काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कर्णाली प्रदेशमा नेताहरु बीच भएको विवाद समाधानका लागि दुबै पक्षका असन्तुष्टहरु राजधानी आइपुगेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध यमलाल कंडेलको नेतृत्वमा १८ जना सांसदले गएको सोमबार अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीमा विवाद उत्पन्न भएको थियो ।
सोही बिषयमा छलफल गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा आएको टोलीले खुमलटारमा आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र नेता जनार्दन शर्मासँग छलफल गरेको थियो । त्यसैगरी नेता यमलाल कंडेलसहितको टोलीले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेको बताइएको छ ।
दुबै पक्षका नेताहरुले आज छुट्टाछुट्टै छलफल गरेपनि भोलि अध्यक्षद्वयको उपस्थितिमा संयुक्त रुपमा छलफल गर्ने नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली स्वयम्ले कर्णालीका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावका बारेमा आफूलाई नसोधिएको बताएका थिए । उनले भनेका थिए, ‘म प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँ ।
अविश्वासको प्रस्ताव दर्ता गर्दा मलाई पनि सोधिएन ।’कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्न मंगलवार नेकपा अध्यक्षद्वयले प्रदेश कमिटीका सबै पदाधिकारीलाई काठमाडौं डाकेका थिए । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पनि काठमाडौं बोलाएका थिए ।अध्यक्षद्वयबीच मंगलवार भएको भेटवार्तामा पार्टीका कर्णाली प्रदेशका सबै पदाधिकारी र मुख्यमन्त्रीलाई काठमाडौं बोलाउने निर्णय भएको हो । उनीहरुलाई बिहीबारभित्र काठमाडौं आउन पत्र पठाइएको थियो । सोही अनुरुप आज दुबै पक्षले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।