सुर्खेत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर बनेको छ । केही दिनदेखि निमोनियाबाट पीडित केसीलाई कोरोना संक्रमणसमेत पुष्टि भएको छ ।
मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचाररत केसीको स्वास्थ्य गम्भीर रहेको कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले विज्ञप्ति निकालेर जनाएका छन् ।
जनमोर्चाको केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकोले उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय गरेको छ ।
सहयोगदाताहरूले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको बैंक खाता १४२०००४१७३०१ मा सहयोग रकम जम्मा गरिदिन जनमोर्चाले अनुरोध गरेको छ ।
यस्तो छ वक्तव्य
‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसी केही दिनदेखि निमोनिया रोगबाट ग्रस्त हुनुभएको छ । उहाँको स्वाव परीक्षण गर्दा हिजो कोरोना पोजेटिभ पनि देखिएको छ । उहाँलाई पहिलेदेखि स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु थिए । अहिले उहाँको मेडिसिटी अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य स्थिति गम्भीर छ ।
आज बसेको केन्द्रीय कार्यालयको बैठकले का। चित्रबहादुर केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकोले उहाँको उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरुको सहयोगबाट गर्ने निर्णय भएको छ । सहयोगदाताहरुले राष्ट्रिय जनमोर्चाको बैंक खातामा सहयोग रकम जम्मा गरिदिन अनुरोध छ ।
बैंक खाता
राष्ट्रिय जनमोर्चा
वचत खाता नं. १४२०००४१७३०१
राष्ट्रिय बाणिज्य बैंक, नयाँ बानेश्वर शाखा ।’