सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिकामा २०७५ साल मंसिर ५ गते नेपाल वातावरण समूहले आयोजना गरेको ‘दलितका समस्या विषयक’मा अन्र्तक्रिया कार्यक्रममा नगरपालिका–३ का दलित महिला वडा सदस्य सम्झना दर्जीले बिरामी बोक्ने स्टेचरको माग गरिन् ।
‘हामीलाई कुनै अरु सुबिधा चाहिएको छैन् ।’ उनले अन्र्तक्रिया कार्यक्रम भनेकी थिइन्,‘एउटा स्टेचर भएको भएर बिरामी बोक्नलाई सजिलो हुने थियो । त्यो नगरपालिकाले व्यवस्था गरोस् ।’
दर्जीले स्टेचर माग गरेको दुई वर्षमा पनि उनको वडामा स्टेचर आइपुगेको छैन् । तर, नगरपालिकाका प्रमुखलाई एउटा स्कार्पियो गाडी र वडा अध्यक्षहरुलाई एक÷एक मोटरसाइकल आइपुगेको छ ।
दर्जीले माग गरेको स्टेचर आइपुगेको वा नपुगेको बिषयमा झण्डै दुई वर्षपछि मोवाइलमा फोन गरेर तपाईले माग गरेको स्टेचर आइपुग्यो कि पुगेन भनेर प्रश्न गर्दा ‘त्यो कार्यक्रममा भनेको कुरा आज तपाईलाई किन याद आयो ? उल्टै प्रश्न गर्दै भनिन्,‘कहाँ स्टेचर आउनु मेयर र वडा अध्यक्षलाई गाडी र मोटरसाइकल आएका छन् । हामीलाई स्टेचर आइपुगेको छैन् ।’
दर्जीले आयो रैबारलाई स्टेचर अझैँ आवश्यक रहेको त्यसको व्यवस्था मिलाइदिन आग्रह गरिन् । ‘स्टेचरको व्यवस्था तपाईले मिलाइदिने हो भने दुई वटा जति चाहिएको छ ।’ उनले भनिन्,‘पठाई दिनुहोला ।’
००००००
गत बिहिबार कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्सा निवासी २३ वर्षीय मंगला सहकारीलाई सुत्केरी व्यथा लाग्यो । सुत्केरी व्यथा लागेपछि गाउँमा स्टेचर नहुँदा एउटा काठमा बाधेर उनलाई स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा नै छोरीलाई जन्म दिइन् ।
०००००००
कालिकोट जिल्लाका ६ वटा गाउँपालिका र ३ वटा नगरपालिकाले अध्यक्ष/उपाध्याक्ष/प्रमुख/उपप्रमुख र वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरूलाई सवारीसाधन अनिवार्य बनाएका छन् ।
सडक नै नभएका गाउँमा स्थानीय तह समेतले सवारीसाधनको मोह बढेको छ । प्रमुखलाई गाडी वडा अध्यक्षलाई मोटर साइकल गाउँपालिका अध्यक्ष तथा नगरपालिकाका प्रमुखहरुले महँगा गाडी चढ्ने गरेका छन् भने वडा अध्यक्षहरूले मोटरसाइकल चढ्ने गरेका छन् ।
जिल्लाको खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे, रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बराल र तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीलाई चढ्नका लागि महँगा गाडी खरिद गरेको छन् ।
वडा अध्यक्षहरूका लागि रास्कोट नगरपालिकाले गत आर्थिक वर्षमा १६ वटा मोटरसाइकल र नगर प्रमुखका लागि गाडी खरिद गरिएको छ ।
त्यस्तै, तिलागुफा नगरपालिकाले नगर प्रमुखका लागि गाडी र वडा अध्यक्षका लागि १२ वटा मोटर साइकल खरिद गरेको छ ।
खाँडाचक्र नगरपालिकाले गत आर्थिक बर्षमा नै नगरप्रमुखका लागि गाडी खरिद गरेका नगरपालिकाले जनाएको छ ।
