वीरेन्द्रनगर । सुर्खेतका समाजसेवी तथा निर्माण व्यवसायी बखत शाहीले आफ्ना दिवंगत आमा-बाबाको सम्झनामा गाउँमा खानेपानी आयोजना निर्माणको थालनी गरेका छन् । खानेपानी आयोजना कात्तिक महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । खानेपानी आयोजनको निर्माण असोजको अन्तिममा सुरु भएको हो ।
वीरेन्द्रनगर नगरपालिका-९, चाँदनी चोकस्थित ट्यांकीबाट त्यहाँका २ सय ५० घरधुरीका लागि खानेपानी आयोजनाको निर्माण सुरु भएको छ । समाजसेवी शाही र उनकी पत्नी निर्मला शाहीको संयोजन तथा लगानीमा स्व.हर्कबहादुर शाही, आमाहरु स्व. तुल्सीदेवी शाही , स्व. रामकुमारी शाहीको स्मृतिमा खानेपानी आयोजना निर्माण सुरु भएको हो
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतमा कार्यरत शाही र कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राममा शिक्षण पेशामा आवद्ध उनकी पत्नी निर्मलाले वार्षिक आम्दानीलाई लगानी गरेर खानेपानी आयोजना निर्माण गर्न लागिएको बताएका छन् ।
शाही दम्पतीले निर्माण गर्न लागेको यस परियोजनामा गाउँकै मुहानको पानीलाई ट्यांकीमा रिर्जभ गरी धारा जडान गर्ने तयारी गरिएको छ । यसको लागत पाँच लाख जति लाग्ने अनुमान गरिएको छ । खानेपानी आयोजनास्थल नजिकै प्रतिक्षालयसमेत निर्माण गरिने शाही दम्पतीले बताएका छन् ।
आयोजनाको निर्माण तीब्र गतिमा भैरहेको देखेर स्थानीय हर्षित भएका छन् । एक स्थानीयले स्वच्छ खानेपानी पिउन पाउने सपना साकार हुनलागेको प्रति असाध्यै खुसी व्यक्त गरेका छन् । बाल्यकाल देखिनै समाजसेवी भाव राख्ने शाहीले थुप्रै सामाजिक काम सम्पन्न गरिसकेका छन् ।
शाही दम्पतीले यसअघि विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् भने अन्य विद्यालयमा पनि अक्षयकोष स्थापनाको तयारी छ ।