सुर्खेत । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइ पुगेका छन् । उनी विशेष विमान मार्फत काठमाडौँ आएका हुन् ।
विमानस्थलमा उनको आगमनको रिपोर्टिङ्गका लागि पुगेका पत्रकार तथा फोटो पत्रकारहरुलाई छलेर उनी विमानस्थलबाट बाहिरिएका छन् ।
नेपाल भ्रमणको समाचार कभर गर्न गएका पत्रकारहरुलाई त्रिभूवन विमानस्थलमा प्रहरीले रोकेको थियो ।
विशिष्ट अतिथि आउँदा अरुबेला जान दिने ठाउँमा यो पटक पत्रकारहरुलाई जान दिइएको थिएन ।
नरावणे विमानस्थलबाट कोटेश्वर, बालकुमारी, सातदोबाटो हुँदै सोल्टी होटेल गएका छन्। सामान्यतया विशिष्ट अतिथिहरु विमानस्थलबाट सोल्टीसहितका होटेल जानका लागि तिनकुने बानेश्वरमार्ग प्रयोग गर्ने गरेका थिए।
नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनाध्यक्षको उपाधि ग्रहण गर्ने छन् ।
भ्रमणअघि नरावणेले दुई देशका सेनाबिचको सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन् । नेपाली सेनाको औपचारिक निमन्त्रणमा नेपाल आउन लागेका उनी शनिबार स्वदेश फर्किने छन् ।
नेपाल र भारतका सेनाध्यक्ष एकअर्काको देशका मानार्थ सेनाध्यक्ष हुने चलन छ। नरावणे सोही उपाधि ग्रहण गर्न नेपाल आएका हुन् ।
भ्रमणका क्रममा नेपाली सेनालाई चार वटा एम्बुलेन्स तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँगै, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।
नेपाली सेनाको महारथीको दर्जानी चिन्ह भने नरवणेलाई बिहीबार प्रदान गर्ने कार्यक्रम रहेको छ ।
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारीगरेपछि नेपालले कसैको उक्साहटमा लागेर गरेको अभिव्यक्ति नरवणेले दिएका थिए ।
भ्रमणको पूर्व सन्ध्यामा नेपाललाई एक अर्ब सहयोग
भारतले नरवणेको नेपाल भ्रमणको ठिक एक दिन अघि मंगलबार नेपाललाई एक अर्ब रुपैयाँ प्रदान गरेको छ । पाँच वर्षअघि आएको महाभुकम्पमा परी ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माणका लागि भारत सरकारले गरेको प्रतिबद्धताअनुसार गोरखा र नुवाकोटमा आवास पुनर्निर्माणका लागि सो सहयोग प्रदान गरेको बताइएको छ ।
भारतीय अनुदानस्वरूप गरिएको एक अर्ब नेपाली रुपैयाँको सो चेक नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई मंगलबार हस्तान्तरण गरेका थिए ।
भूकम्प गएको लगत्तै भारतले नेपालविरुद्ध पाँच महिना लामो नाकाबन्दी लगाएको थियो । तर, भूकम्प गएको पाँच वर्षपछि भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणको अघिल्लो दिन भारतले नेपाललाई पुनर्निर्माणका लागि भन्दै एक अर्ब सहयोग गर्नुलाई पनि आन्तरिक लेनदेन हुनसक्ने शंकाको रुपमा हेरिएको छ ।
सरकारले हालै लिपुलेक लगायतको अतित्रलमित भूमि समेटिएको पाठ्यपुस्तक अध्यापनमा रोक लगाइसकेको छ भने हालै भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामान्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गोप्य भेटवार्ता गरेका छन् । भेटमा के के कुरा भयो भन्नेबारे खुलाइएको छैन ।
सेनाध्यक्ष नरवणेलाई भोलि राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्जा दिइने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नरवणेसँगै उनकी श्रीमती तथा भारतीय सैनिक श्रीमती संघकी अध्यक्ष विना नरवणे पनि नेपाल आएकी छन् ।
