । संसदीय दलको बैठकमा छलफल हुन्छ ।’ उनले भने ।
दलको कुरा भएका कारण अहिले नै धेरै कुरा बोल्न आवश्यक नभएको मुख्यमन्त्रीले केही दिनमै बैठक बसेर समाधान गर्न सकिने मुख्यमन्त्री शाहीले बताए ।