सडक नै नभएका ठाउँमा सवारीसाधन खरिद जिल्लाका शुभकालिका गाउँपालिका, नरहरिनाथ गाउँपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिकामा एक मिटर सडकमा गाडी गुड्दैनन् । ती गाउँपालिकामा समेत सवारी साधन खरिद गरिएका छन् ।
नरहरिनाथ गाउँपालिकामा एक मिटर सडक नै नबनेको र गाउँपालिका अध्यक्षका लागि बलेरो जीप र केही वडा अध्यक्षका लागि सवारी साधन खरिद गरिएको गाउँपालिका एक कर्मचारीले नाम नबताउने सर्तमा बताए । ‘गाउँमा सडक नै बनेको छैन् ।’ उनले भने,‘तर, अध्यक्षका लागि भनेर गाडी खरिद गरि सकियो।’ त्यस्तै, शुभकालिका गाउँपालिकामा एक मिटर सडकमा सवारी साधन गड्दैनन तर, त्यस गाउँपालिकामा ७ वटा मोटरसाइकल खरिद गरिएको जनप्रतिनीधिका आफन्तहरूले सुर्खेत लगाएतका बजारमा सवारी साधन चलाउने गरेको कालिकोटका स्थानीय रनबहादुर शाहीले बताए । ‘गाउँपालिकाको सडक नै बनेको छैन् ।’ उनले भने,‘जनप्रतिनिधिहरूले आफ्नो सुबिधाका लागि सवारी साधन खरिद गरेका छन् ।’
पलाता र पचालझरना गाउँपालिकामा एक मिटर सडकमा सवारी साधन चल्ने गरेको छैन् । तर, त्यहाँ पनि सवार साधन खरिद गरिएको छ ।
स्थानीय भन्छन्–‘यो त अति भो स्थानीय तहमा विकास निर्माणका लागि आएको रकमबाट जनप्रतिनिधिहरूले सवारी साधन खरिद गरिनु दुर्भाग्यपूर्ण भएको स्थानीयले बताएका छन् ।’ उनीहरुको भनाईं छ,‘विकास निर्माणका लागि आएको रकम जनप्रतिनिधिहरूले आफुखुसी सवारी साधन खरिद गरिनु गैरजिम्मेवारपूर्ण काम हो ।’
कालिकोट नागरिक समाजका अगुवा दमनराज बमले विकास निर्माणका लागि खर्च गरिनुपर्ने रकम स्थानीय तहहरूका जनप्रतिनीधिहरूले सवारी साधनमा खर्च गर्नु उपयुक्त नभएको बताए ।
‘सिंहदरबार गाउँ गाउँमा आउनु भनेको जनप्रतिनीधिहरूका लागि मालामाल भयो ।’ उनले भने,‘ठाउँ–ठाउँमा भेटिन्छन् बिग्रेका सवारीसाधन स्थानीय तहहरूले खरिद गरेका सवारी साधन ठाउँ ठाउँमा भेटिने गरेका छन् । जनताले बिरामी बोक्ने स्टेचर पाएका छैनन् ।’
दुर्घटना परेमा वा बिग्रिएमा स्थानीय तहहरुले खरिद गरेका सवारी साधन त्यही छोडेर जाने भएका कारणले ठाउँ ठाउँमा भेटिने गरेका छन् ।
स्थानीय तहका सवारी साधनहरू बिग्रिएका अवस्थामा ठाउँ ठाउँमा भेटिने गरेको जिल्ला ट्राफिक कार्यालय कालिकोटले जनाएको छ ।
००००००
मोटरसाइकल चलाउन ड्राइभर मोटरसाइकल चलाउन नजान्ने स्थानीय तहका जनप्रतिनीधिहरूले ड्राइभर राख्ने गरेका छन् । जनप्रतिनिधिहरूले आफै चलाउन नजान्ने गरेका कारणले मोटरसाइकल ड्राइभर राख्ने गरेका हुन् ।
आफै सवारी साधन चलाउन नसक्ने जनप्रतिनिधिहरूले ड्राइभर राख्ने गरेको सवारीसाधनको चरम दुरुपयोग भएको स्थानीयको भनाइ छ ।
कालिकोट जिल्लाको पचालझरना गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले आफ्नै श्रीमान ऐनबहादुर खड्कालाई आफ्नो मोटरसाइकल ड्राइभरका रुपमा नियुक्त गरेकी हुन् ।
मासिक १५ हजार रुपैयाँ तलव पाउने गरेर गाउँपालिकाले उनलाई मोटरसाइकल ड्राइभर नियुक्त गरेको हो ।