सुर्खेत । दैलेखको गुराँस गाउँपालिकामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु हुनका साथै ३ जना गम्भीर घाइते भएका छन् ।
दैलेख गुराँस गाउँपालिकाको बान्द्रेमा टिप्पर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
त्यस्तै, सुर्खेतबाट जम्बुकाँध गरेको यात्रुबाहक बस गुराँस गाउँपालिको तल्लो डुङ्गेश्वरमा दुर्घटना हुँदा चालकको मृत्यु हुनुका साथै २ जना यात्रु गम्भीर घाइते भएका छन् ।
दैलेखको गुराँस गाउँपालिकाको जिरो पोइन्ट नजिक बान्द्रे भन्ने ठाउँमा बा ४ख६७७१ नम्बरको टिप्पर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
सुर्खेतबाट जम्बुकाँध जाँदै गरेको ना३ख५५१९ नम्बरको यात्रुबाहक बस तल्लो डुङ्गेश्वरमा दुर्घटना हुँदा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका सवारी चालक ललित नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
सवारी दुर्घटनामा घाइते भएका ३ जनालाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ ।