एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी भएका जो बाइडनले कोरोनाभाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ। वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औं राष्ट्रपति हुने निश्चित भएका बाइडनले आफ्ना योजना र प्रार्थमिकताहरुको निर्धारण गर्न शुरु गरेका हुन।
उनको टोलीका अनुसार अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ । सर्वसाधारणहरूलाई मास्कको अनिवार्य प्रयोगसहित स्वास्थ्य सुरक्षा सावधानीका उपायहरु अपनाउन लगाइने टोलीले जनाएको छ ।
बाइडनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको समाधान गर्दै अर्थतन्त्र उकास्ने विषयमा ध्यान केन्द्रित गर्ने बताइएको छ।
तर हालसम्म वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हालसम्म हार स्वीकार गरिसकेका छैनन् । केही महत्त्वपूर्ण राज्यहरूमा अझैसम्म मतगणना जारी छ।
तर अमेरिकाका मुख्य सञ्चार माध्यमहरुले बाइडन विजयी भएको भनेसँगै डेमोक्र्याटिक दलका तर्फबाट निर्वाचनमा सहभागी उनी जनवरी महिनामा सत्ता सम्हाल्ने योजनासहित तयारीमा जुटेका हुन ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडनको नेतृत्वमा अमेरिकाले प्यारिस सम्झौता पुनः स्वीकार गर्नेछ।
त्यस्तै अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय पनि बाइडनले बदर गर्ने बताइएको छ।
ट्रम्प प्रशासनले सात वटा मुलुकका लागि जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ।
ती सात मुलुकमा अधिकांश मुस्लिम राष्ट्रहरु रहेका छन्। राष्ट्रपति निर्वाचित भएपछिको पहिलो भाषणमा शनिवार उनले यो निको हुने समय भएको बताएका थिए।
डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेर विजयी भएका बाइडनले देशलाई विभाजित नभै एकताबद्ध पार्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
शनिवारको सम्बोधनका क्रममा उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरेका थिए।
बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ७.४ करोडभन्दा बढी मत प्राप्त गरेको बताएका छन्। उनले देशलाई रातो र नीलो राज्य हैन, केवल संयुक्त राज्य अमेरिका देखेको बताएका थिए ।
अमेरिकामा डेमोक्र्याटिक पार्टीले नीलो रङ्ग र रिपब्लिकन पार्टीले रातो रङ्ग प्रयोग गर्छन्।
बाइडनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङ्गबाट छुट्याइने कुराको सङ्केत गरेको बिबिसीले जनाएको छ ।