सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कोरोना संक्रमित एक बिषेशज्ञ चिकित्सकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं रिफर गरिएको छ । गोरखा जिल्ला स्थायी ठेगाना भई प्रतिष्ठानमा कार्यरत ४० वर्षीय एक पुरुष स्वास्थ्यकर्मीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई उपचार गर्न सम्भव नभएपछि काठमाडौं रिफर गरिएको हो ।
एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । ‘लामो समयसम्म निको भएन । लक्षण पनि देखिएको थियो । जुम्लामा उनलाई समस्या हुने देखिएपछि थप उपचारका लागि सोमबार हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो’ उनले भने ।
जुम्लामा कोरोना संक्रमण देखिएको आठ महिना भए । तर, अहिलेसम्म जटिल प्रकृतिको संक्रमित भेटिएका थिएनन् ।
लामो समयको अन्तरालपछि यहाँ पहिलोपटक जटिल प्रकृतिको कोरोना संक्रमण स्वास्थ्यकर्मीमा देखिएपछि काठमाडौं रिफर गरिएको उनको भनाइ छ ।